साढे तीन दशकदेखि महिला र बालबालिकाको क्षेत्रमा सक्रिय मीनाकुमारी खरेल २१ फागुनको निर्वाचनमा चितवन–२ मा आफू निर्वाचित हुने निश्चित भएको बताउँछिन् । आफ्नो उम्मेदवारीपछि नेपाली कांग्रेस तलदेखि माथिसम्म एकढिक्का भएको उनको भनाइ छ ।
‘कांग्रेसका जुन मत हिजो बाहिर गएका थिए, ती फर्केर आफ्नो घरभित्र आएका छन्,’ कालिका नगरपालिकाको लामाचोकमा घरदैलो गरिरहेकी खरेलले अनलाइनखबरसँग भनिन्, ‘ आफ्नो घरबाट बाहिर गएको मान्छे फर्केर आउँदा हामी स्वागत सम्मान गर्छौँ। सही बेला आएपछि अझ धेरै गर्दै छौँ।’
परिवर्तित कांग्रेस सोच र दृष्टिकोणले सबैभन्दा नयाँ भएको खरेलको दाबी छ । त्यति मात्र होइन २०७२ सालको संविधानले व्यवस्था गरेअनुसारको समावेशिता र सामाजिक न्याय कांग्रेसले मात्र आत्मसात् गर्न सकेको उनको धारणा छ । खरेलसँग २१ फागुनको निर्वाचनमा केन्द्रित भएर अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको संवादः
घरदैलो अभियानमा हुनुहुन्छ । सुरुमा भन्नुस्, तपाईंको यो अभियान कसरी चलिराखेको छ ? कस्तो प्रतिक्रिया पाउँदै हुनुहुन्छ ?
कालिका नगरपालिकाको घरदैलो गरें । हामी इच्छाकामनामा रह्यौँ। म घरदैलो गरिरहँदा यहाँका मतदाता र जनसमुदायले गरेको स्वागत देख्दा मैले मतदातासँग मत मागिराखेको छु कि विजय भइसकेपछिको उत्सव मनाइरहेकी छु जस्तो मलाई नै छुट्टाउन गाह्रो भइरहेको छ। उहाँहरूले यस्तो स्वस्फूर्त रूपमा बाटोमा आएर फूलमाला र खादाले स्वागत गर्नुभएको छ, सम्मान गर्नुभएको छ। नैतिक रूपमा चाहिँ विजय बनाएर प्राविधिक विजयका लागि फागुन २१ कुर्नुपर्ने परिस्थिति सिर्जना भएको छ। यसले मलाई उत्साहित बनाएको छ र निर्वाचनमा जान अझ धेरै प्रेरित गरेको छ भन्ने लाग्छ।
यो माहोल देखेर नै तपाईंलाई त्यस्तो विजयको उत्सव जस्तो लागेको हो कि अरू कुनै आधारहरू पनि छन् ?
आधारहरू भनेको सबभन्दा पहिला, यहाँको कुल जनसङ्ख्याको आधाभन्दा बढी महिला हुनुहुन्छ। मतदाता पनि आधाभन्दा बढी महिला हुनुहुन्छ । महिलाहरूको उत्साहजनक सहभागिता छ। ००७ सालको क्रान्तिका बेला लडेका, लामो पृष्ठभूमि बनाएका कांग्रेसका अग्रजहरू बाहिर निस्केर ‘ल यो मार्गमा लाग, यसरी हिँड’ भनिरहनुभएको छ। नवजवान भाइबहिनीहरू निस्किनुभएको छ, सँगै हुनुहुन्छ। यी सबै आधारहरू हेरिरहँदा निर्वाचनलाई चाहिने मतदाता यिनै हुन्। मतदाता मात्रै नभएर आम समर्थन देखिरहँदा मलाई उत्साहित बनाएको छ।

कांग्रेसको सङ्गठनात्मक शक्ति, विरासत र महिला मतदाताको सङ्ख्याको कुरा गर्नुभयो। यसबाहेक चुनावी प्रचारको क्रममा तपाईंको व्यक्तिगत काम र योगदानले कति काम गरिरहेको छ ?
