News Summary
Generated by OK AI. Editorially reviewed.- काजी दामोदर पाँडेले तिब्बत र चीनसँगको युद्धमा ठूलो पराक्रम देखाउँदै नेपालका सीमाना पूर्वमा टिष्टा र पश्चिममा महाकालीसम्म विस्तार गरे।
- स्वामी महाराज रणबहादुर शाहको विरोधमा काजी दामोदर पाँडेलाई गिरफ्तार गरी वि.सं. १८६० चैत २ मा लुमडी (भद्रकाली) नेर काटियो।
- दामोदर पाँडेले नाबालक राजा गीर्वाणयुद्धविक्रम शाहको संरक्षक भएर स्वामी महाराजको समानान्तर सत्ता विरुद्ध सैन्य टोलीको नेतृत्व गरे।
अत्यन्तै बहादुर र देशभक्त भएर पनि काजी दामोदर पाँडेको जीवनको अन्त्य सुखद् हुन पाएन । देशको लागि राम्रो गरिरहेका उनलाई सनकी राजाको उपमा पाएका राजा रणबहादुर शाहको आदेशमा काटियो ।
पृथ्वीनारायण शाहले पाँडे र बस्न्यात परिवार बीच वैवाहिक सम्बन्ध स्थापित गराइदिएका थिए । पछि थापा र कुँवर परिवारमा पनि वैवाहिक सम्बन्ध स्थापित भयो । यी सबै मिलेर गोरखा राज्य विस्तारमा योगदान दिइरहेकै थिए । तर राजा रणबहादुर शाहको समयमा आइपुग्दा देशमा विभिन्न विकृति देखा परे । यी खलक बीच पनि अन्तरद्वन्द्व शुरु भयो ।
मौका पाउँदा एकले अर्कोलाई सिध्याउने उद्योग चल्दा त्यसको शिकार हुनपुगे, देशभक्त काजी दामोदर पाँडे । त्यसबेला सन्यासी भई स्वामी कहलिएर पनि फेरि राजनीतिमा सक्रिय भएका राजा रणबहादुर शाहका दाहिने हात थिए, काजी भीमसेन थापा ।
पाँडे खलकको लहरो
काजी दामोदर पाँडेको चर्चा गर्नुअघि गोरखा राज्य निर्माण र उनका पुर्खाको बारे अलिकति इतिहास कोट्याउँदा सान्दर्भिक नै हुनेछ ।
अहिले गोरखा डाँडाको टुप्पामा रहेको जुन ठाउँमा शाहवंशीय राजाको दरबार छ, पहिले त्यहाँ रहेर खड्का थरका मगर राजाले शासन गर्थे । लिगलिगकोटमा घले राजालाई हराएर आफ्नो राज्यलाई थप विस्तार गर्ने महात्त्वाकाङ्क्षा बोकेका नवयुवक राजा द्रव्य शाहको आँखा त्यही खड्का मगर राजाको राज्यतिर पनि पर्यो । यहाँ रहेर मानसिंह खड्का नामका राजाले शासन चलाइरहेका थिए । उनी मगरभित्रको सामरी थरका मगर थिए (योगी नरहरिनाथ, “श्रीमगर गुरुङ वंशावली”–२०७८:९) ।
आफ्ना दाजु लमजुङका राजा नरहरिनाथसँग छुट्टिएर आफैं राजा बन्न अगाडि बढेका द्रव्य शाहले लिगलिग कोटको दौड प्रतियोगितामा भाग लिने बहाना बनाएर लिगलिगकोटमा आफ्नो अधिकार स्थापित गराएको केही समयपछि नै रागिनास कोट पनि उनको अधिकारमा आयो । त्यसपछि उनले आफ्नो लक्ष्य गोरखा कोटलाई बनाए । १५ दिनको लगातार प्रयासपछि खड्का मगर राजामाथि तरबार प्रहार गरी द्रव्य शाहले गोरखा कोटमा पनि अधिकार जमाउँदा उनलाई क्षत्रीय कुलका गणेश पाँडेले ठूलै साथ दिएका थिए (बाबुराम आचार्य, “नेपालको सङ्क्षिप्त वृत्तान्त”–२०६३:९२) ।
इतिहासकार दिनेशराज पन्त (“गोरखाको इतिहास” पहिलो भाग–२०४१:५३) अनुसार द्रव्य शाह वि.सं. १६१६ भदौ २५ गते गोरखाको राजगद्दीमा बसेका हुन् । त्यसपछि गोरखाली शाहवंशीय राज्यको सुरुआत हुन पुग्यो ।
इतिहास शिरोमणि बाबुराम आचार्य (“श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी”–२०६१:७) अनुसार राजा द्रव्य शाहको समयमा इस्माबाट नारायणदास अर्ज्याल, अर्घाबाट सर्वेश्वर खनाल र कुमाउँबाट गणेश पाँडे र भगीरथ पन्थ गोरखा आएर बसोबास शुरु गरेका थिए । यस्तै सल्यानतिरबाट केशव बोहरा र गोरखा डाँडा आसपासकै गङ्गाराम राना मगरले पनि बसोबासका लागि गोरखा रोजे । उनीहरूलाई विभिन्न जिम्मेवारी दिइँदा गणेश पाँडेले मन्त्री (काजी)को जिम्मेवारी पाए ।
