२७ फागुन, गोरखा । २०४६ सालको बहुदल यताका निर्वाचनमा आलोपालो पल्लाभारी हुँदै आएका कांग्रेस–कम्युनिस्टको गढ भत्काउन गोरखामा मुश्किल मात्र होइन असम्भव ठानिन्थ्यो । २०४८ सालको निर्वाचनदेखि २०७९ सालसम्म सत्तामा आलोपालो उनीहरुकै बर्चश्व रह्यो । तर ३४ वर्षदेखिको कांग्रेस–कम्युनिस्टको गढ यो निर्वाचनमा भत्कियो । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा रास्वपाले ‘क्लिन स्वीप’ गरेपछि कांग्रेस–कम्युनिस्टको सत्ताको बलियो जग ढल्यो ।
२०७४ सालअघि गोरखामा तीन वटा निर्वाचन क्षेत्र थिए । सबैभन्दा पहिले गोरखा क्षेत्र नम्वर १ को कुरा गरौं । २०४८, २०५१ र २०५६ सालको निर्वाचनमा कांग्रेसका चिरञ्जिवि वाग्लेको बर्चश्व रह्यो । तिन वटै निर्वाचन जितेर ह्याट्रिक गर्न सफल भए । राजतन्त्रको बहिर्गमन र लोकतन्त्रको आगमन पश्चात २०६४ सालमा भएको निर्वाचनमा कम्युनिस्टकी पार्वती थापा श्रेष्ठ विजयी बनिन् ।
२०७० र २०७४ मा कम्युनिस्टलाई नै जनताले चुने । २०७० सालमा डा. बाबुराम भट्टराई र २०७४ मा हरिराज अधिकारी निर्वाचित भएका थिए । २०७९ मा कम्युनिस्ट र कांग्रेसबीच भागबण्डा भयो । यो क्षेत्र कांग्रेसको भागमा पर्यो । गठबन्धनको सहाराले कांग्रेसका राजेन्द्र बजगाई विजयी बने ।
गोरखा क्षेत्र नम्वर २ बाट पनि हालसम्म कांग्रेस–कम्युनिस्ट नै आलोपालो सरकारमा पुगे । २०४८ सालमा कांग्रेसकी मैयादेवी श्रेष्ठ विजयी बनिन् । २०५१ र २०५६ सालको निर्वाचनमा कांग्रेसकै कमला पन्त हावी भइन् । २०६४ र २०७४ सालको निर्वाचन तत्कालिन माओवादीका डा. बाबुराम भट्टराईले जिते । २०७० सालको निर्वाचनमा माओवादीकै हितराज पाण्डे विजयी बने । २०७९ सालको निर्वाचनमा कांग्रेससँगको गठबन्धनमा प्रचण्ड निर्वाचित भए र प्रधानमन्त्री समेत बने ।
गोरखा क्षेत्र नम्वर ३ बाट पनि कांग्रेस कम्युनिस्टले आलोपालो सत्तामा बर्चश्व जमाए । २०४८ र २०५१ को निर्वाचनमा कांग्रेसका चिनकाजी श्रेष्ठ विजयी बने । २०५६ सालको निर्वाचनमा पनि कांग्रेसकै हरिलाल श्रेष्ठ उदाए । २०६४ मा तत्कालीन कम्युनिस्टका अमर तमु निर्वाचित भए । २०७० को निर्वाचन माओवादीकै छमबहादुर गुरुङले जिते । त्यसयता गोरखामा दुई वटा निर्वाचन क्षेत्र कायम भयो ।
यी चुनावी मतपरिणामले गोरखामा कांग्रेस–कम्युनिस्टको सत्ताको जग निकै बलियो देखाउँछ ।

संघीयमात्र होइन यसअघिका स्थानीय र प्रदेश तहको निर्वाचनमा पनि उनीहरु नै हावी छन् । तर यो पटक उनीहरुको सत्ताको जग डगमगायो । उनीहरुको ३४ वर्षसम्मको आलोपालो सत्ताको किल्ला ढलाउँदै दुवै निर्वाचन क्षेत्रमा रास्वपा उदय भयो । २०८२ फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा गोरखा–१ मा सुधन गुरुङ र गोरखा–२ मा कविन्द्र बुर्लाकोटी विजयी भए, त्यो पनि फराकिलो मतान्तरले ।
किन कमजोर देखिए कांग्रेस–कम्युनिस्ट ?
