News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघको निर्वाचन मिति चैत १३ गते तोकिएको छ र उम्मेदवार तथा मताधिकार प्रतिनिधिको नामावली फागुन २२ मा सार्वजनिक गरिएको छ।
- निर्वाचन समितिले दावी विरोधको अन्तिम मिति फागुन २८, पुनरावेदन निर्णय फागुन २९ र अन्तिम नामावली फागुन ३० मा प्रकाशन गर्ने जनाएको छ।
- अध्यक्ष पदमा पंकजविक्रम नेम्वाङ र दीर्घबहादुर केसीको उम्मेदवारी परेको छ भने ८७ मताधिकार प्रतिनिधिको नामावली पनि सार्वजनिक गरिएको छ।
२२ फागुन, काठमाडौं । दुई पटक मिति तोकेर पनि स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ निर्वाचन मिति तोकिएको छ ।
प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको भोलीपल्ट शुक्रबार एन्फा निर्वाचन समितिले आउने चैत १३ गते निर्वाचनको नयाँ मिति तय गरेको हो ।
एन्फाको निर्वाचन समितिले शुक्रबार एक सूचना मार्फत नयाँ निर्वाचनको मिति तोक्दै विभिन्न पदमा उम्मेदवारी दिएकाहरुको नाम समेत सार्वजनिक गरेको छ ।
यसअघि प्रतिनिध सभा निर्वाचनका कारण निर्वाचन आयोगले एन्फा निर्वाचन रोक्न निर्देश दिएपछि एन्फा निर्वाचन समितिले निर्वाचन स्थगित गरेको थियो ।
एन्फा निर्वाचन समितिले सार्वजनिक गरेको नयाँ निर्वाचन तालिका अनुसार २२ फागुन (शुक्रबार) उम्मेदवार तथा मताधिकार प्रतिनिधिहरुको नामावली प्रकाशन गर्ने उल्लेख छ । मतदानका लागि एन्फा निर्वाचन समितिले नयाँ मिति तोक्दै गएपनि उम्मेदवारी दर्ता भने पुरानै प्रक्रिया अनुसार भएको छ ।
सोही अनुसार शुक्रबार उम्मेदवारहरुको सूची र मताधिकार प्राप्त व्यक्तिहरुको सूची समेत सार्वजनिक गरिएको छ ।
एन्फा निर्वाचन समितिका सदस्य सचिव लोकेन्द्र ओलीले जारी गरेको नयाँ तालिका अनुसार उम्मेदवार तथा मताधिकार प्रतिनिधिविरुद्ध दावी विरोध गर्ने अन्तिम मिति फागुन २८, पुनरावेदन समितिको निर्णय फागुन २९, दावी विरोधको पुनरावेदनपछिको अन्तिम नामावली प्रकाशन फागुन ३० गतेलाई तय छ । त्यसपछि चैत १३ मा निर्वाचन गर्ने उल्लेख छ ।
यसअघि पुष १६ गते बसेको एन्फा केन्द्रिय कार्यसमितिले माघ २८ गते झापामा एन्फाको चुनावी साधारण सभा र निर्वाचन गर्ने निर्णय गरेको थियो ।
एन्फाकै विधान विपरित निर्वाचन मिति तोकिएको भन्दै आलोचना भयो र राष्ट्रिय खेलकुद परिषद् (राखेप) र उच्च अदालतको निर्देशन विपरित नै एन्फा निर्वाचन समितिले प्रतिक्रिया अघि बढाएको थियो ।
एन्फा उपाध्यक्ष विराट जंग शाहीले निर्वाचन रोक्न हालेको रिटमा पाटन उच्च अदालतले माघ ४ गते अन्तरिम आदेश जारी गरेपछि एन्फाको निर्वाचन पहिलो पटक स्थगित भएको थियो ।
त्यसपछि निर्वाचन सम्बन्धी मुद्दामा पाटन उच्च अदालतले माघ २७ गते त्यसअगाडिको अन्तरिम आदेश खारेज गरेको थियो र एन्फा निर्वाचन समितिले मतदानको नयाँ कार्यतालिका सार्वजनिक गरेको थियो ।