दामोदर पाँडेका पुर्खा गणेश पाँडे गोरखा छोप्राकका बासिन्दा थिए । उनी छोप्राक कसरी आइपुगे भन्ने विषयमा दुईवटा मत छन् । एउटा मत अनुसार पाल्पाका राजा मणिमुकुन्द सेनको साथ लड्दै गोरखा आएका कलिला गणेश पाँडे बिरामी परेकोले पाल्पा फर्कन नसकी छोप्राकमा बसोबास गरे भन्ने छ भने अर्को मत चाहिं उनै मणिमुकुन्द सेन युद्ध गर्दै गर्दै कुमाउ पुगे । त्यहाँका राजाको सुशासन देखेर उनका मन्त्रीलाई मणिमुकुन्द सेनले पैंचो मागे । कुमाउका मन्त्रीले आफ्ना कान्छा भाइलाई पाल्पा पठाउँदा भविष्यमा कुमाउ फर्कने सम्भावना नदेखेर उनका साथ कुलदेवता पनि पठाइदिए । कुमाउबाट आएका यिनै मन्त्रीका छोरा थिए, गणेश पाँडे ।

कालान्तरमा मणिमुकुन्द सेनको राज्य टुक्रिंदा चौबिसी राज्यमा परिणत भएपछि निराश भएका कलिला गणेश पाँडे भाग्यको खोजीमा पूर्व लाग्दा गोरखाको छोप्राकको बेलबास गाउँमा आइपुगे भन्ने भनाइ पनि रहेको छ (भीमबहादुर पाँडे क्षेत्री, “राष्ट्रभक्तिको झलक”–२०४१:१–२) । उनै गणेश पाँडेका सन्तति हुन्, काजीहरू भीमराज पाँडे, कालु पाँडे, वंशराज पाँडे तथा दामोदर पाँडे आदि । पाँडे (२०४१:६३) अनुसार काजी कालु पाँडेका कान्छा छोरामध्ये दामोदर पाँडेको जन्म १८०८ मा भएको थियो । वंशराज पाँडे र रणसुर पाँडे उनका दाजुहरू हुन् ।
वि.सं. १८१४ मा भएको पहिलो कीर्तिपुरको युद्धमा भाग लिन जानुअघि काजी कालु पाँडेले आफ्ना नाबालक छोरा वंशराज पाँडेलाई राजा पृथ्वीनारायण शाहको पोल्टा (जिम्मा)मा हालेका थिए ।
पृथ्वीनारायण शाहले युद्धका क्रममा आफ्ना योग्य सैन्य अधिकारीका नाबालक छोराहरूको जिम्मा लिने गरेका थिए । यसलाई इतिहासकारहरूले “मरवट” व्यवस्था भन्ने गरेका छन् । यही व्यवस्था अन्तर्गत केहरसिंह बस्नेत, अभिमानसिंह बस्नेत, अमरसिंह थापा आदि गोरखा दरबारमा हुर्के । यस्तै आफ्ना दाजु वंशराज पाँडेसँग दामोदर पाँडे पनि गोरखा दरबारमा हुर्की पछि प्रसिद्ध योद्धाका रूपमा देखा परे । उनको शारीरिक बनोट अत्यन्तै मोटोघाटो र तन्दुरुस्त थियो । उनको पछिल्लो बसोबास भएको ठाउँ भेडासिङको नाउदेवलको जंगी साँढेलाई उनी जुरुक्क उचाल्थे भन्ने कहावत रहेको छ । पृथ्वीनारायण शाहको राज्यविस्तार अभियान चल्दा दूधकोशीपूर्वको युद्धमा उनी सक्रिय थिए । राजा प्रतापसिंह शाहको समयमा उनले “काजी” मान प्राप्त गरेका थिए (गंगा कर्माचार्य (हाडा), “सिनास जर्नल” वर्ष ३२ अङ्क २–जुलाई २००५:३०३–४) ।
इतिहासकारहरू धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठ (“शाहकालको अभिलेख” पहिलो भाग–२०३७:२२८–२९)ले उल्लेख गरेअनुसार पृथ्वीनारायण शाहको रेखदेखमा हुर्कने अवसर पाएको हुँदा समयक्रममा दामोदर पाँडे एक योग्य योद्धा भएर निस्केका थिए । उनले तिब्बत र चीनसँगको युद्धमा आफ्नो वीरता र युद्धकौशल देखाई प्रतिष्ठा कमाएका थिए । उनलाई नेपाल सरकारले लेखेको पत्रमा “…आज वादसाहछेउ काजि नपठाइ पुग्दैन. यो हाम्रो चित्तले पनि देष्यो. ञाहा अरु काजिहरूलाई भंदा जेठो काजि बिर्ता पाउन्या दाम्धर पाँडे जाला भन्या. तसर्थ तैले जान पर्यो. ढिल गर्या ढुंङ्गाको बिरिन्याछ. तैले तेतैबाट हिड्नुपर्ला…” भन्ने उल्लेख छ । यस पत्रमा उनलाई “अरु काजिहरूलाई भंदा जेठो काजि” भन्ने परेबाट त्यसबेला उनको व्यक्तित्व र प्रतिष्ठा कस्तो थियो भन्ने झलक पाइन्छ ।
