३ फागुन, मन्थली (रामेछाप) । गत मंगलबार रामेछापमा भएको बस दुर्घटनामा परी बेपत्ता भएका तीन जनाको खोजी तीव्र रूपमा चलिरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताकोर टोलीले बस दुर्घटनास्थल तामाकोशी र सुनकोशी नदीका विभिन्न क्षेत्रमा खोजी जारी राखेको छ ।
काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको बाप्र ००१- ०५ ख ९९७५ नम्बरको अरनिको यातायात सेवा प्रालिको बस मन्थली नगरपालिका–६ स्थित त्रिवेणी पुल नजिकैबाट तामाकोशी नदीमा खसेको थियो । दुर्घटनामा १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो, भने आठ जना घाइते भएका थिए ।
बसमा सवार तीन जना बेपत्ता भएका थिए । बेपत्ता हुनेमा रामेछाप, मन्थली नगरपालिका-२ पिप्लेका ९ वर्षीय वक्रिचन तामाङ, लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङका ८ वर्षीय रोनिश तामाङ र उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका २४ वर्षीय विशाल सुनुवार छन् ।
बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले जानकारी दिए । –रासस
प्रतिक्रिया 4