१९ फागुन, काठमाडौं । सरकारले पश्चिम एसियामा रहेका नेपालीहरू सुरक्षित रहेको जनाएको छ । साउदी अरेबिया, यूएई, कतार, कुवेत, ओमान, बहराइन लगायतका देशमा रहेका नेपालीहरू हालसम्मको अवस्थामा सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको हो ।
परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको जनाएको हो । मन्त्रालयले त्यहाँ रहेका नेपालीको सुरक्षा अवस्थाबारे सम्बन्धित देशमा रहेका नेपाली दूतावास तथा नियोगहरूले दिएको प्रतिवेदनका आधारमा परराष्ट्र मन्त्रालयले सुरक्षित रहेको जनाएको हो ।
मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख सहसचिव रामकाजी खड्काले पश्चिम एसिया क्षेत्र नेपालका लागि कूटनीतिक र श्रम आप्रवासनका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको बताउँदै त्यहाँ रहेका अधिकांश नेपाली हालसम्म सुरक्षित रहेको बताए ।
ती मुलुकका सरकारहरूले विदेशी नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको प्रतिवेदन नेपाली नियोगहरूबाट प्राप्त भएको उनले बताए ।
इमर्जेन्सी रेस्पोन्स टिम गठन
सहसचिव खड्काका अनुसार परराष्ट्रमन्त्रीस्तरको निर्णयबाट परराष्ट्र सचिवको संयोजकत्वमा ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन गरिएको छ । उक्त टिममा गृह, अर्थ, कानुन, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग, कन्सुलर सेवा विभाग तथा नेपाल नागरिक उड्डयन प्राधिकरणलगायत निकायका प्रतिनिधि रहनेछन् ।
पश्चिम एसियास्थित १० वटा नेपाली नियोगहरू तेल अवीव, दोहा, रियाद, अबुधाबी, मनामा, कुवेत सिटी, मस्कट, कायरो तथा जेद्दा र दुबईस्थित महावाणिज्य दूतावासबाट नियमित ‘सिचुएसन एनालाइसिस रिपोर्ट’ पठाउन निर्देशन दिइएको र सोही आधारमा मन्त्रालयले समन्वय गरिरहेको उनको भनाइ छ ।
इजरायलमा रहेको नेपाली राजदूतावासले दिएको रिपोर्ट अनुसार हालसम्म सबै नेपालै सुरक्षित अवस्थामा रहेको सहसचिव खड्काले बताए ।
हाल इजयरालयमा कुनै नयाँ आक्रमण नभएको र साइरन नबजेका कारण अवस्था तुलनात्मक रूपमा शान्त रहेको जानकारी दूतावासले दिएको छ । नेपालीहरू सुरक्षित छन् र राजदूतावाससँग नियमित सम्पर्कमा छन् ।
हालसम्म तेल अवीव र जेरुसेलम नजिक बेथ सेमेस क्षेत्रमा गरी ११ जनाको मृत्यु र ५८ जना घाइते भएको प्रतिवेदन प्राप्त भए पनि नेपालीहरू प्रभावित भएका छैनन् ।
त्यस्तै नेपाली राजदूतावास दोहा कतारका अनुसार नेपालीहरू सुरक्षित छन् । कतारको हवाई क्षेत्र बन्द रहेकाले ट्रान्जिटमा रहेका नेपालीहरूलाई सम्बन्धित एयरलाइन्सले होटलमा राखेको छ । राजदूतावासले सूचना जारी गरी सतर्क रहन आग्रह गरेको छ ।
त्यस्तै साउदी अरेबियामा रहेको नेपाली राजदूतावास रियादका अनुुसार पूर्वी क्षेत्रको रास तनुरा रिफाइनरीमा ड्रोन आक्रमण भएपनि सानो आगलागी नियन्त्रणमा आइसकेको छ । रियादस्थित कूटनीतिक क्षेत्रमा अमेरिकी दूतावास परिसरमा दुई ड्रोन खसेर सामान्य क्षति भएको छ । विदेशी नागरिकलाई लक्षित गरी विशेष एड्भाइजरी जारी नभएको र जनजीवन सामान्य रहेको प्रतिवेदनमा उल्लेख छ ।
जेद्दास्थित नेपाली महावाणिज्य दूतावास जेद्दाका अनुसार उमरा गर्न गएका ३६ जना नेपाली तीर्थयात्रीको उडान रद्द भएको छ । नेपाल फर्किने वैकल्पिक उपायबारे एयरलाइन्स र ट्राभल एजेन्सीसँग समन्वय भइरहेको सहसचिव खड्काले बताए ।
संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा रहेको नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयलाई दिएको रिपोर्ट अनुसार यूएईमा आवासीय क्षेत्रसम्म आक्रमण भएको छ । उक्त घटनामा एक नेपालीसहित तीन विदेशी नागरिकको मृत्यु भएको पुष्टि भएको थियो । गोरखाका दिवस श्रेष्ठको मृत्यु भएको थियो । उनको शव स्वदेश फर्काउने प्रक्रिया परिस्थिति सहज भएपछि अघि बढाइने जनाइएको सहसचिव खड्काले बताए ।
नेपाली महावाणिज्य दूतावास दुबईका अनुसार एयर अरेबिया र फ्लाई दुबईमार्फत ट्रान्जिटमा रहेका करिब १०० भन्दा बढी नेपाली होटलमा राखिएका छन् । दूतावासले उनीहरूलाई प्राथमिकतामा राखी समन्वय गरिरहेको छ ।
त्यस्तै नेपाली राजदूतावास कुवेत सिटीका अनुसार कुवेत र इराक दुवै देशमा मिसाइल तथा ड्रोन आक्रमण भएका छन् । केही अन्तर्राष्ट्रिय विमानस्थल र एयरबेस अस्थायी रूपमा बन्द गरिएका छन् । अर्बिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत १५० नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ । कुवेत ट्रान्जिटमार्फत गएका करिब ९० नेपाली होटलमा छन् । नेपालीहरू घाइते वा मृतकमा परेका छैनन् ।
त्यस्तै नेपाली राजदूतावास मस्कटका अनुसार ओमनमा प्रत्यक्ष ठूलो प्रभाव नपरे पनि सतर्कता अपनाइएको छ । एक भारतीय नागरिकको मृत्यु र पाँच जना घाइते भएको जानकारी प्राप्त भएको छ । नेपालीहरू सुरक्षित छन् रहेको सहसचिव खड्काले बताए ।
जोर्डन र लेबनानमा समेत नेपालीहरू सुरक्षित नै रहेको जानकारी नेपाली राजदूतावास कायरोले जनाएको छ । जोर्डनमा करिब तीन हजार नेपाली छन् र हालसम्म आपत्कालीन सहयोगको माग आएको छैन ।
सहसचिव खड्काले नेपाली नागरिकको उद्धार वा आपत्कालीन सहायताका लागि विवरण संकलन गर्न कन्सुलर सेवा विभागले अनलाइन रजिस्ट्रेसन प्लेटफर्म तयार गरेको बताए । आवश्यकता परे स्वदेश फिर्ती तथा अन्य सहयोगका लागि मन्त्रालयले समन्वयकारी भूमिका निर्वाह गर्ने उनले स्पष्ट पारे ।
प्रतिक्रिया 4