+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

विज्ञानको दृष्टिमा–प्रेम

एक बहुआयामिक प्राकृतिक प्रक्रिया

दार्शनिक रूपमा हेर्दा चेतनाले जैविक आवेगलाई अनुशासनमा राख्दै सर्वश्रेष्ठ वृद्धिमान प्राणीले हार्मोनको अधिनमा रहेर चेतनाको निर्देशनमा सामाजिक मूल्य र मान्यता प्रति सचेत रहन जरूरी छ ।

डा. सनतकुमार शर्मा डा. सनतकुमार शर्मा
२०८२ फागुन २ गते १५:३५

प्रेमलाई शाब्दिक रूपमा परिभाषित गर्न अती नै कठिन छ । आधुनिक समयमा प्रेमलाई साहित्यको कल्पना, स्नायु विज्ञानको प्रक्रिया, रसायन शास्त्रका रसायनिक अणुहरूको नृत्य, भौतिक शास्त्रका क्रिया र प्रतिक्रिया तथा गणितीय सुत्रहरूको दुरूहतालाई समष्टिगत रूपमा प्रयुक्त गरेर परिभाषित गरिएको पाइन्छ । यद्यपि, प्रेमको वास्तविक अर्थलाई अझै गुढ र सार्थक रूपमा परिभाषित गर्नका लागि प्रेमरूपी किताबका पृष्ठहरू अद्यापि पनि वृहत्तर रूपमा खुला नै छन् ।

प्रेम मानवमा मात्र होइन, चराचर जगतका समस्त प्राणीहरूमा समेत विद्यमान छ । प्रेम अनादीकालदेखि नै निहीत मानव अस्तित्वको अत्यधिक गहिरो, रहस्यमय एवम् अर्थपूर्ण महा–अनुभूति हो । जसलाई आधुनिक विज्ञानको दृष्टिकोणबाट व्याख्या हुनुपूर्व नै महान् दार्शनिक, साहित्यकारहरू तथा कविहरूले यसलाई आ–आफ्नो तरिकाले व्याख्या गरेका छन् ।

नेपालका मूर्धन्य व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटाले प्रेमलाई ‘आगो हो जसले जलाउँछ, तर उज्यालो पनि दिन्छ’ भनेर व्याख्या गरेको छन् । त्यसै गरी कविशिरोमणि लेखनाथ पौडेलको रचनाहरूमा प्रेम आत्मसर्मपण, नैतिकता, करूणा तथा मानव कल्याणको लागि आवश्यक शास्वत शक्तिका रूपमा प्रस्तुत गरिएकोे छ । कालिदासले प्रेम केवल एक शारीरिक आकर्षण मात्र नभएर दुईटा आत्माहरूको मिलन हो जुन प्राकृतिक नियमको एक अभिन्न भाग हो भनेर व्याख्या गरेका छन् । महान् दार्शनिक प्लेटोले प्रेमलाई आत्माको आधा भाग खोज्ने सुन्दरतम् एवम् सत्य उन्मुख आत्माको यात्राको रूपमा परिभाषित गरेका छन् । त्यसै गरी अरिस्टोटले प्र्रेमलाई ‘विवेक, सद्गुण तथा पारस्परिक कल्याणको आत्मिक इच्छामा निमित गहिरो मानवीय सम्बन्धको’ रूपमा प्रस्तुत गरेका छन् ।

महान् प्रकृतिशास्त्री चार्ल्स डार्विनको विचारमा प्रेम कुनै ईश्वरीय शक्ति नभएर प्राकृतिक छनोटद्वारा एउटा प्रजातिको दीर्घजीविताको लागि प्रयुक्त हुने एउटा विशिष्ट रणनीति हो । बौद्ध दर्शनमा प्रेम मैत्री, करूणा, मुदिता तथा उपेक्षाको सङ्गम हो जुन आत्म शान्तिको मार्ग पनि हो । जहाँ प्रेम बन्धन नभएर मुक्तिको मार्ग हुन जान्छ र कसैमाथि यो अधिकार प्रदत्त नभई अपितु करूणा प्रदत्त हुन्छ ।

हिन्दु दर्शनमा प्रेम आत्मा र परम सत्यको बीचको ऐक्यबोध हो जसले द्वैधता एवम् अहङ्कार विलुप्त गर्दै समस्थ जगतप्रति करूणा, भक्ति तथा निस्वार्थ भावना प्रस्फुटित गराउँदछ ।

