२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसले मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको बताएका छन् ।
सभापति गगनकुमार थापाले मतदान सम्पन्न भएपछि विज्ञप्ति जारी गरेर निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्णलाई पार्टीका तर्फबाट उच्च सम्मानसहित कृतज्ञता व्यक्त गरेका छन् ।
‘यहाँहरूको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति तपाईंहरुको गहिरो विश्वासलाई पुष्टि गरेको छ भने अर्कातर्फ राजनीतिक दलहरू र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको छ,’ उनले भनेका छन् ।
सभापति थापाले केही निर्वाचन क्षेत्रमा भएका केही घटनाबाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएको भन्दै सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन् ।
‘निर्वाचन सफल बनाउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण सुरक्षा निकायप्रति हार्दिक आभार र बधाई प्रकट गर्दछौं,’ उनले भनेका छन्, ‘साथै, निर्वाचनमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नु भएका राजनीतिक दलहरू, सञ्चारकर्मी मित्रहरू तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
प्रतिक्रिया 4