+
+
Shares

गोरखामा करिब ५० प्रतिशत मत खस्यो

उत्तरी गोरखाको २३ वटा मतदान केन्द्रको मतपेटिका भने शुक्रबार हेलिकप्टर मार्फत ढुवानी हुने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १८:४६

२१ फागुन, गोरखा । छिटपुट घटनाबाहेक गोरखामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ४९.६४ प्रतिशत मत खसेको छ । कुल २ लाख २९ हजार ५८ मतदातामध्ये १ लाख १३ हजार ७२५ ले मात्र मतदान गरेका छन् । जसमध्ये ५८ हजार ५६२ महिला र ५५ हजार १६३ पुरुष छन् ।

२०७४ सालको निर्वाचनमा ६५.३ प्रतिशत मत खसेको थियो भने २०७९ को निर्वाचनमा ५२.७७ प्रतिशत मत खसेको कार्यालयको तथ्यांकमा छ । यो पटक त्यो भन्दा कम मत खसेको हो ।

यस पटकको निर्वाचनका लागि २२५ मतदान स्थल र ३३१ मतदान केन्द्र निर्धारण गरिएको थियो । एउटा मतदान स्थलमा तीन वटासम्म मतदान केन्द्र थिए ।

अहिले मतगणना स्थलसम्म मतपेटिका ल्याउने काम भइरहेको छ । सदरमुकाम आसपास रहेका केही मतदान केन्द्रबाट मतपेटिका समेत आइसकेको छ । गोरखा–१ को मतगणना जिल्ला समन्वय समितिको भवन र गोरखा–२ को भू तथा जलाधार व्यवस्थापन कार्यालयमा हुनेछ । तारजाली र सीसीटिभीजडित मतगणनास्थल समेत तयार भइसकेको बताइएको छ ।

उत्तरी गोरखाको २३ वटा मतदान केन्द्रको मतपेटिका भने शुक्रबार हेलिकप्टर मार्फत ढुवानी हुने छ ।

‘अन्य मतदान केन्द्रको मतपेटिका आज राति अबेरसम्म आइपुग्ला,’ कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले भने, ‘हेलिकप्टरबाट ल्याउने मतपेटिका भने भोलि मात्र ढुवानी हुन्छ ।’

दुवै निर्वाचन क्षेत्रको मतगणना एकसाथ गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन । भौगोलिक विकटताको हिसाबले गोरखा–१ भन्दा गोरखा–२ को मतपेटिकाहरू चाँडै ढुवानी हुन्छन् । निर्वाचन आयोगसँग सोधेर निर्णय गरिने मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?