पहिला त यो सबै उत्साह आउनुको पछाडि मेरो उम्मेदवारी त छँदै छ, त्यसका अतिरिक्त नेपाली कांग्रेसको ऐतिहासिक भूमिका पनि जोडिएको छ। ००७ सालको आन्दोलनदेखि २०१७ साल, २०३६ साल, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन अनि १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामार्फत रूपान्तरण गर्ने काम कांग्रेसले गर्यो।
भर्खरै मात्रै नवजवान भाइबहिनीहरूले देशको बेथिति र भ्रष्टाचारविरुद्ध जुन आक्रोश पोख्नुभयो र आन्दोलन गर्नुभयो, त्यसलाई पनि नेपाली कांग्रेसले आफ्नो विशेष महाधिवेशनमार्फत सम्बोधन गर्यो। नेपालका राष्ट्रिय पार्टीहरूमध्ये यो सम्भवतः पहिलो पार्टी हो जसले हिजो राणा र पञ्चायतविरुद्ध मात्रै लडेन, हरेक परिवर्तनको नेतृत्व गर्यो र आज आफूलाई पूर्ण परिवर्तन गरेर चुनावमा आइरहेको छ। त्यसले गर्दा पार्टीप्रतिको विश्वास र श्रद्धा आम रूपमा बढेको छ।
अर्को कुरा, तपाईंले मेरो कामको कुरा सोध्नुभयो। म राजनीतिक रूपमा २०४२ सालको सत्याग्रहपछि नेविसङ्घको राजनीतिबाट पार्टी प्रवेश गरेको वा विचारसँग जोडिएको मान्छे हुँ। राजनीति सिद्धान्त मात्रै होइन, व्यवहार र सेवा पनि हो भन्ने भावले म सेवामा लागेँ।
सेवामा रहँदा मलाई चर्चा चाहिएन। मैले चर्चाको लागि सेवा गरेको थिइनँ। मेरो आत्मसन्तुष्टिका लागि र मभन्दा कम अवसर प्राप्त गरेकाहरूलाई भाग्यमानी वा अवसरवान् बनाउन काम गरेँ। म विश्वेश्वरप्रसाद कोइरालाको सिद्धान्तबाट अभिप्रेरित थिएँ। त्यही कर्म मैले सेवाको माध्यमबाट समाजमा गरेँ। अहिलेको यो चर्चा मैले चाहेर भएको होइन। निर्वाचनमा भइरहँदा केही प्रश्नहरू पक्कै छन्, तर त्यसका अतिरिक्त थुप्रै उमङ्ग र उत्साह छन् जसले मलाई उत्साहित बनाएको छ।
तपाईंलाई आफ्नो प्रतिस्पर्धीहरूबारे जानकारी छँदै छ। उहाँहरूको पनि त ‘हामी नै परिवर्तनका संवाहक हौँ‘ भन्ने दाबी छ नि ?
परिवर्तन मैले मात्रै देखेको होइन, आम नेपालीले अनुभूत गरेको परिवर्तनको नेतृत्व कांग्रेसले गरेको हो, अरूले होइन। जनआन्दोलन हुँदा कम्युनिस्ट पार्टीहरूको पनि सहभागिता त भयो, तर पछाडिका हरेक आन्दोलनको नेतृत्व कांग्रेसले नै गरेको छ।
अहिले प्रतिस्पर्धामा आउने कुरा गर्दा, अघिल्लो निर्वाचनमा हामीले गठबन्धन गर्यौँ। ८–१० वर्षसम्म पार्टीका सदस्यहरूले आफ्नै पार्टीको चुनाव चिह्नमा मत राख्न पाएनन्। त्यसपछि कार्यकर्ताहरू रिसाए र फरक स्वरूप देख्न पायौँ। त्यसैलाई हामीले एकदमै नयाँ भनेर मान्यौँ, तर त्यस्तो होइन। अहिले पुरानो पार्टी नेपाली कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नो ‘सिङ्गल‘ उम्मेदवार उठाएको छ। १०६ क्षेत्रमा त मजस्ता नयाँ साथीहरू नै निर्वाचनको प्रक्रियामा छौँ। अब योभन्दा नयाँ अर्को कुनै हुन्छ भन्ने मलाई लाग्दैन।
मैले भन्न खोजेको, नवयुवाहरूको आक्रोश थियो र त्यसलाई सम्बोधन गरियो भन्दै गर्दा, नवयुवाहरूको हकदार त हामी हौँ भनेर तपाईंका प्रतिस्पर्धीहरूले अलि बढी दाबी गरिरहनुभएको छ नि। यस सन्दर्भमा तपाईंहरू र उहाँहरूमा के फरक छ ?