भौतिकशास्त्रको दृष्टिकोणबाट प्रेमलाई डाइराकको समीकरण (i+ m)Ѱ= 0, बाट सुन्दर ढङ्कले प्रस्तुत गर्न सकिन्छ । किनकी, डाइराक समीकरणले दुइटा कणहरू एकपटक आपसमा जोडिसकेपछि ती कणहरू जति नै टाढा भए पनि ब्रह्माण्डको कुनै पनि कुनामा राखे पनि एउटाको अवस्थामा परिवर्तन आउनेवित्तिकै अर्को कणमा पनि त्यही समयमा दुरूस्त परिवर्तन आउदँछ । जसलाई हामी क्वान्टम अन्तरसम्बन्ध (क्वान्टम एन्टाङ्गलमेन्ट) भन्दछौं । त्यसैगरी, प्रेम पनि, एक प्रकारको ‘भावनात्मक एन्टाङ्गलमेन्ट’ हो । दुई फरक लिङ्गका व्यक्तिहरूको मन एकपटक गहिरो रूपमा जोडिएपछि भौतिक दूरी अर्थहीन भएर जान्छ र एक अर्काको खुसी, पीडा, प्रेम जस्ता भावनाहरू एकबाट अर्काको चेतनामा तरङ्ग जस्तै एकै समयमा प्रवाहित हुन जान्छन् । डाइराक समीकरणले कणहरूको अवस्थालाई अदृश्य तरङ्गहरूद्वारा एक अर्कोसँग अन्तर सम्बन्ध स्थापित गरेजस्तै प्रेमले दुईटा युगल जोडीको प्रेम पूर्ण अवस्थामा सधैंका लागि अन्तर सम्बन्ध स्थापित गर्दछ । त्यसैगरी, एउटा परमाणुमा निहीत धनात्मक तथा ऋणात्मक आवेश भएका कणहरू एक आपसमा आशक्त भएर रहनु पनि विपरीत आवेश प्रतिको प्रेमको रूपमा हेर्न सकिन्छ ।

प्रेमलाई गणितीय सुत्रबाट पनि व्यक्त गर्ने गरिन्छ ।)2  = 1  समीकरणको ग्राफ खिचेमा गरेमा त्यसको आकृति हृदय जस्तो हुन आउने हुँदा यसलाई प्रेमको गणितीय सुत्र पनि भनिन्छ ।

दार्शनिक, साहित्यकार तथा मनोवैज्ञानिकहरूले हरेक कालखण्डमा असङ्ख्य तरिकाले शाब्दिक वस्त्रद्वारा प्रेमलाई नवीनतम् रूपमा परिभाषित गर्दै आए पनि विज्ञानको दृष्टिमा प्रेम केवल मानव शरीरमा प्रवाह हुने केही रासायनिक अणुहरूको नृत्य मात्र हो ।

रसायनशास्त्रले प्रेमानूभूतिलाई तीनवटा प्रमुख रसायनहरूको समीश्रणको सहायताबाट सयुक्त प्रभावलाई दर्शाउदँछ ।

डोमामिन (C8 H11 NO2) + सेरोटोनिन (C10 H12 N2O) + अक्सिटोसिन (C43 H66 N12 O12 S2)=  प्रेम

प्रेमको परिभाषा साहित्यिक मात्र नभएर वर्तमान समयमा प्रेम अनुसन्धानको वृहत्तर विषय पनि हुन गएको छ । वर्तमान युगमा प्रेमलाई शरीरक्रिया विज्ञान, क्रम विकास, जीव विज्ञान, रसायनशास्त्र तथा स्नायू विज्ञानको निरन्तर अध्ययन अनुसन्धानबाट नवीनतम् रूपमा बुझ्न थालिएको छ । यी प्रणालीहरूको मानव जीवनमा आउने प्रभावलाई हेरौं ।