तिब्बत र चीनसँगको युद्धमा पराक्रम
प्रतापसिंह शाहको समयमा काजी मान पाएका दामोदर पाँडेले राजेन्द्रलक्ष्मीको नायवीकालमा वि.सं. १८३९ मा अन्य सेनापतिहरूको साथ लागि लाखाजुङ्ग, रागिनास आदि २४ थाना दखल गरेका थिए । वि.सं. १८४० मा दाजु वंशराज पाँडे खोसुवामा परेर बेतिया धपाइँदा दामोदर पनि दाजुको पछि लागेका थिए भने वंशराज स्वदेश झिकाइँदा उनी पनि सँगै आए । वि.सं. १८४७ मा नेपालको सिमाना पूर्वमा टिष्टा र पश्चिममा महाकालीसम्मको विस्तारमा दामोदर पाँडेको भूमिका महत्त्वपूर्ण रह्यो (कर्माचार्य (हाडा), सन् २००५:३०४) ।
दामोदर पाँडेको प्रख्याति तिब्बत र चीनसँगको युद्धमा भएको भन्ने माथि उल्लेख भइसक्यो । त्यो बेला चीनसँग नेपालको तुलनामा असाध्यै ठूलो सङ्ख्यामा फौज थियो । सानो सङ्ख्यामा रहेको नेपाली फौजका साथ त्यस युद्धको सामना गर्ने नेपाली सेनानायकमध्येका एक थिए, उनी । अब त्यो बेलाको तिब्बत र चीनसँगको युद्ध र त्यसमा काजी दामोदर पाँडेको सहभागिताको विषयमा केही चर्चा गरौं ।
नेपाल र तिब्बत बीच पहिल्यै शुद्ध चाँदीको टक चलाउने विषयमा सम्झौता भएको थियो । तर तिब्बतले आफूहरूसँग शुद्ध चाँदी नभएकोले शुद्ध चाँदीको सिक्का ढाल्न नसकेकोले नेपालसँगको व्यापारसम्बन्ध स्थापित गर्न नसकेको सिक्किमतर्फ व्यापार मार्ग खोल्न विवश भएका हौं भन्ने कुरा गरेकोले नेपाली पक्षले त्यसो भए तत्काल ५० धार्नी सुन आफूहरूसमक्ष धरौट राख्नुपर्ने प्रस्ताव राखेपछि दुई देशबीच युद्धको अवस्था आएको थियो ।
यो युद्धमा केरुङ आक्रमणका लागि कप्तान कीर्तिमानसिंह बस्नेतको नेतृत्वमा नेपाली फौज अगाडि बढेको थियो भने चौतरिया श्रीकृष्ण शाहका साथ काजी दामोदर पाँडे आक्रमणका लागि कुतीतिर अगाडि बढेका थिए । यसरी नेपाली सेनाहरूले केरुङ र कुतीमाथि कब्जा जमाएपछि वि.सं. १८४६ साउन ७ गते केरुङमा भएको दुई पक्ष बीचको सम्झौतापछि नेपालले तिब्बतबाट वार्षिक ५० हजार रुपैयाँ हर्जाना पाउने भयो । पहिलो वर्ष यो हर्जाना बुझाए पनि अर्को वर्ष बुझाउन नआएपछि फेरि युद्धको अवस्था सिर्जना भयो (बाबुराम आचार्य, “चीन तिब्बत र नेपाल”–२०५९:१३८–४४) ।

वि.सं. १८४५ साउन महिनामा भएको यो युद्धमा दामोदर पाँडे चौतरिया श्रीकृष्ण शाहका साथ कुतीतिरको मोर्चामा सक्रिय थिए भने कप्तान कीर्तिमानसिंह बस्नेत नेतृत्वको नेपाली फौज केरुङको मोर्चामा भिडेको थियो । हिमाली क्षेत्र पार गरेर दामोदर पाँडे लड्दै भिड्दै टिङ्रीको मैदान हुँदै कुतीबाट ४० कोस जति टाढा सिगात्से पुगेका थिए । केरुङतिर बढेको नेपाली सैन्य टोली झुँगा पुगेको थियो । यो युद्धमा नेपाली पक्षको हात माथि भयो र तिब्बतसँगको वि.सं. १८४६ साउन ७ गते केरुङमा भएको सम्झौता अनुसार तिब्बतले नेपाललाई प्रत्येक वर्ष ५० हजार रुपैयाँ हर्जाना तिर्नुपर्ने सम्झौता भयो । पहिलो वर्ष शर्तअनुसार हर्जाना तिरे पनि दोस्रो वर्ष तिर्न आनाकानी गरेपछि फेरि युद्धको अवस्था आइपर्यो (आचार्य, २०५९:१३८–४४) ।
