२६ फागुन, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा एक जना कृषकले व्यवसायिक रुपमै स्ट्रबेरी खेतीबाट राम्रो आम्दानी गरेका छन् ।
जिल्लामा धेरै ठाउँमा स्ट्रबेरी खेती भए पनि रेसुङ्गा–६ को सिमाघाटमा प्रेम नेपालीले व्यवसायिक रुपमा स्ट्रबेरी खेती गर्दै आएका छन् । केही वर्ष परीक्षणको रुपमा खेती गरेका नेपालीले बजार राम्रो पाएसँगै यसवर्षदेखि व्यवसायिक रुपमै खेती गर्दै आएका हुन् ।
नेपालीले स्ट्रबेरी खेतसँगै आर.एन.पी नबोदय बहुउदेश्यीय कृषि फर्म दर्ता गरेर विभिन्न तरकारी खेती गर्दै आएका छन् । स्ट्रबेरी फलफूलको रुपमा प्रयोग गरिन्छ ।
गुल्मी जिल्लामा यसको खेती कमै कृषकले गर्दै आएका छन् । नेपालीले यसवर्ष ३ रोपनी क्षेत्रफलमा स्ट्रबेरी खेती गर्दै आएका छन् ।
नेपालीले उत्पादन गरेको स्ट्रबेरी तम्घास बजारमा बिक्री हुँदै आएको छ । फागुनदेखि पाक्न सुरु गर्ने स्ट्रबेरी वैशाख अन्तिमसम्म पाक्ने गर्दछ ।
नेपालीको फर्मबाट अहिले १२ किलो स्ट्रबेरी दैनिक उत्पादन हुँदै आएको छ । स्ट्रबेरीको बजार मूल्य हाल ४ सयदेखि ५ सयसम्म बिक्री हुँने गर्दछ ।
बजार राम्रो हुँदै गए यो खेतीलाई विस्तार गर्ने सोच बनाएको उनको भनाइ छ । नेपालीले ०७३ सालबाट १८ रोपनी खेत भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् ।
तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनले अहिले १२० रोपनी क्षेत्रफलमा विभिन्न जातका तरकारी खेती गर्दै आएका छन् । परिवारका ४ जना सदस्य मिलेर तरकारी खेती सुरु गरेका नेपालीले अहिले कक्षा १२ पास गरेका छोरालाई पनि कृषि पेसामा लगाएका छन् ।
शून्य लगानीबाट सुरु गरेका नेपालीको फार्ममा अहिले ३० लाखभन्दा बढी लगानी भएको छ । नेपालीको फार्ममा हाल २६ वटाभन्दा बढी टनेल रहेका छन् ।
नेपालीको फार्मका हाल स्ट्रबेरी, लौका, फर्सी, टमाटर, काउली, बन्दा, तिते करेला, लौका, काँक्रा, साग, खुर्सानी, आलु, मकै, केराउ, बोडी, सिमी, घिरौला, माछा, फूललगायत मौसमी तथा बेमौसी खेती गर्दै आएका छन् ।
प्रतिक्रिया 4