यौवनको आगमनसँगै प्रकृतिले एउटा प्रजातिलाई क्रियाशील, जीवन्त तथा सन्तान उत्पादनद्वारा दीर्घजीविता प्रदान गर्नका लागि प्रेमाआशक्त बनाउने आफ्नो महा–योजनाअन्तर्गत शरीर तथा मस्तिष्कबाट प्रवाहित केही रसायनहरूको ताण्डव नृत्यबाट प्रेमरूपी नृत्यमा हामीलाई नर्तक/नर्तकी जस्तै नचाइरहेको हुन्छ । पे्रयसी/प्रेमी सँगको आँखा जुधाइसँगै हाम्रो मस्तिष्कका विभिन्न भागहरू एक साथ सक्रिय भएर थरीथरीका रसायन तथा हर्मोनहरू उत्सर्जित भएर ०.२ सेकेण्डमा नै प्रेमानुभूतिले गर्दा विभिन्न परिवर्तनहरू आउन थाल्दछन् । प्रेमाशक्त हुने बित्तिकै ‘स्वचालित स्नायूप्रणाली’ सक्रिय भएर रक्त प्रवाह बढ्न गई मुहार रक्तिम तथा आँखाहरू लट्ठ हुन जान्छन् तथा उत्तेजनाले गर्दा श्वास–प्रश्वास प्रणाली तीव्र हुन जान्छ ।

प्रेमलाई मुटुसँग जोडिन्छ । तथापि प्रेमको वास्तविक प्रयोगशाला नै मस्तिष्क हो । यहाँ स्नायू विज्ञानको दृष्टिकोबाट हेर्दा यसको विभिन्न भागमा विभिन्न परिवर्तनहरू आउन थाल्दछन् । यसको मध्य मस्तिष्कको अधो क्षेत्र (भेन्ट्रल टेगमेन्टल) बाट डोपामिन नामक रसायनको श्राव हुनाले मानव प्रेममा आशक्त हुन जान्छ । यसका साथै अग्र मस्तिष्क क्षेत्र (प्रिफ्रन्टल सेन्टर) को गतिविधि न्यून हुन जान्छ । मस्तिष्कको यो भाग तर्कसँग सम्बन्धित भएको हुँदा यसको न्यून गतिविधिसँगै प्रेमाशक्त व्यक्तिमा विवेक, सोच्ने, बुझ्ने, विश्लेषण गर्ने, सामाजिक मान्यता प्रति सजग हुने र भविष्यप्रति चिन्तित हुने जस्ता क्षमतामा ह्रास आउन जान्छ । ऊ केवल प्रेमी/प्रेमिकाको कुरा मात्र सुन्ने र विश्वास गर्न रूचाउँदछ ।

मस्तिष्कमा निहित बदाम जस्तो आकारको एउटा संरचना रहन्छ, जसलाई हामी एमिग्डाला भन्दछौंं । यो अङ्ग विशेषत: मानवको भावना, डर र स्मृतिसँग जोडिएको हुन्छ । यो शरीरको एउटा अलार्म प्रणाली जस्तै हो, जसले खतराबाट मानवलाई बचाउने प्रयास गर्दछ । तर पे्रमाशक्तिसँगै मस्तिष्कको यो भाग आश्चर्यजनक रूपले शान्त भएर जान्छ र सम्पूर्ण खतरा तथा सामाजिक परिवेशलाई उल्लङ्घन् गर्न पनि तत्पर हुन जान्छ । ‘प्रेम अन्धो हुन्छ’ भन्ने तथ्य स्नायूविज्ञानले पनि प्रष्ट पार्दछ ।

रोमान्टिक प्रेममा मानव मस्तिष्कमा तीन प्रकारका प्रणालीहरू क्रियाशील रहन्छन् । यौन चाहना, प्रेम तथा आशक्ति । यौन चाहनाले मानवलाई थरी–थरीका यौन साथीको खोजीको लागि अभिप्रेरित गर्दछ भने प्रेमले कुनै व्यक्ति विशेषसँग यौन सम्पर्कका लागि लक्षित रहनमा सहयोग पुर्‍याउदँछ र आशक्तिले आफ्नो यौन साथीलाई कम्तीमा पनि सन्तान उत्पादनसम्मका लागि एक साथ बस्ने अभिप्रेरणा तथा सहनशीलता प्रदान गर्दछ ।