त्यसपछि एन्फा निर्वाचन समितिले फागुन २७ गतेका लागि अर्को मिति तोकिएको थियो । तर निर्वाचन आयोगको निर्देशपछि तोकिएको समयमा निर्वाचन हुन सकेन ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भएकाले एन्फाको निर्वाचनका सबै प्रक्रिया रोक्न एन्फालाई निर्देशन दिएको थियो ।
सरकारी निकायको निर्देशनलाई एन्फाले अटेर गरेपनि एन्फा कम्प्लेक्समा सुरक्षा परिचालन नै गरेपछि दोस्रो पटक एन्फा निर्वाचन समितिले निर्वाचन स्थगित गरेको थियो ।
उम्मेदवार र मदाधिकार सूची सार्वजनिक
निर्वाचनका लागि यसअघि नै उम्मेदवारी भने दर्ता भइसकेको छ । एन्फा निर्वाचन समितिले शुक्रबार उम्मेदवारीहरुको सूची समेत सार्वजनिक गरेको छ । जस अनुसार अध्यक्षमा वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङ र उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार) दुई जनाको उम्मेदवारी परेको छ ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्षद्धय दावा लामा र दीपक खतिवडा तथा एनआरटी क्लबका अध्यक्ष सुन्दरनरसिंह जोशीको उम्मेदवारी दिएका छन् ।
यस्तै ४ उपाध्यक्ष पदका लागि १० जनाको उम्मेदवारी परेको छ । जसमा एन्फाको वर्तमान कार्यसमितिका सदस्यहरु विकासनारायण श्रेष्ठ, मनिष जोशी, अनिल मल्ल, पेमा डोल्मा लामा, महेन्द्र क्षत्रीले उम्मेदवारी दिएका छन् । यस्तै उपाध्यक्षमै फ्रेन्ड्स क्लबका अध्यक्ष विश्वासविक्रम शाह, मछिन्द्रका अध्यक्ष अनिल श्रेष्ठ, सरस्वती क्लबका अध्यक्ष उत्तमराज भण्डारी, मनाङ मर्स्याङ्दीका अध्यक्ष विजय घले र कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेशबहादुर चन्द छन् ।
यसैगरी १३ सदस्य पदका लागि २८ जनाको उम्मेदवारी परेको छ । प्रविण सुवाल, पुरुषोत्तम थापा, भोजराज शाही, मणीराज बिष्ट, दीपेन्द्र धिमाल, प्रविण यादव, प्रमोद मानन्धर, भरत बुढा थापा, टिकाराम लामा, सागर मैनाली, निरजबहादुर राउत, जयकृष्ण श्रेष्ठ, रमेश ब्यन्जनकार, सत्यभक्त पालिखे, राजु ह्याजु, लोकेन्द्र गुरुङ, कपिल रानामगर, सेतबहादुर पुन, बाबुकाजी बस्नेत, सञ्जिव बुढाथोकी, कल्याणकुमार खड्का, विनोद गुरुङ, केशवकुमार कार्की, देवनारायण चित्रकार, भगवानबहादुर दर्लामी, ठाकुर सुस्लिङ, मणीकुमार लिम्बु र सञ्जित धिताल छन् ।
त्यस्तै २ महिला सदस्यका लागि वर्तमान केन्द्रिय सदस्य समेत रहेकी सरिला श्रेष्ठ मलेकुसहित विन्द्रा देवान, कमला हिराचन र लिलामाया थापा छन् ।
एन्फा निर्वाचन समितिले एन्फा सदस्यहरुबाट मदाधिकार प्राप्तत ८७ जनाको नाम पनि सार्वजनिक गरेको छ ।
एन्फाको सदस्य रहेको जिल्ला फुटबल संघ, तीन डिभिजन क्लब, खेलाडी, महिला, रेफ्री र प्रशिक्षक संघबाट मताधिकार पाउनेको नाम सार्वजनिक गरिएको हो ।
जसमा ४५ जिल्ला संघ, ए डिभिजनका १४ क्लब, बी डिभिजनका ११ क्लब, सी डिभिजनका ९ क्लब, एन्फा प्रेसिडेन्ट कपको सेमिफाइनल पुगेका ४ क्लब, एन्फा अन्तर्गत खेलाडी, प्रशिक्षक, रेफ्री र महिला गरी ४ संघले मताधिकार पाएका छन् ।
प्रतिक्रिया 4