१३ फागुन, जनकपुर । भित्रीमधेशका नागरिकलाई अहिले मुख्यत: तीनवटा कामको चटारो छ । एक, बारीमा उखु पाकेको छ । काटेर मिलमा लैजान हतार भइसकेको छ । मिल लैजान ढिलो भए उखुको रस सुक्न थाल्छ ।
दुई, घरका गृहिणीहरूलाई गुइँठा बनाउन भ्याइ नभ्याइ छ । मधेशको आम जीवन करिब गुइँठामा चलेको छ । हिउँदमा जतिधेरै गुइँठा बनाएर जोहो गर्न सक्यो, त्यति बर्खामा चुल्हो जलाउन सहज हुन्छ । त्यसैले पारिलो मौसममा गुइँठा बनाएर सडकका डिलहरूमा सुकाइरहेको देखिन्छ ।
तीन, चुनाव लागेको छ । अरु बेला अनुहार नदेखाउने नेताहरू पनि भोट माग्न गाउँ छिरेका छन् । कोही विगतका परिचित अनुहार छन्, कोही नयाँ । जोजस्ता भए पनि घरदैलोमा आएपछि स्वागत सत्कार गर्नै परेको छ । फूलमाला र अविर लगाइदिनै परेको छ । उनीहरूका भाषण र आश्वासन सुनिदिनै परेको छ ।

विगतमा भोट भाग्दै आवश्वासन बाँड्ने नेताहरू पाँच वर्षमा गाउँ फर्किन्थे । यसपटक नेताहरू मध्यावधिमै गाउँ छिरेका छन् । गत भदौको जेनजी आन्दोलनले तत्कालीन सत्ता पलट गरिदिएपछि नयाँ जनअनुमोदनका लागि दल र नेताहरू साढे दुईवर्षमै नागरिकका घरदैलोमा फर्किएका हुन् ।
भोट माग्न आउने नेताहरू सबैले आफू बदलिएको भन्दै यसपटक मत माग्दैछन् । उनीहरू कति बदलिए, उनीहरू नै जानून् । तर, अनलाइनखबरले एकसातासम्म मधेशका ८ वटै जिल्ला भित्री बस्ती र शहरहरूमा गरेको फिल्ड रिपोर्टिङका क्रममा नागरिकहरू कुरा सुन्दा आम जीवनमा भने तात्विक बदलाव आएको छैन ।
‘मैले भोट त धेरै पटक खसालेँ, भोट खसालेर हाम्रो ऋण नघट्दो रहेछ’ बटेश्वरमा भेटिएकी ७० वर्षिया बिन्दा यादवले आफ्नो नियति सुनाइन्,’ हामी सबै ऋणमा डुबेका छौं । साहुवाला संस्थाका मान्छेले ब्याज छाड्न मानेनन् । ब्याजको पनि थप ब्याज चाहियो रे ।’
विन्दाजस्तै पीडामा रहेका मधेश नागरिकहरूलाई देशका अन्य स्थानमा जस्तै नयाँ कि पुराना दल, अनुहार कि एजेण्डा भन्ने बहसले सूक्ष्म रुपमा छोएको छ । केही मतदाताहरुसँगको कुराकानी गरेपछि हामीले पनि छनक पायौं कि, उनीहरूको मनोदशा बदलिँदो छ । त्यसैले व्यक्ति होस् वा पार्टी कोही बदलिएर आएको छ भने त्यसप्रति उनीहरूको चासो छ ।
यो मनोदशामा रहेका मतदाताहरूलाई अहिले नयाँ पार्टी भन्दै मधेश छिरेको रास्वपा र उसले प्रधानमन्त्रीको रुपमा घोषणा गरेका बालेन शाहको बारेमा थाहा नहुने कुरै भएन । विन्दा भन्छिन्,’नयाँले केही गर्छन् कि ।’
बारम्बार निर्वाचित हुने, तर नतिजा नदिने उम्मेदवारहरुसँग दिग्दार विन्दा जस्तै मतदाताहरूको मत कता जान्छ भन्ने निश्चित छैन । त्यसैले सबैजसो दलका उम्मेदवारहरू रक्षात्मक मनस्थितिका साथ प्रचारप्रसारमा जुटेका छन् ।