प्रेमको प्रथम अवस्थामा मायालुसँग आँखा जुध्ने बित्तिकै पुरूषमा अण्डकोषबाट पुरूष हार्मोन टे«स्टोस्टेरोन तथा नारीको अण्डाशयबाट इस्ट्रोजेन नामक यौन हार्मोनको श्राव भएर उनीहरूमा वासनाको अनुभूति हुन थाल्दछ । टे«स्टोस्टेरोनले पुरूषमा यौन चाहना तथा आत्मविश्वास बढाउनका साथै मायालुलाई देख्ने बित्तिकै हृदयको धड्कन पनि बढाउन थाल्दछ । त्यसैगरी, एस्ट्रोजेनले सौन्दर्यता, आवाजमा आकर्षण, भावनात्मक सम्वेदशीलता तथा प्रेमी प्रति यौन आकर्षण र खुलापन बढाउँदछ । मनमा बारम्बार त्यहि व्यक्तिको विचारहरू आइरहन्छन् ।

प्रेमको दोस्रो अवस्थामा ३ वटा स्नायू सम्प्रेषक (न्यूरोट्रान्समिटर) एड्रेनलिन, डोपामिन, सेरोटोनिन नामक रसायनहरू श्रवित भएर रगतमा प्रवाहित हुन थाल्दछन् । प्राकृतिक नशाको रूपमा परिचित डोपामिन हाइपोथालमस र मध्य मस्तिष्कको अधो क्षेत्र (भेन्ट्रल टेगमेन्टल) भागबाट श्रवित हुन्छ र यसले प्रेममा उत्साह आनन्द तथा रोमाञ्च उत्पन्न गर्नका साथै प्रतिद्वन्द्वीहरू प्रति आक्रामक पनि बनाउदँछ । आफ्नो प्रियजनको विषयमा निरन्तर सोचिरहने र भोक, प्यास, निन्द्रा समेतमा ह्रास आउन थाल्दछ । यस स्थितिमा रगतमा एड्रेनलिन तथा करटिसोलको मात्रामा अभिवृद्धि भई शरीरमा पसिना आउने तथा हृदयको ढुकढुकी बढ्ने आदि हुन जान्छ । डोपामिनको प्रभावलाई कोकिनको प्रभावसँग तुलना गरिन्छ, किनकि डोपामिनको प्रभाव शरीरमा कोकिन जस्तै हुन्छ ।

प्रेममा आशक्त गर्ने सबभन्दा महत्वपूर्ण हार्मोन सेरोटोनिन पनि मानव मस्तिष्कबाट श्रवित हुन्छ । यस स्नायु प्रवाहक (न्यूरोट्रान्समिटर) ले प्रमुख रूपमा मानवको क्रियाकलापको शैली, भावनात्मक स्थिरता, आत्मनियन्त्रण, सोच्ने तरिका, निन्द्रा र व्यवहारलाई सन्तुलित राख्दछ । पे्रमाशक्त भएपछि यसको प्रभावले आफ्नो प्रिय व्यक्तिको बारेमा निरन्तर रूपमा सोचिरहने, मलाई प्रियतम् वा प्रियसीले माया गर्दछ कि गर्दैन भन्ने डरले सताइरहने, इर्ष्याभाव तथा डरको प्रादुर्भाव हुने गर्दछ ।

यी स्नायू सम्वाहकहरूको प्रभावले गर्दा युगल जोडीहरू प्रेमको तेस्रो अवस्थामा पुग्न जान्छन् । यस अवस्थामा मस्तिष्कको हाइपोथालामसबाट उत्पादित तथा पश्चय–पियुष ग्रन्थी (पोस्टेरियर पिट्युटरी ग्लाण्ड) बाट रक्तमा श्रावित अक्सिटोसिन तथा वासोप्रेसिन हार्मोनद्वयको अहम् भूमिका रहेको हुन्छ । यिनीहरूको प्रभावले प्रेमी/प्रेमिकालाई लामो समयसम्म ‘प्रेम बन्धन’ मा बाधिएर सन्तान उत्पादन तथा सन्तानलाई हुर्काउने समयसम्मका लागि आपसमा बाधेर राख्दछ । अक्सिटोसिनले भावनात्मक सामिप्यता तथा पारस्परिक विश्वासमा अभिवृद्धि गर्दछ । यस हार्मोनले आमाको स्तनमा दूध उत्पादनका साथै आमा बच्चाको बीचमा एउटा सशक्त बन्धन बनाउनमा अहम् भूमिका खेल्दछ । युगल जोडीले आलिङ्कन चुम्बन तथा जति सम्भोग गर्दछन्, त्यति नै उनीहरूको बीचको बन्धन तथा प्रेम गहिरो हुँदै जान्छ र यसले तनाव उत्पन्न गर्र्ने हार्मोन करटिसललाई न्यूनीकरण गरी प्रेममा हुँदा सुरक्षित र शान्तिको अनुभूति गराउदँछ । त्यसैगरी, वासोप्रेसिनले दीर्घकालीन सम्बन्ध तथा प्रतिबद्धता निर्माण गर्नमा पनि अहम् भूमिका खेल्दछ । यसले प्रेमी–प्रेमिका प्रति इर्ष्या, द्वेष तथा शङ्कालाई बढाएर प्रेम–प्रेमिकाबीच मेरो मात्र भन्ने भावना सृजित गरी जोडीप्रतिको निष्ठा र जिम्मेवारीको बोध गराउदँछ ।

