News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को अन्तिम खेलमा भारत र वेस्ट इन्डिज भिड्दैछन्।
- सुपर–८ मा एक खेल जित र एक खेल हार भएका दुवै टोलीलाई सेमिफाइनल पुग्न यो खेल जित्नैपर्ने हुन्छ।
- भारत र वेस्ट इन्डिजबीच समग्र टी-२०आईमा भारत १९ र वेस्ट इन्डिज १० खेलमा विजयी भएका छन्।
१७ फागुन, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को अन्तिम खेलमा आज आयोजक भारत र वेस्ट इन्डिज खेल्दैछन् ।
उक्त खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा साँझ सवा ७ बजेबाट सुरु हुनेछ । सुपर–८ मा एक खेलमा जित र एक खेलमा हार बेहोरेका दुवै टोलीलाई सेमिफाइनलमा पुग्न यो खेल जित्नैपर्ने हुन्छ ।
भारत र वेस्ट इन्डिजबिच जुन टोलीले जित निकाल्छ सोही टोली सेमिफाइनलमा पुग्नेछ ।
भारत र वेस्ट इन्डिज समावेश सुपर–८ को समूह ‘वान’ बाट साउथ अफ्रिकाले यसअघि नै सेमिफाइनलमा स्थान बनाउँदा जिम्बाबे विश्वकपबाट बाहिरिसकेको छ । सेमिफाइनलमा पुगिसकेको साउथ अफ्रिका र जिम्बाबे आज दिउँसो खेल्दैछन् ।
भारत र वेस्ट इन्डिजबिचको खेलमा जित्ने टोली र रद्द भएको अवस्थामा रनरेटका आधारमा वेस्ट इन्डिज सेमिफाइनलमा पुग्नेछ । सुपर–८ मा दुवै टोली साउथ अफ्रिकासँग पराजित भएका थिए भने जिम्बाबेलाई हराएका थिए ।
भारत घरेलु मैदानको फाइदा उठाउँदै वेस्ट इन्डिजलाई हराएर सेमिफाइनलमा पुग्न चाहन्छ । वेस्ट इन्डिज पछिल्लो खेलको प्रदर्शनलाई बिर्सिएर भारतमाथि जित निकाल्दै सेमिफाइनल पुग्ने दाउमा छ ।
सुपर–८ को समूह ‘टु’ बाट इंग्ल्यान्ड र न्यूजिल्यान्ड सेमिफाइनलमा स्थान बनाउँदा सहआयोजक श्रीलंका र पाकिस्तान बाहिरिसकेका छन् ।
हेड टु हेड
भारत र वेस्ट इन्डिज पछिल्लोपटक सन् २०१६ को टी-२० विश्वकप सेमिफाइनलमा भिडेका थिए । त्यसबेला वेस्ट इन्डिजले भारतलाई हराउँदै फाइनलको यात्रा तय गरेर उपाधि नै जितेको थियो ।
त्यसअघि सन् २०१४ को विश्वकपमा पनि यी दुई टोली भिडेका थिए जहाँ भारत विजयी भएको थियो । यस्तै सन् २००९ र २०१० को टी-२० विश्वकपमा पनि वेस्ट इन्डिज नै विजयी भएको थियो ।
समग्र टी-२०आईमा भने यी दुई टोली ३० पटक आमनेसामने भएका छन् । भारत १९ तथा वेस्ट इन्डिज १० खेलमा विजयी भएको छ । एक खेल नतिजाविहीन छ ।
पछिल्लोपटक सन् २०२३ मा भएको टी-२०आई सिरिजमा वेस्ट इन्डिज ३-२ ले विजयी भएको थियो ।
प्रतिक्रिया 4