+
+
Shares

अबदेखि नेपालीमा गुगलको जेमनाईबाट गीत तयार पार्न मिल्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १० गते २०:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुगलले जेमनाई एपमा म्युजिक बनाउन सकिने नयाँ फिचर थपेको छ, जुन अहिले बेटा चरणमा छ र लिरिया ३ मोडेलले सञ्चालन गर्छ।
  • जेमनाई एपले प्रयोगकर्ताको विवरणअनुसार ३० सेकेन्डको म्युजिक ट्रयाक र लिरिक्स तयार पार्छ, साथै फोटो वा भिडिओको मुडअनुसार गीत बनाउन सक्छ।
  • गुगलले लिरिया ३ मार्फत बनेका गीतमा सिन्थआईडी वाटरमार्क राख्ने र एआईबाट बनेको गीत जाँच्ने सुविधा दिएको छ।

गुगलले ‘जेमनाई’ एपमा म्युजिक बनाउन मिल्ने नयाँ फिचर थप्ने घोषणा गरेको छ । यो सुविधा अहिले बेटा चरणमा छ र गुगल डिपमाइन्डको ‘लिरिया ३’ म्युजिक मोडेलले यसलाई सञ्चालन गर्छ ।

यो प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफू बनाउन चाहेको गीतको विवरण दिनुपर्छ । त्यसपछि एपले सोही अनुसार ३० सेकेन्डको म्युजिक ट्रयाक र लिरिक्स तयार गर्छ ।

उदाहरणका लागि, ‘आफ्नो जोडी भेट्टाएको मोजाबारे हास्यपूर्ण आर एन्ड बी स्लो गीत बनाऊ’ भनेर अनुरोध गर्दा एपले त्यसअनुसार धुन, शब्द र ‘नानो बनाना’ले बनाएको कभर आर्टसमेत तयार पार्छ ।

गुगलका अनुसार प्रयोगकर्ताले फोटो वा भिडिओ अपलोड गरेपछि त्यसको मुडअनुसार पनि एआईले गीत तयार गर्न सक्छ । यसले सामग्रीको भावनासँग मिल्ने सङ्गीत सिर्जना गर्ने सुविधा दिन्छ ।

कम्पनीका अनुसार ‘लिरिया ३’ ले अघिल्ला मोडेलभन्दा सुधार गर्दै अझ यथार्थपरक र आकर्षक म्युजिक ट्रयाक बनाउन सक्छ । प्रयोगकर्ताले शैली, भोकल र टेम्पो जस्ता पक्ष पनि आफ्नो आवश्यकता अनुसार परिवर्तन र नियन्त्रण गर्न सक्छन् ।

जेमनाई एपमा लिरिया ३ ल्याउनेसँगै गुगलले यो मोडेल युट्युबको ‘ड्रिम ट्रयाक’ फिचरमार्फत क्रिएटरहरूका लागि पनि उपलब्ध गराएको छ । एआईबाट गीत बनाउन सहयोग गर्ने यो सुविधा यसअघि अमेरिकाका क्रिएटरमा मात्रै सीमित थियो, तर अब विश्वभर विस्तार गरिएको छ ।

गुगलले कुनै कलाकारको आवाज वा शैली सिधै नक्कल गर्न नदिने स्पष्ट पारेको छ । तर प्रम्प्टमा कलाकारको नाम उल्लेख गरेमा जेमनाईले सो कलाकारबाट प्रेरित जस्तो शैली वा मुडमा गीत बनाउँछ । यसले मौलिक सिर्जनालाई प्राथमिकता दिने उद्देश्य राखिएको कम्पनीले जनाएको छ ।

कम्पनीले ब्लगमार्फत भनेको छ, ‘लिरिया ३ मार्फत हुने म्युजिक जेनरेशन मौलिक अभिव्यक्तिका लागि डिजाइन गरिएको हो, विद्यमान कलाकारको नक्कलका लागि होइन । यदि प्रम्प्टमा कुनै कलाकारको नाम राखियो भने जेमनाईले त्यसलाई व्यापक सिर्जनात्मक प्रेरणाका रूपमा लिएर मिल्दोजुल्दो शैली वा मुडमा ट्रयाक बनाउँछ । साथै, नतिजालाई विद्यमान सामग्रीसँग मिलाएर जाँच गर्ने फिल्टरहरू पनि राखिएका छन् ।’

गुगलका अनुसार ‘लिरिया ३’ प्रयोग गरेर बनाइएका सबै गीतमा एआईबाट बनेको पहिचान गर्न ‘सिन्थआईडी’ वाटरमार्क राखिनेछ । जेमनाईभित्रै पनि यस्तो सुविधा थपिएको छ, जसले प्रयोगकर्तालाई कुनै ट्रयाक अपलोड गरेर “यो एआईबाट बनेको हो कि होइन” भनेर जाँच गर्न सहयोग गर्छ ।

म्युजिक जेनरेशन फिचर विश्वभरका १८ वर्षभन्दा माथिका जेमनाई प्रयोगकर्तामा क्रमशः उपलब्ध भइरहेको छ । यसले नेपालीसहित अङ्ग्रेजी, जर्मन, स्पेनिश, फ्रेन्च, हिन्दी, जापानी, कोरियन र पोर्चुगिज भाषालाई समर्थन गर्छ ।

एआईबाट बनेको सङ्गीतले कलाकार र श्रोताबीच मिश्रित प्रतिक्रिया ल्याएको छ । एकातिर युट्युब र स्पोटिफाइ जस्ता कम्पनीले एआई अपनाउँदै संगीत कम्पनीसँग सहकार्य गरेर यसलाई व्यावसायिक बनाउने प्रयास गरिरहेका छन् । अर्कोतिर, प्रशिक्षणमा प्रयोग गरिएको सामग्रीको कपीराइटबारे सङ्गीत उद्योगले एआई कम्पनीविरुद्ध मुद्दा दायर गरिरहेका छन् ।

डिजर जस्ता प्लेटफर्मले एआईबाट बनेको गीत छुट्याउन विशेष टुल सार्वजनिक गरेका छन्, जसले यस्ता गीतबाट हुने गलत स्ट्रिमिङ रोक्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?