+
+
Shares

वाद धेरै सुनियो, अब अपवाद चाहियो

नयाँ सबै सही र पुराना सबै गलत भन्ने भाष्यसँग उनीहरू सहमत छैनन् । राजनीतिमा नयाँ पुस्ता आवश्यक छ तर उमेरभन्दा पनि सोच र नीति कस्तो छ भन्नेमा निर्भर ठान्छन् उनीहरू ।

दिनेश गौतम पूर्णिमा कार्की दिनेश गौतम, पूर्णिमा कार्की
२०८२ फागुन १० गते १३:४२

मेरो पहिलो भोट शृङ्खला–६

एकातिर उत्साह, अर्कातिर डर । साथै, जिम्मेवारी पनि ।

२१ फागुन नजिकिएसँगै पहिलो पटक भोट दिन लागिरहेकी दृष्टि सापकोटाको मनमा यस्तै खेलिरहेको छ । ‘पहिले बाबाआमा लाइन बसेर भोट हाल्न गएको देखिन्थयो । भोट हाल्दा कस्तो होला भन्ने जिज्ञासा थियो,’ दृष्टिले भनिन्, ‘अहिले आफैँ भोट दिने पालो आएको छ । उत्साह र डर सँगसँगै छ ।’

जेनजी आन्दोलनको जगमा हुन लागेको चुनावले परिवर्तन ल्याउला कि नल्याउला भन्ने संशय छ आस्था बस्नेतलाई ।

‘उत्साहित तर नर्भस छु । सेप्टेम्बरमा आन्दोलन भयो । तर परिवर्तन हुन्छ कि हुँदैन भन्ने अन्योलले डर थपेको छ,’ आस्थाले भनिन्, ‘यो हाम्रो जिम्मेवारी हो, कसलाई भोट दिने । तर हामीले छानेको मान्छे सही होला/नहोला भन्ने प्रश्नले मन अलमलिएको छ ।’

प्रत्येक विद्रोहपछि आशा जन्मिन्छ । तर आशा निराशामा परिणत हुने गरेको तितो यथार्थ पनि ताजै छ ।

‘बाबाआमाले विगतमा हरेक विद्रोहपछि अब केही नयाँ होला भन्ने अपेक्षा गर्नुभयो । तर आज उहाँहरू निराश हुनुहुन्छ । कतै १०–२० वर्षपछि फर्केर हेर्दा आजको उत्साह पनि निराशामा नबदलियोस् भन्ने छ,’ अस्थिरताका बीच पनि आशावादी हुन्छिन् उनी ।

उम्मेदवारको ट्र्याक रेकर्ड हेरेर भोट

आदर्श तिवारीलाई जेनजीले सडकमा उठाएको माग संसद्‌मा पुग्ला कि नपुग्ला भन्ने चिन्ता छ ।

‘पहिलो पटक भोट गर्दैगर्दा उत्साहसँगै जिम्मेवारी महसुस भएको छ । तर  जेनजी पुस्ताले सडकमा उठाएका जायज मागहरू संसद्‌सम्म पुग्लान् कि नपुग्लान् ? ती माग समाधान गर्नसक्ने प्रतिनिधि छान्न सकौंला कि नसकौंला ? यही नै मुख्य चिन्ता हो,’ उनले भने ।

अनुष्का भट्टराई उम्मेदवारको ट्र्याक रेकर्ड हेरेर मताधिकारको निर्णय गर्ने सोचमा छिन् ।

‘पूर्ण रूपमा भन्न सक्दिनँ, मैले दिने भोट सही व्यक्तिलाई नै जान्छ । किनकि सिधै प्रधानमन्त्री छान्दैनौँ । आफ्नो क्षेत्रको उम्मेदवार छान्छौँ । तर पार्टी, एजेन्डा, विचार र उम्मेदवारको ट्र्याक रेकर्ड हेरेर निर्णय गर्नुपर्छ,’ उनले भनिन् ।

दीपक परियार अहिलेको चुनावलाई निरन्तरतामाथिको क्रमभंगको रूपमा हेर्छन् । ‘२०८४ मा हुने चुनाव २०८२ मै भयो। त्यसैले जेनजी विद्रोहको म्यान्डेट कुन पार्टी र उम्मेदवारले आत्मसात गरेको छ भन्ने आधारमा मतदान गर्ने सोचमा छु । साथीहरूलाई पनि सचेत हुन अनुरोध गर्छु,’ उनले भने ।

जेनजीमा बढेको राजनीतिक चेत

जेनजी पुस्तामा बढेको राजनीतिक चेतना यस पटक ब्यालेटमा देखाउने योजना सुनाउँछन् विधान कोइराला ।

‘पहिले चिया पसलमा खेलकुदको कुरा हुन्थ्यो, अहिले राजनीति । यसले जेनजी पुस्तामा राजनीतिक चेतना बढ्दै गएको देखाउँछ,’ कोइरालाले भने, ‘धेरैले भोटर आईडी बनाएका छन् । अब हाम्रो जिम्मेवारी आफ्नै घरबाट सुरु हुन्छ ।’

तर, दलहरूले अझै सही उम्मेदवार नउठाएकोमा चिन्तित छन् उमेश कार्की । ‘दुःखको कुरा हो । दलहरूले अझै पनि फौजदारी अभियोग लागेका व्यक्तिहरूलाई उम्मेदवार बनाइरहेका छन् । समानुपातिकतामा टीके प्रथा हावी देखिन्छ । यसले हाम्रो आन्दोलन तुइएला कि भन्ने शंका पैदा गर्छ,’ उनले भने ।