फेरि युद्धको विगुल बज्यो । वि.सं. १८४८ साउन ३० गते नेपाली सैन्य टोली उत्तरतिर लागे । झुँगातिर अभिमानसिंह बस्नेत र रणजित कुँवर बढे, बम शाह कुतीतिर लागे भने दामोदर पाँडे चाहिं दोलखाको बाटो गरी डिगर्चातिर लागे । पाँडेको टोली असोज १८ गते डिगर्चा पुग्यो । उनीहरू पुग्दा त्यहाँको मठमा पञ्चेन लामा थिएनन् ।
त्यहाँ मठ कुरिरहेकाहरूसँग दामोदर पाँडेले पुरानो सम्झौता अनुसारको हर्जाना माग गरे । धरौटीको रूपमा ५० धार्नी सुन मागे । तर मठ कुरुवाहरूले आफूहरूबाट त्यो माग पूरा हुन नसक्ने बताएपछि दामोदर पाँडेको फौजले मठभित्रको बहुमूल्य गहनाहरू, भाँडाकुँडा, मूर्तिमा जडिएका सुन, चाँदी र तामाका पाताहरू झिके ।
तीमध्ये कतिपय चीनका बादशाहले पञ्चेन लामालाई चढाएको बहुमूल्य उपहारहरू पनि थिए । यो थाहा पाएर चीन सरकार रिसायो भने त्यस क्षेत्र कब्जा भए पनि हिउँद लागेकोले हिमाल पारि टिकिरहन नेपाली फौजलाई मुस्किल हुन थाल्यो । उता पेकिङमा चीन सरकारले नेपालसँग भिड्न विशाल सैन्य तयारी गर्दै गर्दा दामोदर पाँडेले त्यो ठाउँ छाडेर स्वदेश उत्रनु नै उत्तम ठाने । पुसको कष्टकर दिनहरूमा सात सय जति नेपाली फौज डिगर्चामा रहेकोमा आधा मात्रै काठमाडौं उत्रन सफल भए (आचार्य, २०५९:१५१–५७) ।
अब तिब्बतको सहयोगका लागि नेपाल विरुद्ध चीन पनि युद्धमा ओर्लियो । चार पाँच हजार सेनाको नेतृत्व गर्दै फु वुङ थ्वाङ अगाडि बढ्दा उनीहरूले वि.सं. १८४९ असार ११ गते झुँगा, केरुङ र कुकुरघाटमा रहेका नेपाली सेनालाई घेरा दिन आइपुगे । उनीहरू केरुङ, पासिङटारबाट हटेर रसुवागढी आइपुगे । त्यहाँबाट टिमुरे, स्याफ्रुवेसी हुँदै उनीहरू धुन्चे आइपुगे ।
शत्रु सेनाको सङ्ख्या विशाल हुँदा देउराली डाँडामा बनाइएको किल्लाबाट पनि नेपाली सेना पछि हट्यो । काजी दामोदर पाँडे त्यहाँ बचेखुचेका नेपाली सेनालाई सहयोगका लागि साउन १५ गते झरीमा रुझ्दैभिझ्दै त पुगे, तर कडा मुकाविला गर्ने आँट भने गर्न सकेनन् । बरु काजी दामोदर पाँडे समेत धुन्चेभन्दा केही वर कमारेगढ र त्यहाँबाट पनि पछि हटेर धैवुङ आएर बस्न बाध्य हुँदा यता राजधानी काठमाडौंमा भने ठूलै हल्लीखल्ली मच्चियो ।

चिनियाँ सेनाले नेपाली सेनालाई धैवुङबाट चोक्देतिर दपेट्दै ल्याएपछि चिनियाँ फौजको नुवाकोट बेंसीमा प्रवेश भयो । उनीहरू राजधानी काठमाडौंमै आइपुग्न सक्ने सम्भावनालाई मध्यनजर राखेर किशोर राजा रणबहादुर शाहलाई सुरक्षाका लागि हेटौंडा लैजाने समेत तयारी चल्दै थियो । त्यस्तो अवस्थामा अन्तिम युद्धका लागि नायव राजकुमार बहादुर शाह समेत नुवाकोट पुगेका थिए । उनकै निर्देशन अनुसार तीन मुख गरेर शत्रु सेनासँग भिड्ने योजना अनुसार गेर्खुमा काजीहरू कीर्तिमानसिंह बस्नेत र देवदत्त थापा, लच्याङमा चौतरियाहरू श्रीकृष्ण शाह र बम शाहले मोर्चा सम्हाल्दा काजी दामोदर पाँडेले चोक्देको मोर्चा सम्हालेका थिए ।
उनीहरूको जोडदार प्रत्याक्रमण हुँदा र बेत्रावती नदीमा लगाएको अस्थायी साँघु पनि भाँच्चिदा चिनियाँ फौजको ठूलो क्षति भयो । त्यसपछि उनीहरू सम्झौतामा आउन बाध्य भए । यसलाई बेत्रावती सन्धि भनिन्छ (आचार्य, २०५९:१६१–६९) ।