यसअघिका चुनावमा जनताले पटक–पटक कांग्रेस कम्युनिस्टलाई विश्वास गरे । करिव ३४ वर्ष उनीहरु आलोपालो सत्तामा पुगे । उनीहरुले चुनेर पठाएकाहरु प्रधानमन्त्री समेत बने । तर आश्वासनका ठेलीबाहेक जनताले अरु नपाएको अनुभूति गरे ।
पटक–पटक धोका खाएपछि रुष्ट भएका जनता नयाँ विकल्पको खोजीमा थिए । गुनासाका पोका फुकाउने ठाउँ खोजिरहेका नागरिकको ‘सेन्टिमेन्ट क्याच’ गर्न रास्वपाले सही समय पायो । आफ्नो चुनावी एजेण्डाभन्दा पुराना दलप्रतिको असन्तुष्टिको ठेली बोकेर गाउँगाउँ पस्यो रास्वपा । अनि सामाजिक सञ्जालमार्फत पनि अभियान चलायो ।
कानुन व्यवसायी समेत स्थानेश्वर दवाडी पुराना दलप्रति जनताको विश्वास टुट्दा रास्वपाले अवसर पाएको बताउँछन् । ‘पहिलो कुरा पुराना दलप्रतिको नागरिकको विश्वास टुट्दै गयो । जनताको अपेक्षा अनुसारको काम गर्न उनीहरुले सकेनन्,’ दवाडीले अनलाइनखबरसँग भने, ‘उनीहरुको गुनासो र असन्तुष्टिको परिणाम हो यो । नागरिकमा परिवर्तनको चाहना बढ्दै गयो । त्यो परिवर्तन पुराना नभइ नयाँबाट हुन्छ भन्ने मानसपटलमा रह्यो ।’
भुसको आगोसरी फैलिएको रास्वपाको क्रेज पुराना दलहरुले बुझ्न सकेनन् । गत निर्वाचनको मतपरिणामको अंकगणित हेर्दै जितको सपना देखिरहे । पुरानै ढर्रामा निर्वाचन प्रचारप्रसारमा होमिए । अन्तत: लज्जास्पद हार व्यहोर्न पुगे ।
जिल्लामा रास्वपाको सांगठनिक स्वरुपले ठूलो आकार लिइसकेको अवस्था छैन । यस निर्वाचनमा कांग्रेस, नेकपा (नेपाली कम्युनिस्ट पार्टी) र एमालेकै कार्यकर्ताको साथ रास्वपाले पाएको यथार्थ हो । पुराना दल छाडेर रास्वपा प्रवेश गर्नेको लर्काे थियो । पुराना दलबाट आजित जनता परिवर्तनको खोजीमा थिए । नयाँ विकल्पको खोजीमा रहेका उनीहरु यो पटक रास्वपालाई परीक्षण गर्न तयार भए । अनि ब्यालेट बक्समार्फत ढल्यो कांग्रेस–कम्युनिस्टको किल्ला ।
चुनावी परिणामलाई दलहरुले कसरी समीक्षा गरे ?

नेपाली कांग्रेसका जिल्ला सचिव किशोरजंग थापाका अनुसार पुराना ठूला दलका कारण देशमा समृद्धि र सुशासन कायम हुन सकेन भन्ने गलत भाष्य निर्माण हुनु र त्यसलाई चिर्न नसक्नु आफूहरुको कमजोरी भएको बताउँछन् । ‘जेनजी आन्दोलनको भावना समेट्न नयाँलाई नै रोज्नुपर्छ भन्ने मानसिकता मतदातामा भयो । यसका कारण वैदेशिक रोजगारमा रहेका युवा र पढ्नलाई शहर बसेका युवाहरुले मतदातालाई त्यहीअनुसार प्रभावित बनाए,’ कांग्रेस जिल्ला सचिव थापाले अनलाइनखबरसँग भने, ‘हामीले त्यसलाई चिर्न नसक्नु कमजोरी भयो ।’
यसैगरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपाने गोरखाको चुनावी परिणामलाई जनताले तिमीहरु सच्चिनुपर्छ भनेर खबरदारी गरेको रुपमा बुझ्नुपर्ने बताउँछन् ।
‘जनताले हामीलाई पुरै इगनोर त गरेनन्, ११ हजार मत सानो होइन, तर मन पराएनन्,’ न्यौपानेले अनलाइनखबरसँग भने, ‘जनताले हामीमाथि प्रश्न उठाए, तिमीहरु सच्चिनु भनेर खबरदारी गरे भन्ने एउटा बुझाइ हो मेरो ।’
उनले संगठन बलियो हुँदा मात्र चुनाव जितिन्छ भन्ने भाष्य गलत सावित भएको समेत बताए । अझै पनि सांगठनिक सुदृढीकरण र शुद्धीकरण भने आवश्यक देख्छन् उनी । ‘ठिक र बेठिकको सीमारेखा कोरेर ठिकलाई संगठित गर्दै अघि बढाउने र गलतका विरुद्ध लड्ने कल्चर पार्टीमा पनि छैन, सानो समस्या पर्दा निराश हुने, सानो असन्तुष्टिले पार्टी छाड्ने, व्यक्तिगत घच्चा लागेमा मत फेर्ने देखियो,’ न्यौपाने भन्छन्, ‘संगठनलाई सुदृढीकरण गरेर वास्तविक कार्यकर्ताको पहिचान गर्नुपर्ने आवश्यक देखियो ।’
प्रतिक्रिया 4