विगतमा निर्वाचित भएकाहरुलाई यसपाली ‘के कसो हुने हो ?’ अन्योल छ । कतिपय मतदाताहरुले सोध्ने खरो प्रश्नले उनीहरुलाई असिनपसिन पनि बनाइरहेको छ । नयाँ उम्मेदारहरुलाई एकखालको उत्साह छ । तर चुनावी अनुभव र संगठनको कमजोर उपस्थितिले आत्मविश्वासको अभाव देखिन्छ ।
विपन्न: दलका भोट बैंक
तराईका दलित समूदायले भूमि र बासको समस्या खेप्नुपरेको छ । धनुषा, सिराहा र सप्तरीका केही मसुहर बस्तीमा घुम्दा कयौंको मतदाता परिचयपत्र नै थिएन, किनभने उनीहरुको लालपूर्जा र नागरिकता थिएन । धनुषा र सप्तरीका दुई मुसहर बस्ती प्रवेश गर्दा देखियो- नागरिकहरू कुन तहको जीवन यापन गरिरहेका छन् ।
ढल्केवर- जनकपुर रोड अहिले चिल्लो छ । सडक पूर्वाधारले त्यस क्षेत्रको मुहार नै फेरेको छ । तर, त्यही सडकबाट केही किलोमिटर भित्र बटेश्वरको पाटोटोलस्थित मुसहर बस्तीका झगरु सदाको आँगनमा पुग्दा जनकपुर बढ्दै गएको वैभवलाई नै गिज्याउँछ । तर, यस्ता बस्तीका नागरिकहरू जुनसुकै दलका पनि भोट बैंक हुन् । यो भोट कहाँ हाल्ने नागरिकता र मतदाता परिचयपत्र भएकाहरु अन्योलमा थिए, किनभने गाँउका ठाँलूहरुले कता मत हाल्न निर्देशित गर्नेहुन् भन्ने कौतुहलता उनीहरुमा देखिन्थ्यो ।
क्षिरेश्वरको पकडियामा भेटिएका रामलोचन साहले प्राय छट्टु उम्मेदवारहरुले यस्ता बस्तीका मतदाताहरुलाई दुरुपयोग गर्नखोज्ने अनुभव सुनाए । उनका अनुसार, उम्मेदवारहरुले निर्वाचनको अन्तिम बेलामा बस्तीलाई नै प्रभावित पार्न अनेक प्रलोभन देखाउने गर्छन् । त्यो समय अब आउँदैछ ।
…
सप्तरीको बनौली बजार छेवैमा नहरबाट भारततिर पानी लैजाने सप्तकोशीको शाखा कोशी पम्प नहर छ । त्यहाँ यतिबरे भारतीय डोजरहरुले धमाधम सरसफाई गरिरहेका छन् । कोशी नदी नेपालमा सबैभन्दा बढी बालुवा बगाउने नदीको रुपमा चिनिन्छ ।
भारतले हरेक वर्ष नहरमा पानी रोकेर त्यहाँ थिग्रिएको बालुवा निकालेर दायाँबायाँ थुपार्छ । र, नहरको दायाँबायाँ सडक पनि भारतले नै बनाइदिने सर्त छ । छेवैमा थुपारिएको बालुवा भने त्यत्तिकै अलपत्र हुने रहेछ । भारतीय सीमा नजिकैको त्यो गाउँ पुग्ने सडक धुलाम्मे छ, कालोपत्र हुन सकेको छैन ।

बालुवा छरिएकाले सडक पार गर्दै जाँदा करिब दुई सय परिवार रहेको मुसहर बस्ती छ, जसलाई उम्मेदवारहरुले जहिल्यै भोट बैंकको रुपमा मात्रै प्रयोग गर्ने गरेको स्थानीयहरुको गुनासो थियो । यस्ता विपन्नहरूका लागि कम्तीका आवासको व्यवस्था होस् भनेर संघदेखि प्रदेश सम्मका सरकारहरूले जनता आवास कार्यक्रम अघि सारे । तर यो कार्यक्रमले धेरै नागरिकलाई छोएकै छैन ।