नवयुवाहरूले दाबी गरिरहँदा उनीहरूको सोच भनेको ‘बेथिति भयो, भ्रष्टाचार भयो, गलत भयो‘ भन्ने कुरा हो। त्यसलाई नीतिगत रूपमा स्वीकारेर नीति र नेतृत्व फेरेर कांग्रेस आएको छ नि त! विध्वंश गरेको त छैन, परिवर्तनलाई स्वीकारेको छ, आत्मसात् गरेको छ। कसैले ‘म नयाँ हुँ‘ भन्दैमा नयाँ हुने र अर्कोलाई ‘पुरानो‘ भन्दैमा पुरानो हुने होइन ।
पुरानो त इतिहास हो नि, त्यसलाई त स्वीकार्नुपर्छ। ऐतिहासिक पृष्ठभूमिलाई छोडेर नयाँ बनाउन सकिँदैन। इतिहास र अग्रजहरूलाई सम्मान गर्दै नयाँहरूलाई समावेश गरेर जाने कुरा बल्ल नयाँ हुन सक्छ। कसको बुझाइ के भयो त्यतातिर म फर्किन चाहन्नँ। आम बुझाइ के हो भने, नयाँ भनेको नेपाली कांग्रेस हो, परिवर्तित कांग्रेस हो। नयाँ सोच र नयाँ दृष्टिकोणसहित निर्वाचनमा होमिएको कांग्रेस नै नयाँ हो।
व्यक्ति नयाँ हो भने म पनि नयाँ हुँ। म पहिलो पटक यो निर्वाचनमा आएकी छु, यद्यपि मैले ४० वर्ष यो क्षेत्रमा काम गरेँ। उमेरले नयाँ हुने हो कि सोचले ? सोच र विचारले नयाँ हुने हो भने अहिले म आबद्ध पार्टी नयाँ हो। आज पार्टीको उपसभापति र सहमहामन्त्री महिला हुनुहुन्छ। अरू राष्ट्रिय पार्टीमा महिलाहरू अझै निर्णायक तहमा हुनुहुन्न। २० प्रतितशत भन्दा बढी ४० वर्षमुनिका युवाहरू नेतृत्वमा हुनुहुन्छ। दलित, सीमान्तकृत समुदायको समावेशिता छ। २०७२ को संविधानले व्यवस्था गरेअनुसारको समावेशिता र सामाजिक न्याय यहाँ छ।
त्यसैले विवेकी मतदाताले यो कुरा बुझ्नुभएको छ। म २८ वटा वडा घुमिरहेकी छु। कतै वडाध्यक्षको प्रशंसा छ, कतै प्रदेश माननीयको प्रशंसा छ। तर सङ्घीय माननीय (सांसद) ले काम गर्नुभएन भन्ने गुनासो आम पब्लिकले गरिरहेका छन्। यो मेरो कुरा होइन, जनताले नै भनिरहेका छन्। किन भने त ? नगरेर भने कि गरेर भने ? त्यो जनताले बुझ्ने कुरा हो।
इच्छाकामना, कालिका र भरतपुरका विकट बस्तीहरूमा अहिले पनि न्यूनतम आधारभूत आवश्यकता पुग्न सकेको छैन। त्यस्तो ठाउँमा जनप्रतिनिधिको काम भनेको जनताको चाहनाअनुसार काम गर्ने हो।

तपाईंलाई लाग्ने अर्को सोझो आरोप वा प्रश्न के छ भने, ‘३०-३५ वर्षमा कांग्रेसले के गर्यो त ?’ नयाँ भन्दै गर्दा पुरानै रहेछ नि त भन्ने कुरा आइरहेको छ। यो कुरा त तपाईंले पनि बुझ्नुभएको होला नि ?
