अमेरिकी दूतावासका कर्मचारीले मतदान केन्द्र कब्जा गरेको दावीसहितको एउटा भिडियो निर्वाचनको दिन सामाजिक सञ्जालमा भाइरल भएको छ।
तर नेपाल फ्याक्ट चेकले गरेको तथ्यजाँचमा उक्त दावी भ्रामक रहेको पुष्टि भएको छ। भिडियोमा देखिएका व्यक्तिहरू अमेरिकी दूतावासका कर्मचारी नभई निर्वाचन पर्यवेक्षक रहेको पाइएको छ।
दावी के छ ?
फेसबुकको प्रोफाइल पिक्चर मै हलो चिह्नमा भोट हाल्न आह्वान भएको फोटो राखेका ६५ हजार फलोअर्स रहेका अरुण नेपाली लुँइटेलले ‘अमेरिकन दूतावासको कर्मचारीद्वारा बिहानैदेखि बुथ कब्जा… यस्तो पनि हुन्छ ?????’ क्याप्सन राखेर एउटा भिडियो अपलोड गरेका छन्।
भिडियोमा उनले ‘ललितपुर भैँसेपाटीमा एकैछिन आउँदाको दृश्य हेर्नुस्, यहाँको बुथको उद्घाटन पनि हाम्रो अमेरिकन एम्बेसीद्वारा भएको छ’ भन्दै वडा नम्बर २५ जन उदय मा विको मतदान केन्द्रको दृश्य देखाएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुस्।
भिडियोमा निलो नम्बर प्लेटको गाडीसमेत देख्न सकिन्छ।
उनले भिडियोमा अगाडि थपेका छन्, ‘यो चुनाव नेपाली जनताको लागि हो कि, यो चाहीँ अमेरिकन एम्बेसी, दुतावास आएर घेरेर कार्यक्रम गर्ने हो त ? न अमेरिकन एम्बेसीले भोट हाल्न पाउँछ, न आज अमेरिकन एम्बेसी यसरी बस्न पाउँछ हेर्नुस्।’
भिडियोमा देखिने एक व्यक्ति भन्छन्, ‘हामी भोटरलाई भन्दा अमेरिकन एम्बेसीलाई चासो रैछ।”
यो तथ्यजाँच गर्दासम्म (भिडियो पोस्ट भएको करिब एक घण्टामै) उक्त भिडियो १ लाख ७५ हजार जनाले हेरिसकेका छन भने १ हजार ४ सय रियाक्शन, ३१३ कमेन्ट र दुई हजार पटक सेयर गरिएको छ।
तुरुन्तै भाइरल भएको विषय र हामीलाई तथ्य जाँचको अनुरोध पनि आएकोले हामीले यसको तथ्य जाँच गर्ने निर्णय गर्यौँ।
तथ्य के हो ?
यो विषयमा तथ्यजाँच गर्नका लागि हामीले ललितपुर जिल्ला प्रहरी कार्यलयका एसएसपी होबिन्द्र बोगटीलाई सोध्यौँ। उनका अनुसार, उक्त मतदान केन्द्रमा गएका अमेरिकी पर्यवेक्षक हुन्। उनीहरुले निर्वाचन आयोगबाट निर्वाचनको पर्यवेक्षण गर्नका लागि अनुमति लिएका छन्। उनीहरु बिहान साढे ६ बजे नै भैँसेपाटी पुगेका थिए।
“उनीहरु जहाँसम्म जान पाउँछन्, त्यहाँसम्म गएका हुन्, बुथ कब्जा लगायत अनाधिकृत केही भएको छैन, अहिले मतदान सुरु भइसकेको छ” एसएसपी बोगटीले भने ।
हामीले थप बुझ्नका लागि निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई सोध्यौँ। उनले निर्वाचन पर्यवेक्षणको लागि अमेरिकी मात्र नभएर चीन, भारत, रुस लगायत ३४ देशको राजदूतावासलाई अनुमति दिइएको बताए ।
उनले भने, ‘निर्वाचनको बेला विदेशी पर्यवेक्षकहरुले पर्यवेक्षण गर्न पाउँछन्, उनीहरुलाई मतदान केन्द्रको निश्चित घेरासम्म जान अनुमति दिइएको हुन्छ, बुथ कब्जा लगायतका काम सम्भव हुँदैन” उनले भने।
उनीहरुले पर्यवेक्षण गरेको आधारमा नेपालको निर्वाचन कति स्वच्छ र शान्तिपूर्ण भयो भनेर प्रतिवेदन समेत दिने बताए। यस्तो पर्यवेक्षण यसअघिका चुनावहरुमा पनि हुने गरेको उनले बताए।
तथ्य के हो ?
दावी : अमेरिकन दुतावासको कर्मचारीद्वारा बुथ कब्जा।
दावीकर्ता : अरुण नेपाली लुइँटेल नामक फेसबुक प्रयोगकर्ता।
तथ्य जाँच : भ्रामक सूचना। भिडियोमा देखिएका व्यक्तिहरू अमेरिकी दूतावासका कर्मचारी नभई निर्वाचन आयोगको अनुमति लिएर आएका अन्तर्राष्ट्रिय पर्यवेक्षक हुन्। प्रहरीले पनि उक्त मतदान केन्द्रमा बुथ कब्जा जस्तो कुनै घटना नभएको जनाएको छ। त्यसैले सामाजिक सञ्जालमा फैलाइएको दावी तथ्यसँग मेल खाँदैन।
प्रतिक्रिया 4