‘प्रायः मुसहरहरुको जग्गा/जमीन छैन । उनीहरूले वर्षौंदेखि उपभोग गरिरहेको जमीनको समेत लालपूर्जा पाइरहेका छैनन्’ सप्तरीका स्थानीय सञ्चारकर्मी महेन्द्र सदा भन्छन्, ‘सरकारले नापी गर्दा उनीहरु वर्षौदेखि बसोबास गरेको देखिएको भनी कागजात तयार भएको छ, तर कर्मचारीहरुले जग्गा नम्बरी(दर्तावाल) नभएकाले रैकर भएको लालपूर्जा दिन मानेका छैनन् ।’
किसानका कुरा
मधेशलाई अन्नभण्डार पनि भन्ने गरिन्छ । तर गतवर्ष किसानहरुले ठूलो खडेरी खेप्नुपर्यो । मधेश प्रदेश सरकारले आठ जिल्लालाई सुख्खाग्रस्त क्षेत्र नै घोषणा गरेर केही राहतका प्याकेजहरु ल्याएको थियो । किसानहरुमा अहिले पनि त्यसको त्रास देखिन्थ्यो ।
सिंचाईको अभावले मधेशका खेतहरुमा धाँजा फाटेका छन्, उत्पादकत्व बढ्न सकेको छैन । मधेशका आठ जिल्लाका सवाल लाख हेक्टर खेतमा सिंचाई गर्ने योजनाका साथ शुरु भएको सुनकोशी–मरिन बहुउद्देश्यीय आयोजनाको काम कछुवा गतिमा अघि बढिरहेको छ ।

लागत नउठ्ने भएपनि किसानहरु खेतीबाट विस्थापित हुन थालेका छन् । सर्लाही वरपर किसानहरुले उखु ओसारिरहेका गोरुगाढाहरुलाई चिनीमिलतिर लैजादै गरेका थिए, तर उनीहरुले त्यसको भुक्तानीका लागि अर्को संघर्ष गर्नुपर्नेछ । यो मुद्दालाई अहिले कसैले पनि ठोस एजेण्डाको रुपमा उठाएका छैनन् । सबै नयाँ कि पुरानो भन्ने बहसमै छन् । भोट पनि त्यही भनेर मागिरहेका छन्
‘गुइँठा’को चुनावी भार
पूर्वपश्चिम राजमार्गको दक्षिणपट्टि भारतीय सीमावर्ती क्षेत्र नजिक ग्रामिण भेगहरु जोड्ने हुलाकी राजमार्ग बनेको छ । शहरीकरण भइसकेको र कतिपय ठाँउमा बजार रहेको पूर्वपश्चिम राजमार्गबाट घुमेर मधेशका ग्रामिण जनजीवन र दिनचर्याहरुको जिवन्त दैनिकी पाइदैन, हुलाकी राजमार्ग नै हिँड्नुपर्छ । यो राजमार्गले तल्लो भेगमा हिँडडुल गर्न सहज छ । तर लामो दूरीका सवारी अझै चल्दैनन् । सिराहाको कमला पुल अलपत्र छ ।
हुलाकी राजमार्ग वरपर खवडाले छाएका साना घरहरु, झुप्राहरु र गोरुगाडाबाट ढुवानी गर्ने गरिन्छ । परालको कुन्यूका साथै घर वरपर बस्तुभाउलाई पानी खुवाउने माटाका भाँडाहरु यत्रतत्र देख्न पाइन्छ । किसानहरुले गाईभैसीको गोवरमा भूस र पराल एवं छ्वालीका टुक्राहरु मिलाएर गुइँठा बनाउँछन् र हिउँदभर घाममा सुकाउँछन् । ती गुइँठाहरु खाना पकाउनेदेखि आगो ताप्न मात्र होइन पवित्र मानेर केहीले लास जलाउन पनि प्रयोग गर्छन् । मधेशका गाँउका बस्तीहरुमा घर वरपर गुइँठाहरुका यतिबेर चाङ छन् ।