यो युद्धमा काजी दामोदर पाँडे ठूलो पराक्रमका साथ लडेका थिए ।
जोसँग स्वामी महाराज डराए
तिरहुतिया बालविधवा ब्राह्मणी कान्तवतीसँग सशर्त विवाहपछि जन्मेका नाबालक छोरा गीर्वाणयुद्धलाई राजा घोषणा गरिसकेका र आफूले संन्यासी भएर “स्वामी” कहलाइसकेका रणबहादुर शाहले राजकाजको लोभ भने गर्न छाडेका थिएनन् । उनको यस्तो हर्कतबाट नाबालक राजालाई जोगाउन भारदारहरूलाई मुस्किल परिरहेको थियो । भर्खरै आफ्नी प्राणप्रिया रानी कान्तवतीको देहान्तले विक्षिप्त बनेका उनले अनेकौं अप्रिय कामहरू गरिरहेका थिए ।
यस्तो अवस्थामा नाबालक राजा गीर्वाणयुद्धविक्रमलाई नुवाकोट दरबार लैजाँदा रानी सुवर्णप्रभा पनि आफ्ना छोराहरूका साथ त्यहाँ पुगेकी थिइन् । उनीबाट जन्मिएका दुई छोरामध्ये चार वर्षका राजकुमार रणोद्योत शाह प्रमुख चौतारा र उनका भाइ शमशेर शाह राजाको प्रमुख सहायकमा नियुक्त गरिएका थिए (बाबुराम आचार्य, “अब यस्तो कहिल्यै नहोस्”–२०६८:२८) ।
स्वामी महाराजले अचाक्ली गर्न थालेपछि नवनियुक्त काजी कीर्तिमानसिंह बस्न्यातले फागु पर्वको बहाना बनाई वि.सं. १८५६ माघ १० गते नाबालक राजा गीर्वाणयुद्धविक्रम शाहलाई नुवाकोट दरबारमा पुर्याइदिएका थिए । विक्षिप्त अवस्थामा रहेका भूतपूर्व राजा रणबहादुर शाह भने बेलाबेलामा नुवाकोट दरबार पुगेर आफ्ना छोरालाई काठमाडौंदेखि भगाएर ल्याएको रिसमा भारदारहरूलाई अनेक किसिमले सताउँथे । यसैक्रममा सरदार अमरसिंह थापा र रणबम पाँडेलाई बेकसुर खुट्टामा बाँधी झुण्ड्याइदिए ।
परशुराम थापालाई छालामा बसाली बजारमा घिसार्न लगाए । सरदार प्रबल रानालाई उनकी श्रीमतीको पोशाक पहिर्याई बजारमा यत्रतत्र घुमाइदिएका थिए । स्वामी महाराजको यस्तो हर्कतपछि उनलाई नजरबन्दमा राखेर उपचार गराउनेबारे नुवाकोटमा छलफल हुँदा त्यहाँ कार्यरत चौतरिया बलभद्र शाह भने सहमत भएनन् । बरु उनले रणबहादुर शाहको तत्कालीन मुकाम पुल्चोकमा आएर यसबारे उनको कान भरिदिए (आचार्य, २०६८:३०–३१) ।
यसपछि रणबहादुर शाह त्याग गरिसकेको आफ्नो राज्यसत्ता फर्काउने उद्योगतिर अग्रसर भए । उनले नुवाकोटमा रहेको भारदारीलाई विघटन गरेर मुख्य चौताराका रूपमा बलभद्र शाहलाई राखेर मूलकाजीका रूपमा प्रतिमन रानालाई जिम्मेवारी दिए । उनले विदुर शाही, रणकेशर पाँडे, जहरसिंह बस्न्यात, भीमसेन थापाका बाबु अमरसिंह थापा लगायत रहेको समानान्तर भारदारी बनाए । उनले नुवाकोटमा रहेको वैध सरकार विरुद्ध विभिन्न सैन्य कम्पनीहरूलाई आफूलाई सहयोग गर्न आउन आह्वान गरी पत्राचार गरे (आचार्य, २०६८:३२–३३) ।
त्यसैबेला स्वामी महाराजको स्याहारसुसारमा व्यस्त जेठी महारानी राजराजेश्वरी पनि नुवाकोटमा रहेको वैध सरकार विरुद्ध जुर्मुराएर उठेकी थिइन् । उनले गुरुवक्स कम्पनीका सैन्यलाई आफूहरूलाई सहयोग गर्न पत्र मार्फत आह्वान गरेकी थिइन् (चित्तरञ्जन नेपाली, “श्री ५ रणबहादुर शाह”–२०७५:५०) ।
यसरी स्वामी महाराज र उनकी जेठी महारानीबाट एकातिर सैन्य मोर्चा तयार गर्दै गरेको अवस्थामा नुवाकोटमा रहेको वैध सरकार पनि चुपचाप लागेर बस्ने अवस्था रहेन । त्यताबाट पनि सैन्य कम्पनीहरूलाई आफ्नो आदेश मान्नका लागि राजा गीर्वाणयुद्धविक्रम शाहको तर्फबाट आह्वान गरियो ।
