+
+
Shares

जाजरकोटमा खडकले भत्काए शक्तिबहादुरको शक्ति

विद्यार्थी राजनीतिबाट उदाएका ४० वर्षीय खडकले जाजरकोटमा शक्ति बस्नेतलाई मात्र पराजय गरेनन्, नेकपाको शक्ति नै भत्काइदिए ।

यज्ञ खत्री यज्ञ खत्री
२०८२ फागुन २३ गते १९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जाजरकोटमा नेपाली कांग्रेसका खडकबहादुर बुढा नेकपा उम्मेदवार शक्तिबहादुर बस्नेतलाई २ हजार ७३५ मत अन्तरले पराजित भएका छन्।
  • खडकले २० हजार १४२ मत पाएर विजयी हुँदा बस्नेतले १७ हजार ४०७ मत प्राप्त गरेका छन् र यो क्षेत्रबाट तीन दशकपछि कांग्रेसले जित निकालेको छ।
  • खडकबहादुर बुढा २०७९ देखि नेपाली कांग्रेस जाजरकोटको कार्यवाहक सभापतिका रूपमा कार्यरत छन् र पहिलो पटक संसदीय चुनावमा होमिएका हुन्।

२३ फागुन, सुर्खेत । जाजरकोटमा नेपाली कांग्रेसका खडकबहादुर बुढा फराकिलो मतान्तरका साथ विजयी भएका छन् । उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार शक्तिबहादुर बस्नेतलाई २ हजार ७३५ मत अन्तरले पराजित गरे ।

बुढाले २० हजार १४२ मत पाएर विजयी हुँदा बस्नेतले १७ हजार ४०७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८८३ पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राघब कार्कीले २ हजार ४७१ मत पाए ।

४० वर्षीय खडक विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । उनले जाजरकोटमा केवल शक्ति बस्नेतलाई मात्र पराजय गरेनन्, नेकपाको शक्ति नै भत्काइदिए । २०७४ अघि जाजरकोटमा दुई वटा निर्वाचन क्षेत्र थिए ।

२०७० को निर्वाचनमा क्षेत्र नम्बर २ (पश्चिम जाजरकोट)बाट कांग्रेसका राजीवविक्रम शाह निर्वाचित भएका थिए । पूर्वी जाजरकोट (पहिलो क्षेत्र नम्बर १) मा भने तीन दशकदेखि कांग्रेसले प्रतिनिधिसभामा जित निकाल्न सकेको थिएन ।

यो क्षेत्रमा २०५१ सालको निर्वाचनमा कांग्रेसका झलकनाथ वाग्ले विजयी भएका थिए । २०५६ को निर्वाचनमा राप्रपाका गोविन्दविक्रम शाह विजयी भए । त्यसयता २०६४ यताका हरेक निर्वाचन माओवादीले जित्दै आएको थियो । २०६४ मा कालीबहादुर मल्ल विजयी भएका थिए । यो क्षेत्रबाट २०७० यताका सबै संसदीय चुनावमा शक्तिबहादुर बस्नेतले एकछत्र जित्दै आएका थिए ।

२०६४ समानुपातिक सांसद बनेका शक्ति २०७०, २०७४ र २०७९ को निर्वाचनमा विजयी भएका थिए । संसदीय चुनावमा ह्याट्रिक गरेका बस्नेत चौथो जितका लागि चुनावी मैदानमा थिए । उनको अपराजित यात्रालाई खडकले ‘ब्रेक’ लगाइदिएका छन् ।

चार पटक सांसद र गृहसहित चार पटक मन्त्री बनिसकेका बस्नेतले जिल्लामा अपेक्षित काम गर्न नसकेको भन्दै चर्को आलोचना खेप्दै आएका थिए । तर केन्द्रमा यत्तिको प्रभावशाली नेता नभएको भन्दै जाजरकोटीले पटक–पटक शक्तिलाई नै जिताएर पठाउने गरेका थिए ।

२०७९ को प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ बस्नेतले जिते पनि समानुपातिक मत हेर्दा माओवादीको पोजिसन तेस्रोमा सीमित थियो । सबैभन्दा धेरै समानुपातिक मत २२ हजार ९३४ कांग्रेसले पाएको थियो भने एमालेले १९ हजार ७४९ पाउँदा माओवादीले १४ हजार ४१२ मत पाएको थियो ।

गठबन्धनको जगमा कांग्रेसको समर्थन पाएका माओवादीका बस्नेतले प्रत्यक्षतर्फ ३४ हजार १५१ मतसहित निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी एमालेका नीरज आचार्यले एक्लै २५ हजार १२० मत ल्याएका थिए ।

खडकले शक्तिको अपराजित यात्रालाई ब्रेक मात्र लगाएका छैनन्, यो क्षेत्रमा तीन दशकपछि नेपाली कांग्रेसलाई पुनर्जीवन दिएका छन् । जाजरकोटमा प्रभावशाली युवा नेताको छवि बनाएका खडक पहिलो पटक संसदीय चुनावमा होमिएका हुन् । उनी जिल्लामा युवामाझ लोकप्रिय नेताको रूपमा परिचित छन् ।

को हुन्, खडकबहादुर ? 

२०४२ साल मंसिर २० गते जाजरकोटको शिवालय गाउँपालिका–९, नाहाडामा जन्मिएका खडकबहादुर बुढा पहिलो पटक संसदीय चुनावमा होमिएका हुन् । वीरेन्द्र उच्चमावि जुंगाथापाचौर जाजरकोटमा अध्ययन गर्दै गर्दा २०५३ सालमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको साधारण सदस्यता लिएर खडक विद्यार्थी राजनीतिमा जोडिएका थिए ।

१० वर्षपछि २०६३ मा उनी नेविसंघ जाजरकोट जिल्ला सचिव भए । २०६४ मा भेरी ज्ञानोदय क्याम्पस जाजरकोटको स्ववियु सभापति चुनिएका थिए । २०६७ मा नेपाली कांग्रेसको १२औँ महाधिवेशन प्रतिनिधि बनेका उनी त्यस बेला खुलातर्फ देशकै कान्छो प्रतिनिधि थिए ।

२०७३ मा १३औँ महाधिवेशनबाट नेपाली कांग्रेस जाजरकोटको जिल्ला सचिव भएका उनी २०७८ मा भएको १४औं महाधिवेशनबाट जिल्ला उपसभापतिमा निर्वाचित भए । २०७९ देखि हालसम्म नेपाली कांग्रेस जाजरकोटको कार्यवाहक सभापतिका रूपमा उनी कार्यरत छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा शिवालय गाउँपालिकाको अध्यक्षमा चुनाव लडेका खडक एमालेका नरेन्द्रकुमार शाहीसँग पराजित भएका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?