यही गुइँठाको प्रसंगले केही साताअघि चुनावी राजनीतिक माहोल पनि ततायो । एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा-५ का आफ्ना प्रतिस्पर्धी बालेन शाहलाई व्यंग्य गर्दै महोत्तरीका गुइँठा प्रयोगकर्ताहरुको तुलनामा दमकका मानिसहरु सफासुघ्घर रहेको’ आसयको अभिव्यक्त दिए । त्यही अभिव्यक्तिले मधेशमा एमालेका लागि रक्षात्मक हुने अवस्था समेत सिर्जना गर्यो ।
ओलीले बोलेको यो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भयो । भाइरलको लहरले मधेशलाई नछुने कुरै भएन । गुइँठामा जीवन चलाउनेहरूका हातमा पनि यतिबेर मोबाइल फोन छ । कुनै पनि सन्देश थाहा पाउन कसैको भर पर्नै पर्दैन । ओलीको यहि अभिव्यक्तिका कारणा रक्षात्मक बनेपछि धनुषा–३ की एमाले उम्मेदवार जुलीकुमारी महतोले सार्वजनिक रुपमा नै मतदातासामू माफी मागिन् ।
उनले अनलाइनखबरसँग पनि भनिन्, ‘नेताहरुले अलिकति सचेत भएर बोल्नुपर्दो रहेछ । एक/दुई जना नेताको बोलीको सरस्वती बिग्रिएकै हो । मैले धनुषा–३ का बासिन्दासँग उहाँहरुको तर्फबाट र व्यक्तिगततर्फबाट क्षमायाचना पनि गरेको छु ।’
डिजे र चुनाव
गतसाता मधेशका गाउँबस्ती घुम्दा चुनावी सरगर्मी मात्रै थिएन, बिहेको सिजन पनि चलेको थियो । मधेशका जिल्लाहरुमा भ्यान गाडीलाई आकर्षक र रंगीचंगी बनाउने अनि त्यहाँ ठूला आकारका लाउडस्पिकर र माइक राखेर भोजपुरी गीत बजाउने चलन छ ।
बिहेका बेलामा जन्ती जाँदा त्यही गाडीको अघिपछि ठूलो आवाजको गीतका साथ नाचगान चल्छ । चर्को आवाजका साथ बिहे र भोज गर्ने चलन चुनावमा पनि सरेको छ । कयौं उम्मेदवारहरूले नाचगान र बाजासहित डिजे प्रयोग गरेर प्रचारप्रसार गरिरहेका थिए ।
यस्ता तडकभडकको संस्कृतिले चुनावलाई पनि खर्चिलो बनाइरहेको छ । खानपान गाडी र तेल पर्चा र डिजेसम्मका व्यवस्थापन नगर्दा चुनावको प्रचार नै नहुने अवस्था छ । यही खर्चिलो चुनावी अभियानले नेकपाका रौतहट-१ का उम्मेदवार माधवकुमार नेपाललाई समेत चिन्तित बनाएको छ । ‘साथीभाइहरूको सहयोगको भरमा हामीले अभियान चलाइरहेका छौं’ उनले अनलाइनखबरसँग भने,’कतिपय ठाउँमा भोजभतेर समेत चलिरहेको छ । आचारसंहिता पालना भएको छैन ।’

नेता नेपालले भनेजस्तै निर्वाचन आयोगले लगाएको आचारसंहिता त भित्री मधेशमा पालना भएको छैन । जनकपुर, सर्लाही, महोत्तरी लगायतका सदरमुकाम र बस्तीमा प्रचार सामग्रीहरु भित्तामा र डोरीमा टाँगिएकै छन् ।
ठाँउठाँउमा उम्मेदवारहरुले ट्याम्पु र तीनपाङ्ग्रे अटोको पछाडी प्रचारसामग्री टाँसेर हिँडेका थिए । कतिपयले माइक लगाएका ट्याम्पुबाट प्रचारप्रसार गराइरहेका छन् । उम्मेदरहरुबीच झै-झगडा र झडप भएको छैन भने निर्वाचन अधिकृतले पनि आचारसंहिता उल्लंघनका क्रियाकलापमा किन टाउको दुखाउनु ? जस्तो गरी बसेका छन् ।