नेपाल (२०५२:८५–८६) ले प्रकाशित गरेको राजा गीर्वाणयुद्धविक्रम शाहको वि.सं. १८५७ वैशाख सुदी ५ रोज ३ मा तत्कालीन प्रभावशाली भारदारहरूको नाममा जारी गरिएको पत्रमा “एकहरा कुरामा पोलाहका आगापिछा रहन्या र जिउ बचाउनाका निमित्य एकाजियले हुँडोलदा येत्रो देश यो ऐश्वर्य बिग्रन्या ढप पारि आपस्मा तकरार गरी कल बढाउन्या काम नगर. यहांका सेवक पनि मेरै हुन्. ताहांको सेवक पनि मेरै हो” भन्ने उल्लेख छ ।
यसरी बाबु र छोराबीच युद्धको तयारी भइरहेको बेला काजी कीर्तिमानसिंह बस्न्यातको निर्देशन अनुसार काजी दामोदर पाँडेको नेतृत्वमा एउटा सैनिक दल नुवाकोटबाट काठमाडौंतिर प्रस्थान गर्यो । यो सैनिक दल बालाजुनजिक मुड्खुसम्म आइपुगेको समाचार पाएपछि स्वामी महाराज अत्तालिए । उनी यति धेरै आत्तिए कि आफ्नी रानी राजराजेश्वरीलाई अलपत्र छाडी वि.सं. १८५७ वैशाख ३० गते बनारसतिर पलायन भए (आचार्य, २०६८:३३–३४) ।
काजी दामोदर पाँडेले त्यसबेला वैध राजाको पक्षमा लागेर नेपालको राजपरम्परालाई जोगाउन खटिएको सैन्य टोलीको नेतृत्व गरेका थिए । उनी स्वामी महाराज रणबहादुर शाहले निर्माण गरेको समानान्तर सत्ता विरुद्ध लड्ने फौजको नेतृत्व गर्दै नुवाकोटबाट अगाडि बढेका थिए ।
दामोदर पाँडेको मुख्तियारी
स्वामी महाराज रणबहादुर शाहको बनारस पलायनपछि नाबालक राजाको संरक्षकको हैसियतले माहिली रानी सुवर्णप्रभा देशको हर्ताकर्ता बनिन् । मूलकाजीको रूपमा कीर्तिमान बस्नेत सक्रिय थिए । तर भारदारी षडयन्त्रमा परी बस्नेत काटिए ।
यो काण्डमा परी केही भारदारहरू मारिए । बस्नेतको मरणमा दामोदर पाँडेको पनि हात भएको कुरा उठ्दा उनले जनै छोएर धर्म भाकेपछि त्यो काण्डमा सफाइ पाएका थिए (नेपाल, २०५२:४९) । त्यसपछि रानीले कीर्तिमानकै भाइ बख्तावरसिंह बस्नेतलाई मूलकाजी घोषणा गरिन् । रानी सुवर्णप्रभाको नायवीकालभर दामोदर पाँडेको भूमिका र व्यक्तित्व ओझेलमा पर्न गयो ।
उता बनारस पलायन भएर गएका स्वामी महाराजको हर्कतबाट वाक्क भएर जेठी महारानी राजराजेश्वरीको स्वदेश प्रत्यागमन भयो । उनी वि.सं. १८५८ को हिउँदमा नेपाल फर्कंदा सुवर्णप्रभाले उनलाई रोक्न खोजेकी थिइन् । तर उनी जबरजस्ती राजधानी आइपुग्दा काजी दामोदर पाँडेको नेतृत्वमा गएको भारदारहरूले सिन्दुरजात्रा गर्दै उनलाई राजधानी भित्र्याए । रानी सुवर्णप्रभालाई कैद गरियो । त्यसपछि मूलकाजीका रूपमा दामोदर पाँडे शक्तिमा आए ।

रानी राजराजेश्वरीले नायवी लिएर शासनभार सम्हाल्न थाल्दा आफूलाई बाटो छेक्न जाने सुवेदारलगायत ६५ जना पक्राउ गर्दा रानीले उनीहरूलाई काट्न आदेश दिइन्, तर दामोदर पाँडेले त्यसो गर्न मानेनन् । बरु “मानिस काट्नुहुँदैन थुनिराखे कालान्तरमा काम लाग्लान्” भनेर रानीलाई सम्झाए (नेपाल, २०५२:५२–५३) । यसले पनि काजी दामोदर पाँडेमा रहेको देशभक्ति र दूरदर्शिता स्पष्ट रूपमा प्रमाणित गर्छ ।
तर स्वामी महाराज रणबहादुर शाहले भने दामोदर पाँडेलाई आफ्नो आँखाको कसिङ्गर झैं सम्झिरहेका थिए । उनले बनारसबाट वि.सं. १८५८ फागुन शुक्ल ३ आइतबार आफ्ना सौतेला भाइ शेरबहादुर शाहीलाई लेखेको पत्रमा “घा बन्दोवस्त त निहुँ मात्रै छ मिश्र र दाम्या ता श्री कृष्ण्यालाई बोकी नेपाली ली जाइ राजा थाप्नलाइ एकत्व भइरह्या छन्” (नेपाली, २०७५:१२४–२५) भन्ने परेको छ । यसमा मिश्र भन्नाले गुरु गजराज मिश्र हुन् भने दाम्या भनेका काजी दामोदर पाँडे । यी दुई मिलेर श्री कृष्ण्या अर्थात् चौतरिया श्रीकृष्ण शाहलाई राजा बनाउन लागेको भन्दै आफ्ना सौतेला भाइ शेरबहादुर शाहीलाई हात लिने आशय उक्त अभिव्यक्तिबाट बुझ्न सकिन्छ ।
