११ फागुन, काठमाडौं । एक महिनाभित्र ६ कम्पनीका सेयरमा लकइन अवधि सकिने भएको छ । म्युचुअल फन्ड, संस्थापक सेयरधनी तथा आयोजना प्रभावित स्थानीयले पाएको सेयरमा लकइन अवधि सकिने भएको हो ।
लकइन अवधि सकिनुभन्दा एक महिनाअघि नै यसबारे जानकारी गराउनुपर्ने व्यवस्था भएसँगै कम्पनीहरूले सार्वजनिक सूचनामार्फत जानकारी गराउँदै आएका छन् । लकइन अवधि सकिएपछि ती सेयर साधारणसरहकै मूल्यमा किनबेच गर्न बाटो खुल्छ ।
एक महिनामै लकइन अवधि सकिन लागेका कम्पनीमा स्वस्तिक लघुवित्त, सागर डिस्टिलरी, सामुदायिक लघुवित्त, झापा इनर्जी, सानिमा मिडिल तमोर जलविद्युत् कम्पनी र बुङ्गल हाइड्रोपावर छन् ।
यीमध्ये २ कम्पनीको फागुनमै लकइन अवधि सकिने भएको छ । स्वस्तिक लघुवित्तले म्युचुअल फन्डलाई छुट्याइएको ११ हजार ५५० कित्ता सेयर आज (फागुन ११ गते) लकइन अवधि सकिँदैछ ।
त्यस्तै बन्दीपुर केबुलकारले सामुहिक लगानी कोषलाई छुट्याइएको २ लाख ६४ हजार ७ सय कित्ता सेयरमा फागुन २९ गते लकइन अवधि सकिने भएको छ ।
अरु चार कम्पनीको चैतमा लकइन अवधि सकिने भएको छ । सागर डिस्टिलरीले म्युचुअल फन्डलाई छुट्याएको ७२ हजार ६ सय कित्ता सेयरमा चैत ११ गते लकइन अवधि समाप्त हुने भएको छ ।
सामुदायिक लघुवित्त वित्तीय संस्थाको चैत ४ गते संस्थापक र कर्मचारीको सेयरमा लकइन अवधि सकिँदैन । जसमा संस्थापकको २ लाख ३ हजार कित्ता र कर्मचारीको १५ सय कित्ता छ ।
झापा इनर्जीले म्युचुअल फन्डलाई छुट्याएको २८ हजार ५१४ कित्ता साधारण सेयरमा चैत ७ गते लकइन अवधि सकिने छ ।
सानिमा मिडिल तमोर हाइड्रोपावरको ठूलो सेयर संख्यामा चैत ७ गते लकइन अवधि सकिँदैछ । यो कम्पनीमा संस्थापक समूहको २ करोड ३३ लाख २७ हजार ५ सय कित्ता, कर्मचारीलाई छुट्याइएको १६ लाख ६६ हजार २५० कित्ता र आयोजना प्रभावित स्थानीयलाई छुट्याइएको ३३ लाख ३२ हजार ५ सय कित्ता गरी कुल २ करोड ८३ लाख २६ हजार २५० कित्तामा चैत ७ गतेबाट लकइन अवधि सकिने भएको हो ।
बुङ्गल हाइड्रोपावरले म्युचुअल फन्डलाई छुट्याइएको १ लाख ३ हजार ७५० कित्ता सेयरमा चैत १ गते लकइन अवधि सकिँदैछ ।
प्रतिक्रिया 4