सद्भाव बिथोलिने त्रास
जति मतदान हुने दिन नजिकिँदै छ, त्यति नै मधेशमा सद्भाव विथोलिने वा झडप हुने त्रास पनि बढ्दै छ । यो बढ्नुमा पछिल्लो साता घटेका केही घटनाहरूले पनि काम गरेको छ । केही दिन अघि रौतहटमा हिन्दू र मुस्लिम समूदायबीच झडप भयो । त्यही झडपका कारण गौरमा कर्फ्यू नै लगाउनु पर्यो । झडपका र मनमुटावको विषयवस्तु यति सामान्य थियो कि मानिसहरुको मन बिथोलिन निहुँ चाहिँदैन भन्ने त्यहाँ देखिन्थ्यो ।
हिन्दु समूदायका एक व्यक्ति विवाह भइरहेको थियो । मुस्लिम समूदायले नमाज पढ्ने बेलामा उक्त वस्तीमा विवाहको बाजा बज्यो । नमाजको समयमा बाजा बजाएको निहुँमा भएको दिनभरको झगडा साँझ सहमतिमा टुंगियो । तर भोलिपल्ट फेरि दुवै समुदायमा कलह सुरू भयो र हुलदंगा हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यू नै लगाउनुपर्यो ।
भोलिपल्ट पर्सामा पनि दुई युवा समूहबीच झडप भएको रहेछ । तर, छिमेकी जिल्लाको असर हुनसक्ने देखेर स्थानीय प्रशासनले पनि कर्फ्यू लगाइदियो । कुन बेला कहाँ विवादको झिल्को देखिन्छ टुंगो छैन । त्यसैले चुनावको मिति नजिकिँदै गर्दा कुनै अप्रिय अवस्था आउने हो कि भन्ने त्रास मरिसकेको छैन ।

केही उम्मेदवार र दलका कार्यकर्ताहरुको कुराकानीबाट बुझिन्थ्यो, तराईका केही मतदान केन्द्रहरु अति संवेदनशिल छन् । अघिल्लो स्थानीय निर्वाचनमा भाँडभैलो भएका र मतपेटिका नै लुटिएका ठाँउहरुमा प्रशासनले सुरक्षा सतर्कता बढाएको त छ, तर आम मानिसहरुमा निर्वाचन बिथोल्न चाहने पक्षले कुनै साम्प्रदायिक बेमेलको बिऊ रोपिहाल्छ कि भन्ने त्रास व्याप्त छ ।
चुनावकै सरगर्मी बढेका बेला सर्लाहीमा गोली हानेर व्यक्तिहत्या समेत भयो । कतिपय घट्नामा त प्रहरीले अपराधीसम्म पुग्ने ‘क्लू’ समेत पाएको छैन । नजिकैको सीमावर्ती भारतीय सडकबाट आउने, भाडामा प्रयोग हुने र गोली प्रहार गरेर भारततिरै भाग्ने क्रियाकलापहरु यो क्षेत्रमा हुने गरेको छ । त्यस्ता क्रियाकलापहरू दोहोरिने हुन् कि भन्ने चिन्ता छ । मधेशका चुनावी क्षेत्रहरूमा इतिहास उम्मेदवारहरूले नै शक्तिको दुरुपयोग गरेर हुलदंगा गरेका उदाहरण पनि छन् ।
त्यसैले यसपटक मधेशको भूमिमा चुनाव लड्न झरेका सर्लाही-४ का उम्मेदवार समेत रहेका कांग्रेस सभापति गगन थापाले अनलाइनखबरसँग भने,’मतदानस्थलमा कसैले शक्तिको दुरुपयोग नगरोस् भन्नेमा सरकार र निर्वाचन आयोग सजग रहनुपर्छ ।’
कसको पल्ला भारी ?