२००७ सालमा राणाविरोधी आन्दोलन, पञ्चायतविरोधी आन्दोलन भयो। त्यही जगमा आज २०७२ सालको संविधान आएको छ। जुन संविधानले नेपाली नागरिकलाई सार्वभौमसत्ता सम्पन्न बनाएको छ। यो कसले गर्यो ? नयाँले गर्यो कि त्यही पुरानो पार्टीको अस्तित्वले गर्यो ? त्यही कारणले अहिले नयाँ भन्नेहरूले पनि ‘यो भएन, त्यो बेठीक भयो’ भन्न पाएका छन्।
हो, जति हुनुपर्थ्यो, आम नागरिकले अनुभूत गर्ने गरेर जुन परिणाम आउनुपर्थ्यो, त्यसमा कमी भयो होला। तर ‘केही भएकै छैन’ भन्ने होइन। चितवनलाई नै फर्केर हेर्ने हो भने पनि मेडिकल सिटी छ, क्यान्सर अस्पताल छ। हामी कालिकामै बसेका छौँ, यहाँ पदमपुरको स्थानान्तरणदेखि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा थुप्रै काम भएका छन्। आज शिक्षा, स्वास्थ्य पाएका छौँ। तर जुन रूपमा र जति सहज हुनुपर्थ्यो, त्यो भएको छैन।
यसप्रति अहिले राजनीतिक नेतृत्व र नागरिक दुवै सचेत भएका छन्। पुरानो उमेर भएको मान्छे ‘एक्सपायर’ भयो भन्ने होइन के ! उमेरले होइन विचार, सोच र चिन्तनले मान्छे युवा हुने हो। पुरानो भन्दैमा इतिहास छोड्दिने हो भने त हाम्रा घरका बाआमालाई पनि छोड्दिनुपर्यो ! कहाँबाट सुरु गर्ने त ? पढ्ने चिज त इतिहास नै होला नि !
कहाँनेर कमजोरी भयो, त्यहाँबाट प्रवेश गरेर फेरि नयाँ सुधार्ने हो । त्यसैले नयाँ सोचलाई आत्मसात् गर्ने र पुरानो ऐतिहासिक पृष्ठभूमि बोकेका अग्रजहरूलाई सम्मान गर्दै दुवैलाई एकैसाथ लिएर हिँड्ने कुरा महत्त्वपूर्ण हो।
तपाईंले भन्नुभएको कुराको सार चाहिँ, ‘नेपाली कांग्रेस हिजोको जस्तो छैन, परिवर्तित भएको छ र जति हुनुपर्ने काम नभएका थिए, ती पूरा गर्छौँ‘ भन्ने नै हो ?
एकदम। किनकि पार्टी सभापति र अबको आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने हाम्रो सभापति गगन थापाले घोषणापत्र मात्र निकाल्नुभएको छैन। ‘हामीले घोषणा गर्यौँ, तर सकेनौँ’ भन्न नपाइने गरी जनतासँग सङ्कल्पपत्रमार्फत प्रतिज्ञा गर्नुभएको छ। आगामी १० वर्षभित्र नेपाल कहाँ पुग्छ भन्ने दूरगामी दृष्टिकोण प्रस्तुत गरेर निर्वाचनमा आउनुभएको छ।
कांग्रेस पुरानो ऐतिहासिक पृष्ठभूमि बोकेको, नयाँ सोचलाई सम्बोधन गरेको र अझै बन्दै गरेको पार्टी हो। त्यसमा आम मतदाताले विश्वास गर्न जरुरी छ।
तपाईंहरूले भन्दै गरेको कुरा यहाँका मतदाताले बुझेको जस्तो लाग्छ तपाईंलाई ? किनभने हिजो कांग्रेसकै मतदाता हुँदाहुँदै पनि सङ्गठनबिनै रवि लामिछानेले जित्नुभएको थियो। उहाँहरू (कांग्रेसी मतदाता) ले फेरि तपाईंलाई नै मतदान गर्नुहुन्छ भन्ने कुनै सङ्केत पाउनुभएको छ त ?
