News Summary
Generated by OK AI. Editorially reviewed.- भारतले अहमदाबादमा न्युजिल्यान्डलाई ९६ रनले हराउँदै लगातार दोस्रो पटक टी–२० विश्वकप २०२६ को उपाधि जितेको छ।
- आईसीसीले प्रतियोगिताको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू समेटिएको ‘टिम अफ दि टुर्नामेन्ट’ सार्वजनिक गरेको छ जसमा भारतका चार खेलाडी छन्।
- सन्जु स्यामसनलाई ‘प्लेयर अफ दि टुर्नामेन्ट’ घोषित गरिएको छ जसले पाँच खेलमा ३२१ रन बनाएर भारतको उपाधि यात्रामा निर्णायक भूमिका खेले।
२६ फागुन, काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रतियोगिताको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू समेटिएको ‘टिम अफ दि टुर्नामेन्ट’ सार्वजनिक गरेको छ।
अहमदाबादमा आइतबार भएको फाइनलमा न्युजिल्यान्डलाई ९६ रनले हराउँदै भारतले लगातार दोस्रो पटक तथा समग्रमा तेस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको थियो।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई समेटेर घोषणा गरिएको यो टोलीमा भारतका चार खेलाडी परेका छन्। टोलीको कप्तानी दक्षिण अफ्रिकाका एइडेन मार्क्रमले गर्नेछन् ।
टोली छनोटका लागि वेस्ट इन्डिजका पूर्व क्रिकेटर इयान बिशप, इंग्ल्यान्डका पूर्व कप्तान इयोन मोर्गन, प्रशिक्षक तथा कमेन्टेटर नटाली जर्मानोस, आईसीसी प्रतिनिधि गौरव सक्सेना र श्रीलंकाका वरिष्ठ खेल पत्रकार रेक्स क्लेमेन्टिन सम्मिलित छनोट समितिले निर्णय गरेको हो।
साहिबजादा फरहान (पाकिस्तान)

पाकिस्तान सुपर एट चरणमै बाहिरिए पनि साहिबजादा फरहान प्रतियोगिताभर सबैभन्दा प्रभावशाली ब्याटरमध्ये एक बने। उनले सात खेलमा ३८३ रन बनाउँदै एकै संस्करणको टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाए।
उनको औसत ७६.६० र स्ट्राइक रेट १६०.२५ थियो। उनले प्रतियोगितामा दुई शतक प्रहार गर्दै टी–२० विश्वकपको एउटै संस्करणमा दुई शतक बनाउने पहिलो ब्याटरसमेत बने। सुपर एटको अन्तिम खेलमा श्रीलंकाविरुद्ध बनाएको शतक उनका लागि विशेष बन्यो।
सन्जु सामसन (भारत, विकेटकिपर)

भारतका सन्जु स्यामसन प्रतियोगिताका ‘प्लेयर अफ दि टुर्नामेन्ट’ घोषित भए। उनले पाँच खेलमा ३२१ रन बनाउँदै भारतको उपाधि यात्रामा निर्णायक भूमिका खेले।
सुपर एटको निर्णायक खेलमा वेस्ट इन्डिजविरुद्ध अविजित ९७ रन बनाएका उनले सेमिफाइनलमा इंग्ल्यान्ड र फाइनलमा न्युजिल्यान्डविरुद्ध लगातार समान ८९ रन बनाए।
टी–२० विश्वकपमा सेमिफाइनल र फाइनल दुवैमा अर्धशतक बनाउने उनी तेस्रो ब्याटर बने।
इशान किशन (भारत)

ओपनर इशान किशनले ९ खेलमा ३१७ रन बनाए। उनको स्ट्राइक रेट १९३.२९ रहेको थियो।
पाकिस्तानविरुद्ध उनले बनाएको ४० बलमा ७७ रन प्रतियोगिताको उत्कृष्ट इनिङ्समध्ये एक रह्यो। फाइनलमा उनले ५४ रन बनाउनुका साथै दुई महत्वपूर्ण क्याच पनि लिएका थिए।
एइडेन मार्क्रम (दक्षिण अफ्रिका, कप्तान)

दक्षिण अफ्रिकाका कप्तान एइडेन मार्क्रमले आठ खेलमा २८६ रन बनाए। उनले तीन अर्धशतक प्रहार गर्दै टोलीलाई लगातार सात खेल जिताउन नेतृत्व गरे।
अहमदाबादमा न्युजिल्यान्डविरुद्ध अविजित ८६ तथा वेस्ट इन्डिजविरुद्ध अविजित ८२ रन उनको उत्कृष्ट प्रदर्शन रह्यो।
दक्षिण अफ्रिका सेमिफाइनलमा पराजित भए पनि मार्क्रमको नेतृत्व प्रशंसनीय रह्यो।
हार्दिक पान्ड्या(भारत)