८ जिल्ला रहेको मधेशमा ३२ निर्वाचन क्षेत्र छन् । प्रत्येक जिल्लामा चारवटा निर्वाचन क्षेत्र छन् । यी क्षेत्रमा १०२७ जना उम्मेदवार प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा छन् । यो प्रतिस्पर्धामा कसको पल्ला भारी छ ? कसले जित्छ ? अहिले नै भन्न सकिने अवस्था छैन । तर यति चाहिँ साँचो हो कि, जुन क्षेत्रका जुनसुकै दलका उम्मेदवारलाई पनि प्रतिस्पर्धी को हो भनेर सोध्दा अहिले आइरहेको नयाँ लहरले प्रति इंगित गर्छन् । परम्परागत प्रतिस्पर्धी भन्दा नयाँले चाहिँ आफ्नो पकडमा धावा बोल्ने हो कि भन्ने त्रास चाहिँ छ ।
मधेशको मतदाताको संख्या नै ३६ लाख छ । यहाँ मत अनुहार र एजेण्डाले हेरेर मात्र हालिन्न । चुनावका भुक्तभोगी उम्मेदवार र मतदाताहरूको अनुभव अनुसार पनि यहाँ जातीय क्लस्टर अनुसारका मतदाता पनि हुन्छन् । त्यस्तै पैसाको बल र मनोवैज्ञानिक त्रासका कारण मतदाताहरूले मत दिने गरेको इतिहास पनि छ । त्यसैले ह्विम अनुसार सबै मतदाता त्यही लहरमा उभिइहाल्छन् भन्ने निश्चितता छैनन् ।
मधेशमा अहिले राजनीतिक रुपमा दुई चुनावी नारा मतदाताको कान-कानमा पुगेको छ । एउटा- अबकी बार,गगन सरकार । अर्को- अबकी बार, बालेन सरकार ।
मधेशको व्यक्ति प्रधानमन्त्री बन्न लागेको भन्दै बालेनको चर्चा भइरहेको छ । रास्वपाका उम्मेदवारहरुले आफ्नो व्यक्तिगत भन्दा बालेनको प्रचार गरेर आफ्नो भोट तान्ने प्रयास गरिरहेका छन् । त्यसैले उनीहरूको भोट माग्दा भन्छन्- अबकी बार बालेन सरकार, चुपचाप घण्टी छाप ।
बालेनको चर्चा भएपनि मधेशमा उनीप्रति फरक धारणा राख्ने केही मतदाता पनि रहेछन् । यदी उनी मधेशी भएको चिनाउन चाहन्छन् भने किन मधेश प्रदेश छोडेर झापा चुनाव लड्न गए भन्नेहरू पनि छन् । यो कुरा त्यहाँका मधेशी दलहरूसँग झुकाव राख्ने मतदाताहरूले राम्ररी नै प्रचार गरिरहेका छन् । काठमाडौंमा मेयर जित्दा मधेशको कुरै नगर्ने, कवाडमा काम गर्ने मधेसीहरूलाई काठमाडौंबाट लखेट्ने व्यक्तिको रुपमा बालेनलाई उनीहरूले चित्रण गरिरहेका छन् ।

बालेनले काठमाडौंबाट कवाडहरूलाई हटाएको विषयलाई जोडतोडका साथ उठाउने प्रभू साहको आम जनता पार्टी नै चुनावमा क्रियाशील छ । यो पार्टीले मधेशका ८ वटै जिल्लामा २८ जना उम्मेदवार उठाएको छ । मधेश झरेका कांग्रेस सभापति गगन थापाका कारण कांग्रेसले पनि आफ्नो चुनावी प्रचारमा उनलाई ब्रान्डिङ गरिरहेको छ । कांग्रेस बदलिएर आएको र अब मधेशलाई पनि केही गर्ने भन्ने कुरालाई पनि मतदाताले नजिकबाट नियालेका छन् ।
