१४ फागुन, सिरहा । हरेक पटक जब चुनाव आउँछ । नेताहरू बस्ती पस्न थाल्छन्, हात जोड्छन्, मीठा भाषण गर्छन्, विकासका सपना बाँड्छन् र भोट माग्छन् ।
चुनाव जितेपछि नेता पनि हराउँछन् । नेता नै हराएपछि विकास आउँदैन्, नेताका बाचा स्मृतिबाट हराउँदै जान्छन्, विस्तारै जनताले देखेका सपना पनि धमिलिँदै जान्छन् ।
यस्तै कथा सिरहा जिल्लाको सुखीपुर नगरपालिका-१ स्थित शिवनगर गाउँको पनि छ । सिरहा क्षेत्र नम्बर–२ मा पर्ने शिवनगर गाउँमा सधैँका चुनावमा यही कथाको पुनरावृत्ति भइरहन्छ ।
शिवनगर गाउँका बासिन्दालाई उम्मेदवार र नेताले हरेक चुनावमा आशा देखाउँछन्, मतदाता त्यही आशा बोकेर मतदान गर्छन् । तर चुनाव सकिएपछि उनीहरू फेरि आफ्नै समस्या बोकेर बस्न बाध्य भइरहन्छन् ।
शिवनगरमा १२५ परिवार दलित समुदायको बसोबास छ । उनीहरूले हरेक चुनावमा माग्ने दुई वटा माग मात्रै छन् । एक– बालबालिका पढाउन व्यवस्थित विद्यालय र दुई– नजिकै अस्पताल ।
उसो त शिवनगर गाउँका समस्या शिक्षा र स्वास्थ्यसँग जोडिएका मात्रै छैनन् । सडक र खानेपानीका विषयमा पनि हरेकजसो निर्वाचनमा उम्मेदवारहरूले वचन दिएर भोट माग्छन् ।
‘हाम्रो माग नजिकै व्यवस्थित विद्यालय र अस्पताल हो,’ शिवनगरकी स्थानीयवासी श्रीवती मोचीले भनिन्, ‘भएको एक आधारभूत विद्यालयमा राम्रो भवन छैन । न अन्य व्यवस्थापन राम्रो छ । नजिक सरकारी अस्पताल छैन ।’
शिवनगरको उत्तरवारीमा आधारभूत विद्यालय छ । जसको भौतिक अवस्था एकदमै नाजुक छ । सुखीपुर-१ कै कमलपुरमा जनता माध्यामिक विद्यालय छ । त्यहाँ पुग्न ससाना बालबालिकालाई गाह्रो हुने स्थानीयवासीको गुनासो छ ।
यिनै दुई माग राख्दा पाएका आश्वासनका भरमा स्थानीयवासीले पटक–पटक मतदान गरेका छन् । ‘भोट दिँदा–दिँदा हामी थाकिसक्यौँ, तर नेताहरू भोट माग्न थाकेनन्,’ स्थानीय शान्तिदेवी राम भन्छिन् ।
यहाँका पुरुष सबैजसो वैदेशिक रोजगारमा गएका छन् । ‘यहाँ रोजगारी नभएपछि श्रीमान् र छोरा विदेश गएका छन् । उताबाट पठाएको पैसाले घर चल्छ । कम्तीमा नातिनतिनाले पढ्न पाए, हामीले उपचार पाए खुसी हुन्थ्यौँ,’ रामले भनिन् ।
स्थानीय हरिनारायण राम भने दलितलाई नेताले भोट बैंकमात्रै बनाएर राखेको भन्दै आक्रोश पोख्छन् । ‘वर्षौँ देखि हामी भोट बैंक मात्रै हुने क्रम दोहोरिँदै आएको छ । हाम्रो अवस्था सुध्रिएको छैन,’ उनले भने । अब निर्वाचनका गरिएका नेताका भाषण पत्याउने दिन गएको पनि उनले बताए ।
प्रतिक्रिया 4