लोकतन्त्रको राम्रो पक्ष भनेको प्रतिनिधिहरू संसद्‌मा गएर जनताको सामाजिक, आर्थिक र सांस्कृतिक समस्यालाई उठाउनु हो । ‘केबल पिच सडक वा भ्यू टावरको आधारमा भोट माग्नु दीर्घकालीन रूपमा घातक हुन्छ । वर्तमान आवश्यकताको मूल्याङ्कन गरेर भविष्यका पुस्तालाई समेत फाइदा पुग्ने नीति र नेतृत्व चाहिन्छ,’ कार्कीले भने ।

जनताको गुनासो सुन्ने प्रतिनिधि

चुनावको समयमा मात्र होइन, सधैं जनताको गुनासो सुन्ने प्रतिनिधि उनीहरूले चाहेका छन् ।

‘जनप्रतिनिधि जनतासँग जवाफदेही हुनुपर्छ । चुनावको बेला मात्र होइन, सधैं जनताको गुनासो सुन्नुपर्छ,’ उनले भने, ‘सरकारमा नभए पनि प्रतिपक्षको भूमिका बलियो हुनुपर्छ ।’जनताको सेवा गर्न आएका हौँ भनेर बुझ्ने प्रतिनिधि उनीहरू चाहन्छन् । ‘जनताको आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य र रोजगारी पहिलो प्राथमिकता हुनुपर्छ,’ उनले भने, ‘प्रतिनिधि जनताको भावना बुझ्ने हुनुपर्छ । नेताहरूलाई देवता जस्तो गर्नु हुँदैन ।’

व्यक्ति मात्र होइनपार्टीको एजेन्डा

विधान कोइराला व्यक्ति मात्र होइन, पार्टीको एजेन्डा हेर्नुपर्ने तर्क गर्छन् । ‘यो संसदीय निर्वाचन भएकाले व्यक्ति मात्र होइन, पार्टीको एजेन्डा पनि हेर्नुपर्छ । पार्टी ह्विप, नीतिगत स्पष्टता र विचार महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘रोजगारी, शिक्षा, स्वास्थ्य, सुशासन कसले कसरी सम्बोधन गर्छ भन्ने हेर्नुपर्छ ।’

दीपक परियार झुटा आश्वासन होइन समानुपातिक समावेशिताको आधारमा प्रतिनिधि आउनुपर्ने मत राख्छन् ।

‘समानुपातिक समावेशी प्रणाली आवाजविहीनको आवाज संसद्‌मा पुर्‍याउने माध्यम हो । तर त्यहाँ पुगेपछि प्रतिनिधिले आफैँलाई परिमार्जन गर्ने दायित्व पनि हुन्छ,’ उनले भने, ‘झुटा आश्वासनमा फेरि नफसियोस् भन्ने डर छ । पुरानै राजनीतिक लुप तोडेर वास्तविक परिवर्तन चाहिएको छ ।’

नयाँ सबै सही र पुराना सबै गलत छैनन्

स्वच्छ छवि, आपराधिक पृष्ठभूमि नभएको, जनताप्रति उत्तरदायी र पहुँचयोग्य प्रतिनिधि उनीहरूले खोजेका छन् । नयाँ सबै सही र पुराना सबै गलत भन्ने भाष्यसँग उनीहरू सहमत छैनन् । राजनीतिमा नयाँ पुस्ता आवश्यक छ तर उमेरभन्दा पनि सोच र नीति कस्तो छ भन्नेमा निर्भर ठान्छन् उनीहरू ।

‘धेरै वाद देखियो अब ‘अपवाद’ चाहिएको छ,’ आस्था भन्छिन् । राजनीतिमा अनुभव पनि उत्तिकै आवश्यक ठान्छन् उनीहरू । अनुभवी नेता र युवाबीच सहकार्यमा उनीहरूले जोड दिएका छन् ।

सामाजिक सञ्जालको प्रभाव

तर, सामाजिक सञ्जालमा व्यक्त विचारले युवा पुस्तालाई पर्ने प्रभावबारे पनि उनीहरू सचेत छन् । सोसल मिडिया जीवनशैली बनिसकेको छ । यसले राजनीति, चुनाव र जनमतमा ठूलो प्रभाव पारिरहेको छ । तर फेक न्युज र गलत न्यारेटिभप्रति सजग देखिए उनीहरू । सोसल मिडिया नियन्त्रण होइन, नियमन आवश्यक छ । सरकार, मिडिया, कन्टेन्ट क्रिएटर र प्रयोगकर्ता सबै संवेदनशील हुनुपर्नेमा साझा धारणा उनीहरूले व्यक्त गरे । ‘मेरो एक भोटले परिवर्तनको रेखा  कोरियोस्,’ उनीहरूले भने ।

मेरो पहिलो भोट शृङ्खला-१

जेनजीको पहिलो भोट, निराशालाई आशामा बदल्न

मेरो पहिलो भोट शृङ्खला-२

नयाँ-पुरानो होइन, समाधान दिने उम्मेदवारलाई मतदान

मेरो पहिलो भोट शृङ्खला-३

पितृसत्ताको घेरा तोड्न जेनजी महिलाको पहिलो भोट 

मेरो पहिलो भोट शृङ्खला-४

भोट दिन्छौँ, काम देऊ

मेरो पहिलो भोट शृङ्खला-५

जसको एजेन्डा प्रविधि, उही हो हाम्रो प्रतिनिधि

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

पूर्णिमा कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?