चौतरिया श्रीकृष्ण शाह र राजगुरु गजराज मिश्र पहिल्यैदेखि राजा रणबहादुर शाहको गतिविधिदेखि सन्तुष्ट थिएनन् । कान्छी रानी कान्तवतीबाट जन्मेका छोरालाई राजगद्दी दिने रणबहादुर शाहको निर्णयमा त्यसबेलाका सबै भारदारहरू सहमति भई धर्मपत्रमा सही हाल्दा राजगुरु गजराज मिश्रले सही हालेनन् (बज्राचार्य र श्रेष्ठ, २०३७:२६७) । चौतरिया श्रीकृष्ण शाह पनि उक्त धर्मपत्रमा सही नहाल्नेमा पर्छन् । त्यसैले यी दुई जनाप्रति रणबहादुर शाह जहिल्यै पनि सशङ्कित रहन्थे ।
देशभक्त काजीको अमानुषिक हत्या
उता मोजमस्तीले गर्दा ऋणमा चुर्लुम्म डुबेका स्वामी महाराज रणबहादुर शाह बनारसबाट नेपाल फर्कंदै थिए । रानी राजराजेश्वरी र दामोदर पाँडेले बरु उतै खर्चको व्यवस्था गरेर उनलाई यथासम्भव उतै रोकी राख्ने प्रयास गरेका थिए । तर उनी जबरजस्ती स्वदेश फर्कंदै थिए । त्यस्तो अवस्थामा उनलाई आदरपूर्वक स्वागतसत्कार गरेर नजरबन्द गरी काठमाडौं शहर भित्र्याउने योजना थियो । त्यसबेलाको प्रचलित परम्परा अनुसार स्वामी वा संन्यासी भइसकेका व्यक्तिले राजभवनभित्र प्रवेश गर्न हुँदैनथ्यो ।
त्यसैले उनका लागि शहरभन्दा बाहिर लमडी (भद्रकाली) मन्दिरको नजिक टुँडिखेलको मैदानमा पाल टाँगेर राख्ने र पछि आपसी सरसल्लाह अनुसार उनलाई उपयुक्त ठाउँमा राख्ने सरसल्लाह पनि हुँदैथियो । यी सबै योजना महारानी राजराजेश्वरीले बनाएकी थिइन् ।
उनलाई वैधानिक बालक राजा गीर्वाणयुद्धविक्रम शाहप्रति बफादार मूलकाजी दामोदर पाँडेले साथ दिएका थिए । रणबहादुर शाहको सुरक्षाका लागि काजी नरसिंह गुरुङका साथ एक सैनिक दल खटाइएको थियो । तर रणबहादुर शाहका अनन्य सहयोगी भीमसेन थापाले नरसिंह गुरुङलाई आफ्नो पक्षमा झुकाइसकेका थिए (बाबुराम आचार्य, “जनरल भीमसेन थापा: यिनको उत्थान तथा पतन”–२०६९:५०) ।
रणबहादुर शाहको निगरानीका लागि खटाइएका नरसिंह गुरुङ उनकै अङ्गरक्षकमा परिणत भइसकेको अवस्थामा वि.सं. १८६० फागुन २१ गते उनी थानकोट उत्रने कार्यक्रम थियो । उनको स्वागत गर्न त्यस दिन मूलकाजी दामोदर पाँडे आफ्ना सहयोगी भारदारहरूका साथ थानकोट पुगेका थिए । मूलकाजी पाँडेको साथमा सरदार प्रबल राना पनि थिए । रणबहादुर शाहको सवारी चलाउनका लागि एउटा सिंगारिएको हात्तीका साथ सम्मान–सलामी अर्पण गर्न कम्पू पल्टनका हतियारबन्द सैनिकहरू पनि त्यहाँ पुर्याएको थियो ।
रणबहादुर शाह थानकोट उत्रँदा निगरानीका लागि खटिइगएका काजी नरसिंह गुरुङ उल्टै स्वामी महाराजको अङ्गरक्षक भएर आइरहेको देख्दा मूलकाजी दामोदर पाँडे र यिनको प्रमुख सहयोगी सरदार प्रबल रानाले खेलको पासा पल्टिइसकेको अनुभव गरिहाले ।
