News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरमा फागुन ३० गते काठमाडौँ वर्ल्ड स्कुलमा ‘डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता २०२६’ आयोजना हुने भएको छ।
- प्रतियोगितामा ६–८, १०–१२ र १२–१४ वर्ष उमेर समूहका करिब ५०० खेलाडी सहभागी हुने अनुमान गरिएको छ।
- प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई मेडल, शिल्ड, प्रमाणपत्र र अन्तर्राष्ट्रिय रोलर डार्बी च्याम्पियनसिप छनोटको अवसर दिइने आयोजकले बताए।
२६ फागुन, काठमाडौं । भक्तपुरमा ‘डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता २०२६’ आयोजना हुने भएको छ। प्रतियोगिता नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको समन्वय तथा सहयोगमा आयोजना गर्न लागिएको हो।
पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिता यही फागुन ३० गते (१४ मार्च २०२६) शनिबार भक्तपुरस्थित काठमाडौँ वर्ल्ड स्कुलमा हुने जानकारी दिएको छ। प्रतियोगिता डाइनामिक स्केटिङ पार्क भक्तपुर र काठमाडौँ वर्ल्ड स्कुलले संयुक्त रूपमा आयोजना गर्नेछन्।
प्रतियोगितामा देशका विभिन्न विद्यालयका खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ। ६–८ वर्ष, १०–१२ वर्ष र १२–१४ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ। करिब २०–२५ विद्यालयका झन्डै ५०० खेलाडी सहभागी हुने अनुमान गरिएको भक्तपुर जिल्ला संयोजक रोजन भासिमाले बताए।
भासियाका अनुसार प्रतियोगिता पहिलो पटक आयोजना हुन लागेकोले यस वर्ष नगद पुरस्कार भने राखिएको छैन। ‘अहिले पहिलो पटक आयोजना भएकाले क्यास प्राइज राखिएको छैन। राम्रो प्रायोजक पाए पुरस्कारको व्यवस्था गर्न सकिन्छ’ उनले भने।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको रोलर डार्बी वर्ल्ड स्केट च्याम्पियनसिपका लागि छनोट प्रक्रियामा सहभागी हुने अवसर पनि दिइने आयोजकले जनाएको छ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले विश्व स्केटको मापदण्डअनुसार प्रतियोगिता सञ्चालन गरिने बताए। ‘वर्ल्ड स्केटको गाइडलाइनअनुसार प्रतियोगिता सञ्चालन गरिनेछ। विद्यालय स्तरबाटै यो खेलको विकास गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो’ उनले भने।
उनका अनुसार रोलर डार्बी वर्ल्ड स्केट च्याम्पियनसिप आगामी अक्टोबरमा पाराग्वेमा हुने तय भएको छ। साथै संघले हरेक वर्ष स्केट, रोलर डार्बी र आइस स्केटिङ गरी तीन मुख्य प्रतियोगिता आयोजना गर्दै आएको उनले जानकारी दिए।
प्रतिक्रिया 4