प्रेमका लागि भेलेन्टाइन जस्तो कुनै दिवसको, कुनै समयको र स्थानको आवश्यकता पर्दैन । यो त अविरल रूपमा समय, काल परिस्थितिभन्दा पनि टाढा रहने अनुभूति हो । प्रेमका लागि पाश्चात्य दर्शन, पाश्चात्य कथा वा पाश्चात्य घटनाको आवश्यकता पर्दैन । हाम्रो हिन्दु दर्शन र साहित्यमा, वास्तविकतामा अनेकौ अर्थपूर्ण, प्रेरणादायक प्रेमकथाहरू–घटनाहरू छन् । राधा–कृष्णको त्यो दिव्य प्रेम, राम–सीताको त्यो कर्तव्य, मर्यादा त्याग, विश्वास र धर्ममा आधारित अलौकिक प्रेम, शिव–पार्वतीको त्यो तपस्या र समपर्णको अनौठो प्रेम, सावित्री सत्यवानको त्यो अटल प्रेम जसले आफ्नो प्रियलाई मृत्युको मुखबाट पनि फर्काएर ल्याउँदछ ।

त्यसैगरी, नल–दममन्त्ती, शकुन्तला–दुष्यन्तको जस्ता अनेकौं महा–ग्रन्थहरूमा लेखिएका कथाहरू तथा वास्तविक घटनाहरूको बाहुल्यता छ । तथापि, हामीहरू आफ्नो धर्म, संस्कृति, चलन, रिती–रिवाज भन्दा अन्यत्र देशहरूमा घट्ने घटना तथा रिति–रिवाजलाई मनाउनमा नै आदर्श ठान्दछौ, गौरव मान्दछौं । कुनै पनि राष्ट्रले आफ्नो धर्म–सस्कृति तथा रिति–रिवाजलाई भूल्यो भने त्यस राष्ट्रको अधोगति अवश्यम्भावी हुन्छ ।

प्रेम औषधि पनि हो नशा पनि हो । त्यसैले प्रेममा सफलता, आनन्द प्राप्त नहुन सक्दछ यसमा असफलताको पनि त्यतिकै सम्भावना रहन्छ । प्रेममा असफलताले भयावह परिणाम पनि निम्ताउन सक्दछ । असफलता, घृणा, क्रोध, तनाव, निराशा आदिको पनि कारक तत्व हुन सक्दछ । तसर्थ, सामाजिक परिवेशमा प्रेममा सम्यम् तथा धैर्यताको पनि त्यक्तिकै आवश्यकता रहन्छ ।

प्रेम पीडादायी पनि हुन सक्छ । यहाँ बुद्धको उपदेश ‘आशक्ति नै दु:खको मूल कारण हो’ भन्ने तथ्य प्रतिबिम्वित हुन्छ । तसर्थ, दार्शनिक रूपमा हेर्दा चेतनाले जैविक आवेगलाई अनुशासनमा राख्दै सर्वश्रेष्ठ वृद्धिमान प्राणीले हार्मोनको अधिनमा रहेर चेतनाको निर्देशनमा सामाजिक मूल्य र मान्यता प्रति सचेत रहन जरूरी छ ।

सबैमा सफल तथा सुखद् प्रेम दिवसको शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?