एमाले र नेकपाको चुनावी प्रचार भने कुनै ठूलो ब्रान्डिङ गरेर भइरहेको छैन । प्रत्येक क्षेत्रका उम्मेदवार आफ्नो व्यक्तिगत छविको ब्रान्डिङ गर्दै चुनावी प्रचारमा छन् । विगतका चुनावमा मधेशको मुद्दालाई जोडतोडसाथ उठाउने जसपा, जनमत जस्ता पार्टीहरू यसपटक त्यही मुद्दा मात्र बोकेर चुनावमा हिँडेका छैनन् । किनकी मतदाताले उनीहरुले विगतमा पटक पटक अवसर पाएर पनि केही गर्ने नसकेको भन्ने मनोविज्ञान मतदातामा छ ।
करिब-करिब मधेशी दलहरुले विगतमा उठाउने मुद्दाहरू यसपटक मुर्झाएका छन् । मधेशी दलका नेताहरू पनि आफ्नै व्यक्तिगत क्षमताको बलमा चुनाव जित्ने कोसिस गरिरहेका छन् । सबै दलहरूको कुनै न कुनै क्षेत्रमा विगतमा चुनाव जितेको अनुभव र त्यसअनुसारका चुनावी संगठनहरू रहेका कारण मधेशको चुनावी परिणाम कुनै एउटै दलको पक्षमा जाने अनुमान चाहिँ धेरैलाई छैन । त्यसैले अबको चुनावले पनि राजनीतिक स्थिरता नदिने भय छ । यो चिन्ता विशेषगरी वीरगञ्जका अगुवा र उद्योगी व्यवासायीहरूमा पाइयो ।

जेनजी आन्दोलनको भोलिपल्ट भएको तोडफोड र लुटपाटले वीरगञ्जका उद्योगी व्यावसायीहरूलाई पनि खिन्न बनाएको थियो । तर कुनैपनि आन्दोलन वा अभद्र राजनीतिक गतिविधि हुनासाथ उद्योगी र व्यवसायीहरु नै तारोमा पर्छन् ।
कुनै दलले स्पष्ट बहुमत नपाएपनि अघिल्लोपटकको तुलनामा राजनीतिक स्थिरता हुनेगरीको जनमत प्रकट भए हुन्थ्यो भन्ने उनीहरुको अपेक्षा थियो ।
‘स्थिरता अति महत्वपूर्ण कुरा हो अनिश्चिताले उद्योग व्यावसायमा भय पैदा हुन्छ’ पर्सा उद्योग वाणिज्य महासंघका महासचिव माधवराज पाल भन्छन् । वीरगञ्जकै अर्थशास्त्री इन्दुशेखर मिश्रका अनुसार यसपाली पनि चुनावले स्थिरता ल्याउँछ भन्ने निश्चित छैन । ‘हाम्रो चुनावी प्रणालीले कुनै एक दलको बहुमत आउने शंका छ । त्यो निश्चित छैन’ उनी भन्छन् ।
अनलाइनखबरको टोली बीरगञ्जमा पुगेर पत्रकार एवं टिप्पणीकार चन्द्रकिशोरलाई भेट्यो । उनी केही दिनअघि मात्रै मधेशका आठ जिल्ला घुमेर फर्केका थिए । मधेशमा चुनावी तरंग फैलिएको देखेर फर्केका उनले सांकेतिक रुपमा भने, ‘मधेशका जनताहरु साविक जस्तै यसपटक पनि बडा सुझबुझका साथ निर्णय गर्छन् । जसको निर्णयले गर्दा अप्रत्यासित परिणाम आउँछ ।’
मधेशका ८ जिल्लाका उम्मेदवार, मतदाताको मनस्थिति र विष्लेषकहरूको अनुमान सबैलाई एक ठाउँमा राखेर हेर्ने हो भने दलहरूको राजनीतिक पोजिसनमा व्यापक बदलाव आउनेछ । तर, यसले संसदको कुल गणितमा भने कुनै दलको स्पष्ट बहुमत आइहाल्नेमा धेरैको शंका छ । त्यस्तो परिणाम आए हुनेछ- अबकी बार, अलमल सरकार !
सबै तस्बिर – कमल प्रसाईं/अनलाइनखबर
प्रतिक्रिया 4