९ फागुन, लिस्वन । नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को पहिलो बैठक शुुक्रबार पोर्चुगलको विदेश मन्त्रालयमा सम्पन्न भएको छ । नेपालका परराष्ट्र सचिव अमृतबहादुर राई र पोर्चुगल गणतन्त्रका विदेश मन्त्रालयका विदेश मामिला तथा सहयोग राज्य सचिव डा. आना इसाबेल जेभियरले बैठकको नेतृत्व गरेका थिए । नेपाली प्रतिनिधिमण्डलका तर्फबाट बैठकमा पोर्चुगलका लागि नेपालका राजदूत प्रकाशमणि पौडेल, परराष्ट्र मन्त्रालय राजदूतावासका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
यो बैठक नेपाल सरकार र पोर्चुगल सरकारबीच आठ वर्षपछि भएको औपचारिक भेटघाट हो । यसअघि सन् २०१८ मा तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारका तर्फबाट औपचारिक पोर्चुगल भ्रमण गरेका थिए ।
बीसीएमको बैठकमा राजनीतिक, आर्थिक र कन्सुलर मामिलासहित नेपाल-पोर्चुगल सम्बन्धका समग्र क्षेत्रबारे समीक्षा भएको नेपाली राजदूतावासले जनाएको छ । दुवै पक्षले जलवायु परिवर्तन र बहुपक्षीय प्रणालीमा सहयोगलगायत पारस्परिक हितका मुद्दाहरूमा विचार आदानप्रदान गरेका थिए ।
यस्तै व्यापार, लगानी, पर्यटन, संस्कृति, शिक्षा र विज्ञान तथा प्रविधिका क्षेत्रमा द्विपक्षीय सहयोग बढाउनेमा दुवै पक्ष सहमत भएका छन् ।
बैठकमा परराष्ट्र सचिव राईले कन्सुलर प्रमाणीकरण र कागजात प्रमाणीकरण सम्बन्धी मामिलासँग सम्बन्धित नेपाली समुदायले सामना गरिरहेका समस्याहरूलाई सम्बोधन गर्न सहरीकरणका लागि पोर्चुगल पक्षलाई अनुरोध गरेका थिए । सचिव राईले पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायलाई अँगालेकामा पोर्चुगल सरकारलाई धन्यवाद समेत दिएका थिए । यहाँ ६० हजार भन्दा बढी नेपाली स्थायी र अस्थायी रूपमा बसोबास गर्दै आएको अनुमान छ । सरकारी तथ्यांकअनुसार ३० हजारभन्दा बढी नेपाली पोर्चुगलमा छन् ।
पोर्चुगलका विदेश सचिव जेभियरले यहाँको अर्थतन्त्रमा नेपाली समुदायको योगदानको कदर गरिन् । पोर्चुगल पक्षले नेपाली पक्षले साझा गरेको चिन्तालाई सकारात्मक रूपमा ध्यान दिएको समेत उनले बैठकमा बताइन् ।
यसै बीच, नेपालका परराष्ट्र सचिव राईले पोर्चुगल व्यापार तथा लगानी एजेन्सी (एआइसीइपी) मा नवीकरणीय ऊर्जा क्षेत्रका सरोकारवालाहरूसँग अन्तरक्रियात्मक बैठक समेत सम्पन्न गरेका छन् । बैठकमा पोर्चुगलको ऊर्जा नीतिको बारेमा जानकारी दिइएको राजदूत प्रकाशमणि पौडेलले जानकारी दिए ।
सो अवसरमा सचिव राईले जलविद्युत उत्पादन, प्रसारण र वितरणलगायत नेपालमा स्वच्छ ऊर्जाका क्षेत्रमा पोर्चुगिज लगानीकर्ताहरूका लागि लगानीका अवसरहरू अन्वेषण गर्न नेपालको लगानी बोर्डसँग कार्यस्तरीय छलफल गर्न एआइसीइपीलाई सुझाव दिए ।
शुक्रबार बिहान परराष्ट्र सचिव राईले पोर्चुगिज गणतन्त्रका विदेश मन्त्रालयका महासचिव फ्रान्सिस्को मारिया डे सौसा रिबेरो टेलेससँग शिष्टाचार भेट समेत गरेका छन् ।
प्रतिक्रिया 4