अघि नै मैले भनेँ, अहिले सबै पार्टीले आ–आफ्ना ‘सिङ्गल‘ उम्मेदवार उठाउनुभएको छ। हिजो आक्रोश थियो, अहिले त्यो रोकिएको छ। पार्टीभित्र बेमेल थियो, त्यो पनि हटेको छ। कांग्रेस अहिले तलदेखि माथिसम्म मन र मत मिलाएर एकढिक्का भई निर्वाचनमा छ। कांग्रेसका जुन मत हिजो बाहिर गएका थिए, ती फर्केर आफ्नो घरभित्र आएका छन्।
म जहाँ–जहाँ प्रचारमा जान्छु, कोही घोषित रूपमा त कोही अघोषित रूपमा फर्किनुभएको छ। हामीले उहाँहरूलाई अहिले नै धेरै चर्चा गराउन चाहेका छैनौँ, किनकि आफ्नो घरबाट बाहिर गएको मान्छे फर्केर आउँदा हामी स्वागत सम्मान गर्छौँ। सही बेला आएपछि अझ धेरै गर्दै छौँ। हिजो जानुभएका साथीहरू पार्टीभित्रको आन्तरिक व्यवस्थापन मिलिसकेपछि यता फर्किनुभएको छ। जनताले अहिले निर्वाचनका बेला देखाएको उत्साहले पनि यही सङ्केत गर्छ।
तपाईंलाई अघिल्लो चुनावको मतान्तर त थाहा छ नि ? उहाँहरूको उम्मेदवारले कति ल्याउनुभएको थियो भन्ने जानकारी राम्रै होला। तपाईंले भन्दै गरेको उत्साहले त्यो मतान्तर पुग्ला त ?
किन नपुग्नु ? मलाई लाग्छ त्योभन्दा अझ ४–५ हजार बढी मतले मेरो विजय हुन्छ। मतान्तर हुनुको पछाडिका आधारहरू मतदाताले आफैँ बुझ्नुभएको छ। हिजो विमतिका मत राख्नुभएका मतदाताले अहिले आफूले खोजेको उम्मेदवार पाउनुभएको छ। पार्टीको सङ्गठनात्मक संरचना राम्रो भएको देख्नुभएको छ, नयाँ साथीहरू आएको देख्नुभएको छ।
मतान्तर भएको मत पनि हाम्रै पार्टीका हुन्। पहिलेदेखि यहाँ तलैबाट सङ्गठन बनाएको (रास्वपाले) होइन, हाम्रै मान्छे उता गएका हुन् भने फर्केर आउँछन्। अर्को कुरा, दुनियाँमा कोही मान्छे सधैँ शक्तिशाली पनि हुँदैन र सधैँ कमजोर पनि हुँदैन।
नेपालको इतिहास हेर्नुभयो भने नालापानीको युद्धमा हतियारसम्पन्न ब्रिटिस सेनालाई कुटो–कोदालो चलाउने हाम्रा महिलाहरूले जितेको इतिहास छ। त्यसैले शक्तिशाली र कमजोर भन्ने कुरा समयले निर्धारण गर्छ। हरेक कुराको समय हुन्छ ।

त्यो समय आफ्नो पक्षमा छ जस्तो लाग्छ ?
अहिले समय मेरो पक्षमा छ । अझै भनौं समय कांग्रेसको पक्षमा आएको छ भन्ने मलाई लाग्छ।
मेरो व्यक्तिगत रूपमा समाजमा लामो समय गरेको कामले पनि केही प्रभाव पारेको छ। हाम्रै संरक्षणमा रहेका बाबुनानीहरू नै मेरो प्रचारका लागि आउनुभएको छ। यो सबै हेरेर पनि अभिमत फर्किएको छ र यसले मलाई विजयी बनाउँछ भन्ने लाग्छ।
चितवनको यो क्षेत्रको चर्चा गर्दा अलिकति राजनीतिक पृष्ठभूमि भन्दा पनि समाजसेवा बढी जोडिन्छ। रवि लामिछाने आउँदा पनि समाजसेवाकै ब्याकग्राउन्ड देखाइरहनुभएको थियो। अहिले तपाईंको उम्मेदवारी दर्तापछि समाजसेवाको चर्चा अझ बढी भइरहेको छ, यसपालिको चुनावमा यो पाटोले कत्तिको काम गर्दै छ ?