अलराउन्डर हार्दिक पाण्ड्याले ९ खेलमा २१७ रन बनाउनुका साथै नौ विकेट लिए।
जिम्बाबेविरुद्ध २३ बलमा बनाएको अर्धशतकले भारतलाई २५६/४ को विशाल योगफल बनाउन मद्दत गरेको थियो, जुन प्रतियोगिताकै उच्च स्कोर बन्यो।
पाकिस्तानविरुद्ध उनले २/१६ को उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए ।
विल ज्याक्स (इंग्ल्यान्ड)

इंग्ल्यान्डका विल ज्याक्स प्रतियोगिताका उत्कृष्ट अलराउन्डरमध्ये एक रहे। उनले आठ खेलमा २२६ रन बनाउनुका साथै ९ विकेट लिए।
इटालीविरुद्ध अविजित ५३ रन उनको उत्कृष्ट इनिङ्स रह्यो। उनले चार पटक ‘प्लेयर अफ दि म्याच’ जित्दै टी–२० विश्वकपमा सबैभन्दा धेरै यो अवार्ड जित्ने खेलाडीहरूको सूचीमा स्थान बनाए।
जेसन होल्डर (वेस्ट इन्डिज)

वेस्ट इन्डिजका जेसन होल्डरले ७ खेलमा १० विकेट लिए भने १४१ रन पनि जोडे।
नेपालविरुद्ध उनले ४/२७ को उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए। भारतविरुद्ध पनि ३७ रनको अविजित इनिङ्स खेल्दै उनले आफ्नो अलराउन्ड क्षमता देखाए।
जसप्रित बुमराह (भारत)

भारतीय तीव्र बलर जसप्रित बुमराह प्रतियोगिताका संयुक्त रूपमा सर्वाधिक विकेट लिने बलर बने। उनले ८ खेलमा १४ विकेट लिए।
फाइनलमा न्युजिल्यान्डविरुद्ध ४ ओभरमा ४/१५ को बलिङ प्रदर्शन गर्दै उनी ‘प्लेयर अफ दि म्याच’ बनेका थिए । भारतको उपाधि जिताउने यात्रामा उनले महत्वपूर्ण भूमिका खेले।
लुङ्गी एन्गिडी (दक्षिण अफ्रिका)

दक्षिण अफ्रिकाका लुङ्गी एन्गिडीले ७ खेलमा १२ विकेट लिए।
क्यानडाविरुद्ध ४/३१ को बलिङ प्रदर्शनका साथ प्रतियोगिता सुरु गरेका उनले दुई पटक तीन–तीन विकेट पनि लिए। उनको स्लोअर बल र भेरिएसन निकै प्रभावकारी रह्यो।
आदिल राशिद (इंग्ल्यान्ड)

इंग्ल्यान्डका लेग स्पिनर आदिल राशिद प्रतियोगिताको ‘टिम अफ दि टुर्नामेन्ट’ मा पर्ने एकमात्र विशेषज्ञ स्पिनर हुन्।
८ खेलमा उनले १३ विकेट लिए। स्कटल्याण्डविरुद्ध ३/३६ को बलिङ प्रदर्शन नै उनको उत्कृष्ट प्रदर्शन रह्यो।
ब्लेसिङ मुजराबानी (जिम्बाबे)

जिम्बाबेका पेस बलर ब्लेसिङ मुजराबानीले ६ खेलमा १३ विकेट लिए।
अस्ट्रेलियाविरुद्ध ४/१७ को बलिङ प्रदर्शनसहित उनले जिम्बाबेलाई ऐतिहासिक जित दिलाएका थिए। प्रतियोगितामा जिम्बाबेको उत्कृष्ट प्रदर्शनमा उनको ठूलो योगदान रह्यो।
शेडली भान शाकवाइक (अमेरिका, १२औं खेलाडी)

अमेरिकाका पेस बलर शेडली भान स्काल्कवाइक १२औं खेलाडीका रूपमा टोलीमा समेटिएका छन्।
चार खेलमै १३ विकेट लिएका उनले भारत र पाकिस्तान दुवैविरुद्ध ४/२५ को बलिङसहित प्रभावशाली प्रदर्शन गरेका थिए।
प्रतिक्रिया 4