+
+
Shares

बच्चालाई पैसाको महत्व सिकाउने १० प्रभावकारी उपाय

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १० गते १२:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बच्चालाई बाल्यकालदेखि नै पैसाको मूल्य, कमाउने, बचत गर्ने, खर्च गर्ने र लगानी गर्नेबारे बुझाउन आवश्यक छ।

आजको समयमा बच्चाहरूलाई पढाइसँगै वित्तीय अनुशासन सिकाउनु निकै आवश्यक छ । बाल्यकालदेखि नै पैसाको मूल्य, कमाउने, बचत गर्ने, खर्च गर्ने र लगानी गर्नेबारे बुझाइयो भने ठूलो भएपछि उनीहरूले समझदारीपूर्ण आर्थिक निर्णय लिन सक्छन् । अनावश्यक जिद्दी र फजुलखर्चीबाट बच्न सक्छन् ।

यी १० उपाय अभिभावकहरूले घरमै सजिलै लागू गर्न सक्छन् :

१.पकेट मनीलाई सिकाइको माध्यम बनाउने

बच्चालाई उमेरअनुसार हरेक महिना वा हप्तामा निश्चित पकेट मनीका रूपमा निश्चित रकम दिने । यो पैसा उनीहरूले आफैं व्यवस्थापन गर्नुपर्छ । यदि चाँडै सकियो भने थप पैसा नदिने यसले सीमित स्रोतमा जीवन चलाउने र प्राथमिकता निर्धारण गर्ने कला सिकाउँछ । सुरुमा ५०–२०० रुपैयाँबाट सुरु गर्न सकिन्छ र उमेर बढ्दै जाँदा बढाउँदै लैजानुपर्छ । यसले उनीहरूमा आर्थिक अनुशासन विकास गर्छ ।

२.बचतको महत्व बुझाउने

बाल्यकालदेखि नै बच्चाहरूलाई बचत गर्ने बानी सिकाउनुपर्छ । उनीहरूका लागि एउटा खुत्रुके वा सानो सेभिङ बक्स राशिदिनुपर्छ र प्राप्त हुने पैसाको केही हिस्सा त्यसमा राख्न लगाउनुपर्छ । उनीहरूलाई बचत गरेको पैसा भविष्यमा कसरी काम लाग्छ भनेर पनि बताउनुपर्छ ।

३.किनमेल/बजारमा सक्रिय संलग्नता गराउने

पैसाको महत्व बुझाउन किनमेलमा बच्चालाई पनि संलग्न गर्नुपर्छ । जब बजार गइन्छ बच्चाहरूलाई साथ लैजानुपर्छ र बजेट तथा आवश्यकता अनुसार सामान छनोट गर्ने प्रक्रियामा उनीहरूलाई समावेश गर्नुपर्छ । उनीहरूलाई मूल्यहरूको तुलना गर्न पनि सिकाउनुपर्छ । यसले उनीहरूलाई पैसा सोचेर खर्च गर्नुपर्छ भन्ने कुरा बुझाउँछ ।

४.आवश्यकता र चाहना बीच फरक सिकाउने

के आवश्यक छ र के चाहना मात्र हो भनेर बच्चालाई सूची बनाउन लगाउनुपर्छ । उदाहरण– स्कूलको झोला/किताब आवश्यकता हो, नयाँ महँगो खेलौना चाहना हो । यो फरक बुझाएपछि उनीहरूले मलाई यो चाहिन्छ, यो नभए पनि हुन्छ भनेर सोच्न थाल्छन् । यो समदारीले उनीहरूलाई भविष्यमा सोचेर खर्च गर्ने बानी बसाल्न मद्दत पुग्छ ।

५.काम/मेहनतको बदलामा पैसा दिने

घरका स–साना काम जस्तैः कोठा सफा गर्ने, भाँडा माझ्ने, बगैंचा सफा गर्ने आदि बालबालिकालाई गर्न लगाउनुपर्छ । त्यो काम पूरा भएपछि इनामस्वरूप पैसा दिनुपर्छ । यसले पैसा मेहनतबाट आउँछ भन्ने गहिरो अनुभव दिन्छ । पैसा सजिलै आउँदैन भन्ने कुरा बच्चाले महसुस गर्छन् । यो तरिकाले उनीहरूलाई पैसा सजिलै आउँदैन, बरु मेहनत र जिम्मेवारीसँग जोडिएको हुन्छ भन्ने सिकाउँछ ।

६.स्पष्ट लक्ष्य निर्धारण र धैर्य सिकाउने

बच्चाले कुनै महँगो वस्तु चाहेमा तुरुन्त नकिन्दिने । लक्ष्य राख्न लगाउने । ३ महिनामा ३००० रुपैयाँ जम्मा गरेपछि किन्छौं भनेर सिकाउने । हरेक हप्ता थप्ने र प्रगति ट्र्याक गर्ने । यसले योजना बनाउने, धैर्य राख्ने र प्रगति हेर्ने बानी बस्छ ।

७.आफैंले समझदारीपूर्ण खर्च र बचतको उदाहरण दिने

बच्चाहरूले देखेको कुरा नै सिक्छन् । अभिभावकले बजेट बनाउने, फजुलखर्ची नगर्ने, बचत गर्ने र यो महँगो छ, हामीले यो किन सक्दैनौं भनेर व्याख्या गर्ने गर्नुपर्छ । उनीहरूलाई बजेट बनाउने र बचत गर्ने कुराले कसरी आर्थिक सुरक्षा दिन्छ भनेर देखाउनुपर्छ ।

८.दान/उदारताको महत्व सिकाउने

पैसाको केही भाग दान वा अरूलाई मद्दत गर्न लगाउने । यसले पैसा केवल आफ्ना लागि मात्र होइन, अरूका लागि पनि उपयोगी हुन्छ भन्ने भावना विकास गर्छ । उदारता र कृतज्ञताको बानीले पैसासँगको सम्बन्ध सकारात्मक बनाउँछ ।

९.खेल र खेलौना मार्फत पैसाको ज्ञान दिनुपर्छ

बच्चालाई पैसाको महत्व बुझाउन खेलहरू मोनोपोली र क्यासफ्लो जस्ता बोर्ड गेम वा मोबाइल एप प्रयोग गर्ने । खेलमा पैसा कमाउने, खर्च गर्ने, लगानी गर्ने अनुभव हुन्छ । यसले सिकाइलाई रमाइलो बनाउँछ र गल्तीबाट सिक्ने अवसर दिन्छ।

१०.लगानी र ब्याजको आधारभूत परिचय दिने

ठूलो बच्चालाई १० वर्षभन्दा माथिकाको बैंकमा बचत खाता खोल्ने, ब्याज कसरी आउँछ भनेर देखाउने । १००० रुपैयाँ राख्दा १ वर्षपछि १०५० हुन्छ जस्तो साधारण उदाहरण दिने । यसले पैसा समयसँगै बढ्न सक्छ भन्ने कुरा बुझाउँछ र भविष्यको लागि सोच्ने बानी बस्छ ।

ध्यान दिनुपर्ने कुरा

यी उपायहरू लागू गर्दा बच्चाको उमेरलाई ध्यान दिनुपर्छ । सानो बच्चालाई सरल र रमाइलो तरिकाले, ठूलोलाई थप जिम्मेवारीसहित पैसाको महत्व बुझाउनुपर्छ । नियमित छलफल र प्रशंसा गर्नुपर्छ जब उनीहरू राम्रो निर्णय गर्छन् । यसले उनीहरूलाई आर्थिक रूपमा स्वतन्त्र, जिम्मेवार र समझदार बनाउन मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?