News Summary
Generated by OK AI. Editorially reviewed.- सनग जयसूर्याले टी-२० विश्वकप २०२६ पछि श्रीलंकाको पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पद छाड्ने निर्णय गरेका छन्।
- उनले विश्वकप नै आफ्नो अन्तिम जिम्मेवारी हुने निर्णय दुई महिना अगाडि नै लिएको बताए।
- उनको सम्झौता आगामी जुनसम्म रहेको छ र पद छोड्ने विषयमा एसएलसीसँग छलफल गर्ने उनले बताए।
१७ फागुन, काठमाडौं । सनग जयसूर्याले श्रीलंकाको पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पद छाड्ने निर्णय गरेका छन् । टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा शनिबार पाकिस्तानसँग पराजित भएपछि उनले यस्तो निर्णय सार्वजनिक गरेका हुन् ।
उनले अहिलेसम्म औपचारिक रूपमा श्रीलंका क्रिकेट बोर्ड (एसएलसी) लाई जानकारी दिएका छैनन् । तर विश्वकप नै आफ्नो अन्तिम जिम्मेवारी हुने निर्णय दुई महिना अगाडि नै लिएको उनले बताए ।
‘अब जिम्मेवारी अरू कसैलाई दिनु उपयुक्त हुन्छ भन्ने लाग्यो’ जयसूर्याले भने । इंग्ल्यान्डविरुद्धको शृंखलाकै क्रममा आफू लामो समय बस्ने सोचमा नरहेको संकेत गरेको उनले सम्झिए । ‘विश्वकप राम्रो नतिजासहित अन्त्य गर्न चाहन्थें, तर त्यो सम्भव भएन, त्यसमा दुःखी छु’ उनले भने ।
उनको सम्झौता आगामी जुनसम्म रहेको छ । त्यसैले उनी तुरुन्तै पद छोड्ने कि नछोड्ने भन्ने विषयमा एसएलसीसँग छलफल गर्ने उनले बताए । मार्च १३ देखि अफगानिस्तानसँग शृंखला तय भए पनि मध्यपूर्वको तनावका कारण त्यो शृंखला अनिश्चित छ ।
जयसूर्या २०२४ टी–२० विश्वकपपछि मुख्य प्रशिक्षक बनेका थिए । उनको सुरुआती कार्यकाल सफल मानिन्छ । २०२४ अगस्टमा श्रीलंकाले भारतविरुद्ध २७ वर्षपछि एकदिवसीय शृंखला जितेको थियो । त्यसपछि द ओभलमा टेस्ट जित्दै न्युजिल्यान्डलाई घरेलु मैदानमा २–० ले पराजित गरेको थियो ।
उनका अनुसार उनले टोलीलाई कमजोर अवस्थाबाट माथि उठाए । एकदिवसीयमा श्रीलंका आठौं–नवौं स्थानमा थियो र च्याम्पियन्स ट्रफीका लागि छनोट पनि हुन सकेको थिएन । पछि टोली चौथो स्थानसम्म उक्लियो । टेस्ट टोली छैटौं र टी–२० टोली पनि सुधारिएको उनले बताए ।
तर पछिल्लो वर्ष टी–२० मा भने टोलीले निराशाजनक प्रदर्शन गर्यो । घरेलु मैदानमा भएको टी–२० विश्वकपमा लगातार चार हार बेहोर्दै बाहिरिनु मुख्य असफलता बन्यो । साथै २०२५ एसिया कप र पाकिस्तानमा भएको त्रिकोणात्मक टी–२० शृंखलामा पनि अपेक्षित नतिजा आएन ।
मुख्य प्रशिक्षक बन्नुअघि जयसूर्या दुई पटक श्रीलंकाको प्रमुख छनोटकर्ता पनि भइसकेका थिए ।
-क्रिकइन्फोबाट
प्रतिक्रिया 4