तैपनि प्रचलित परम्परा अनुसार मूलकाजी पाँडे र सरदार रानाले स्वामी महाराजको पाउमा झुकेर विधिवत् साष्टाङ्ग दण्डवत् गर्दा भीमसेन थापाको पूर्वयोजना अनुसार स्वामी महाराजको हुकुमले पाँडे र रानालाई त्यतिखेरै त्यहीं गिरफ्तार गरियो । दुवै भारदारको खुट्टामा नेल, हातमा हत्कडी र गलामा गलफन्दीहरू पहिर्याए । दुवै भारदारका सहयोगीहरू त्यहींबाट यत्रतत्र पलायन भइहाले । पक्राउ परेका दुवै भारदार लुमडी मन्दिरको नजिकैको सत्तलमा कडा निगरानीका साथ राखियो (आचार्य, २०६८:४३–४४) ।
यसरी पक्राउ परी कडा निगरानीका साथ राखिएकोमा पदच्यूत सरदार प्रबल रानाले पदच्यूत काजी दामोदार पाँडेसँग भाग्ने सल्लाह गरे । तर पाँडेले भाग्न मानेनन् । पदच्यूत सरदार प्रबल राना चाहिं बिहानीपख झिसमिसेमै दिसा गर्न जाने बहाना गरी एक जना सिपाहीलाई साथमा लिई अलि पर खेततिर लाग्दा त्यहींबाट भागी बेपत्ता भए । उनलाई भगाएको आरोपमा पहरा बसेका एक जना जमादार र एक जना सिपाहीलाई भोलिपल्टै प्राणदण्ड दिइयो । काट्नुपर्ने ठहर भएका पदच्यूत काजी दामोदर पाँडेलाई अझै कठोरताका साथ राखियो (आचार्य, २०६८:४५–४६) ।
मारिनबाट ज्यान बचाउँदै भाग्ने भारदार प्रबल राना त्यहाँबाट कता पुगे त ? एक अर्जिमा “…कासिबाट रणबहादुर साहि आयो र दामोदार पांडे र प्रबल् राना सर्दार स्वामिलाई छेकन भनी गयो र सरबाहादुर साहि स्वामिका पछे भइ तिलंगालाई हुकम दिइ दामोदर पांडे प्रबल राना दुइ जनालाई थानकोटदेखि बांधि ल्यो प्रबल् राना भन्या झारा फिर्छु बहाना गरि बातोबात भागि गोरषपुर गयो…” (नेपाल, २०५२:९६–९७) भन्ने परेकोले उनी त्यहाँबाट भागेर गोरखपुर पुगेको भन्ने स्पष्ट हुन्छ ।
यदि चाहेको भए सरदार रानासँगै दामोदर पाँडे पनि भागेर आफ्नो ज्यान बचाउन सक्थे । तर उनले त्यसो गर्न चाहेनन् । देशप्रतिको भक्तिभाव र जिम्मेवारीप्रतिको इमानदारितासम्मुख उनले आफ्नो ज्यानलाई ठूलो ठानेनन् ।
नेपाल (२०५२:५७) अनुसार वि.सं. १८६० चैत सुदी २ मा लुमडी (भद्रकाली) नेर दामोदर पाँडेलाई काटियो । निरपराध हुँदाहुँदै पनि उनका दुई छोरा रणकेशर र गजकेशर पाँडे पनि काटिए । यस्तै दामोदरका पक्षधर भनिएका काजी भीम खवास, सरदार इन्द्रमान खत्री, द्वारे सर्वसिंह, सुबेदार शङ्खधर, सुवेदार मानन्धरलाई पनि खसी बोका काटेसरह काटियो । काजी भीम खवासका दुई छोरालाई उँधोमुन्टो पारेर झुण्ड्याइयो । दामोदरका दुई छोरा करवीर र रणजङ्ग पाँडेले भागेर ज्यान बचाए ।
त्यसबेला उनका छोराहरू करविर पाँडे र रणजङ्ग १४ वर्ष मुनिका थिए र दामोदरका अन्य नातिहरू पनि भाग्न सफल भएकोले येनकेन ज्यान जोगियो, तर सर्वस्वहरण भएर यिनका अबला नारीहरू सबै राजधानी काठमाडौंबाट निकालामा परे (आचार्य, २०६८:४६) ।
करविर र रणजङ्ग पनि कालगतिले मर्न पाएनन् । तीमध्ये माथवरसिंह थापा सत्तामा आएपछि भीमसेन थापाको मृत्युमाथि दोषी ठहर गरेर पाँडेहरूलाई छानी छानी काटियो । वि.सं. १८९४ मा माथवरसिंह थापाको सिफारिश र रानी राज्यलक्ष्मीको हुकुममा दुईदेखि ६२ वर्षसम्मका पाँडेखलक र उनका पक्षधरहरू ३९ जना काटिंदा दामोदर पाँडेका छोरा करवीर पाँडे पनि परे । त्यसबेला रणजङ्ग पाँडे सिकिस्त बिरामी थिए । उनलाई बेइज्जत गरेर शहर घुमाउँदै भाइबन्धुको बीभत्स लासहरू देखाइयो । नृशंसहत्याको दृश्य देखेर मूर्छा परेको केही बेरपछि उनको प्राण गरेको थियो (नेपाल, २०५२:१७१–७२) ।
यसरी एक जना देशभक्त काजीले असमयमै राजनीतिक प्रतिशोध र तत्कालीन सनकी राजाको सनकको शिकार हुनपर्यो ।
प्रतिक्रिया 4