२२ फागुन, सुर्खेत । कालिकोटबाट लगातार तीन पटक चुनाव जितेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता महेन्द्रबहादुर शाहीले यो पटक फेरि जित्लान् भन्ने अनुमान कमैको थियो । कारण थियो– पुराना सहकर्मी खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ।
प्रकाण्ड १८ वर्षपछि संसदीय निर्वाचनमा होमिनु र पटक-पटक चुनाव जित्दा कालिकोटले के पायो ? भन्ने विपक्षीको कडा प्रश्न तेर्सिँदा शाही दबाबमा थिए ।
तर यो बिचबाट पनि शाहीले शानदार जित निकाले । उनका प्रमुख प्रतिस्पर्धी ठानिएका प्रकाण्ड चौथो स्थानमै रहे । शाहीले ११ हजार ३३८ मत प्राप्त ल्याएर विजयी हुँदा प्रकाण्डले जम्मा ४ हजार ५९९ मत प्राप्त गरे ।
शाहीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नगिन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका हर्षबहादुर बमले ७ हजार १३२ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश न्यौपानेले दुई हजार ९३७ मत प्राप्त गरेका छन् ।
कालिकोटमा लगातार ‘माओवादी’ वर्चस्व
०६० को दशकदेखि कालिकोटमा माओवादीको वर्चस्व रह्यो । २०६४ को संविधानसभा निर्वाचनमा यो क्षेत्रबाट प्रकाण्ड भारी मतसहित विजयी भएका थिए । शाही त्यो बेला प्रकाण्डका चुनावी सहयोगी मात्रै थिए । २०६९ मा तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्टि जनाउँदै प्रकाण्डले नेत्रविक्रम चन्द ‘विप्लव’सँगै पार्टी छाडेका थिए ।
प्रकाण्डको अनुपस्थितिमा माओवादीबाट कालिकोटको नेतृत्व शाहीको काँधमा पुग्यो । त्यसपछि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा शाहीले कालिकोटबाट सहज जित निकालेका थिए । २०७४ को प्रदेश सभा निर्वाचनमा कालिकोटबाटै निर्वाचित भएर कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री हुने सौभाग्य पनि शाहीले पाएका थिए ।
यस्तो छ, राजनीतिक यात्रा ?
शाही १० वर्षे सशस्त्र संघर्षका एक कमान्डर थिए । शाहीले युद्धकालमा कालिकोटमा माओवादी संगठन विस्तारमा उल्लेख्य भूमिका निभाएका थिए । पार्टीमा ‘प्रज्वल’ उपनामले चिनिने उनी युद्धकालमा ६ नम्बर र ७ नम्बर डिभिजनको कमान्डर बनेका थिए ।
शान्ति प्रक्रियापछि २०७० मा संसदीय यात्रा थालेका उनले मुख्यमन्त्री हुने सौभाग्य पनि पाए । उनले २०७४ फागुनदेखि २०७८ सम्म मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा शाही कालिकोटबाट दोस्रो पटक संघीय संसद्मा पुगेका थिए । भलै पहिलो पटक संविधानसभा थियो । गत निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायत दलको गठबन्धनका साझा उम्मेदवार रहेका शाहीले २३ हजार ७२७ मतसहित जित निकालेका थिए ।
को हुन्, महेन्द्रबहादुर शाही ?
१५ माघ २०३३ मा पचालझरना गाउँपालिका-९ (साबिकको नानीकोट– ८ कोटिला) कालिकोटमा जन्मिएका शाहीले बडी मालिका माध्यमिक विद्यालय रास्कोटबाट एसएलसी पास गरेका छन् ।
२०४८ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका शाहीले नेकपा मसाल (एकता केन्द्र)बाट राजनीतिक यात्रा सुरु गरे । पार्टी सदस्यता लिएपछि उनी अर्धभूमिगत रूपमा गोप्य सैन्य तालिममा सहभागी हुँदै युद्धको तयारीमा जुटे ।
२०४९ मा प्रहरी वारेन्ट जारी भएका उनी २०५२ नेकपा माओवादीमा भूमिगत राजनीतिमा संलग्न भए । जनयुद्धमा होमिएका शाहीले पार्टीको संगठन र छापामारमा समानान्तर भूमिका निर्वाह गर्न थाले । कर्णाली अञ्चलमा पहिलो पटक छापामार सेनाको स्थापना भएको समयदेखि नै उनले पार्टी र सेनामा समानान्तर भूमिका खेलेका थिए ।
सशस्त्र युद्धमा सामेल भएका उनी २०५३ मा मध्यमाञ्चलको गुरिल्ला गठनमा सदस्यदेखि लडाकु जीवनमा प्रवेशका थिए । पश्चिम नेपालको बुटवलदेखि दार्चुलासम्मका आक्रमणमा जनयुद्धमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै शान्ति प्रक्रिया हुँदै सेना समायोजनसम्म सैनिक क्षेत्रमा शाही संलग्न रहेका थिए ।
माओवादीको जनमुक्ति सेनामा वार्ड कमान्डर, स्क्वाड कमान्डर, प्लाटुन कमान्डर, कम्पनी कमान्डर, बटालियन कमान्डर, बिग्रेड कमान्डर हुँदै डिभिजन कमान्डरसम्म भए । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज भए । हाल नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता हुन् ।
प्रतिक्रिया 4