म समाजसेवाभन्दा पहिला राजनीतिमा थिएँ। म ४२ सालको सत्याग्रहपछि नेविसङ्घको आन्दोलनमा सहभागी हुँदा १४-१५ वर्षकी थिएँ। म सामान्य किसान परिवारमा हुर्केकी छोरी हुँ। स्कुल पढ्दापढ्दै आन्दोलनमा सहभागी भएँ, भरतपुरका धेरै ठाउँमा भाषण गरेँ। त्यसबेला ४-५ दिन हिरासतमा पनि बसेँ।
म वीरेन्द्र बहुमुखी क्याम्पस पढ्दा एकाइमा बसेर काम गरेँ, नेविसङ्घको जिल्ला कार्यसमितिमा बसेँ। म २०५४ सालको निर्वाचित स्थानीय जनप्रतिनिधि हुँ। नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सदस्य र महासमितिको सदस्य हुँ।
म राजनीतिक पृष्ठभूमि भन्दा सामाजिक पृष्ठभूमिबाट मात्रै आएकी होइन। राजनीतिक चेतले नै मलाई सामाजिक रूपमा लाग्न प्रेरित गरेको हो। मैले चर्चाको लागि समाजसेवा गरेकी होइन, संयोगले आफैँ चर्चामा आएँ। अहिले पनि मैले प्रत्यक्ष रूपमा सडकमा रहेका बेवारिसे बच्चाहरूको उद्धार गरेकी छु। ७०-८० जना त भाइहरूका बुहारीहरू छन्, नातिनातिना छन्। म आफैँले बिहे पो गरेकी छैन, तर मेरो यत्रो ठूलो परिवार छ। तर मैले कहिल्यै यी कुरालाई ‘बिकाएर’ चुनाव जित्छु भनेकी छैन। एउटै बहिनीको कथा किताब बन्न सक्ने खालको छ । त्यसलाइ किताबको रूपमा ल्याएको भए !
मीना खरेललाई चुनाव जित्न सजिलो हुन्थ्यो ?
चुनाव जित्नका लागि कसैलाई प्रयोग गर्नु पर्दैन। चुनाव जित्नका लागि त मेरो कर्म काफी छ नि ! नेपाली कांग्रेसको सोच, दृष्टिकोण र मेरो कर्म नै काफी छ। कसैले प्रयो गरिराखेको छ । मैले प्रचारका लागि काम गरेको होइन ।

मेरो मतलब तपाईंको राजनीतिक पृष्ठभूमि छैन भन्ने होइन, तर समाजसेवाको पाटो पनि बाहिर आयो भन्ने मात्र हो। अन्त्यमा, तपाईंको कमिटमेन्ट (प्रतिबद्धता) के छ ? यो क्षेत्रका लागि छुट्टै केही सोच्नुभएको छ ?
म कानुन निर्माण गर्ने ठाउँमा जाने हो। म ३०-४० वर्षदेखि विभेदको अन्त्य हुनुपर्छ भनेर काम गरिरहेकी छु, त्यसैले म सत्ता प्राप्तिका लागि होइन, न्यायका लागि निर्वाचनमा आएकी हुँ। मेरा एजेन्डाहरू कानुनी रूपमा सम्बोधन हुनुपर्छ। जस्तो, आमाको नामबाट नागरिकता प्राप्त गर्ने कुरा भर्खरै सम्भव भयो। हामीसँग भएका नानीहरूको नागरिकता र जन्मदर्ता नहुँदा हामीसहितको आन्दोलनबाट बल्ल संविधान र कानुनमा लेखियो। कानुन निर्माण भए पनि प्रभावकारी कार्यान्वयन नहुँदा अझै समस्या छन्। यी कुराहरूलाई कानुनी रूपमा सम्बोधन गर्नु मेरो मुख्य दायित्व हो। नभएका कानुन बनाउने र भएका कानुनलाई जनताको सल्लाहअनुसार संशोधन गर्ने कुरा मेरो पहिलो प्राथमिकता हो।
दोस्रो कुरा, विकास हो। विकासका लागि स्थानीय र प्रदेश सरकार छन्, तर सङ्घीय ठूला बजेटहरू आवश्यक पर्ने पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता विषयमा समन्वय गरेर अगाडि जाने कुरामा मेरो भूमिका हुन्छ। म जनताको इमानदार प्रतिनिधि हुनेछु। जनताका समस्या कानुन निर्माणमा पुर्याउन इमानदार भएर बोल्नेछु भने विकास निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय गरी यहाँको जनताको सेवामा समर्पित भएर लाग्नेछु। यति मात्रै प्रतिबद्धता व्यक्त गर्न चाहेँ।
तस्वीर/भिडिओः चन्द्र आले/अनलाइनखबर
प्रतिक्रिया 4