News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल ओलम्पिक कमिटीले २०औं एसियाली खेलकुदको प्रवर्धनका लागि फागुन ३० गते ‘एसियन गेम्स फन रन’ आयोजना गर्ने जनाएको छ।
- फन रनको दूरी करीब तीन किलोमिटर रहेको छ र पाटन दरबार स्क्वायरमा पुगेर समापन हुनेछ।
- फन रनमा खेलाडी, विद्यार्थी, सञ्चारकर्मी, ओलम्पियन, खेल संघसंस्था, कुटनीतिक व्यक्तित्व र सुरक्षा फौजका प्रतिनिधि गरी करीब एक हजारले सहभागिता जनाउने अपेक्षा गरिएको छ।
२२ फागुन, काठमाडौँ । २० औँ एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’ हुने भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)को कार्यक्रमअन्तर्गत ‘फन रन’ गर्न लागेको हो ।
एनओसीले यो दौड सफलतापूर्वक सञ्चालन गर्नका लागि रामकृष्ण श्रेष्ठ बोसको संयोजकत्वमा पाँच सदस्यीय एसियन गेम फन रन आयोजक समितिको गठन गरेको छ । संयोजक श्रेष्ठ बोसले एसियन गेम्सअघि एसियाको यस शीर्ष खेलकुद प्रतियोगितामा सहभागी हुने प्राय राष्ट्रले फन रन गर्ने परम्परा रहिआएको बताए । ‘हामीले पनि ओलम्पिकको भावनाअनुरुप हुने यस परम्परालाई कायम राख्न विगत तीन वर्षदेखि एसियाली खेलकुदअघि फन रनको आयोजना गर्दै आएका छौँ ।’
यसअघि, एनओसीले सन् २०१८ मा भएको जाकार्ता–पालेमबाङ एसियाड र पछिल्लो ह्वाङजाउ एसियाडको प्रचारप्रसारस्वरुप फन रनको आयोजना गरेको थियो ।
फन रन फागुन ३० गते शनिबार बिहान ७:३० बजे सुरु हुने एनओसीले जनाएको छ । एनओसी भवनको प्राङगणमा एक कार्यक्रमबिच सुरु हुने फन रन पाटन दरबार स्क्वायरमा पुगेर समापन हुनेछ ।
संयोजक श्रेष्ठ बोसले करीब तीन किलोमिटरको सो फन रन दुरीमा सहभागीहरुले पाटनका सम्पदा क्षेत्रको अवलोकन पनि गर्ने बताए । सो फन रनमा खेलाडी, विद्यार्थी, सञ्चारकर्मी, ओलम्पियन, खेल संघसंस्था, कुटनीतिक व्यक्तित्व, सुरक्षा फौजका प्रतिनिधि गरी करीब एक हजारको सहभागिता रहने अपेक्षा गरेको संयोजक श्रेष्ठ बोसले बताए ।
सो फन रनमा आइची नागोया एसियन गेम्सको आयोजक कमिटका प्रतिनिधि, ओलम्पिक काउन्सिल अफ एसियाका प्रतिनिधिका साथै नेपालका लागि जापानी राजदूतको पनि सहभागिता रहने संयोजक श्रेष्ठ बोसले जानकारी दिए ।
२०औं एसियाली खेलकुद जापानको आइची नागोया शहरमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म हुँदैछ । २०औँ एसियाली खेलकुद लागि नेपालबाट एनओसीले ३२ खेल दर्ता गरिसकेको छ ।
प्रतिक्रिया 4