News Summary
Generated by OK AI. Editorially reviewed.- रेसुङ्गा नगरपालिका–७ देउराली–कमेरपानी सडक खण्डको स्तरोन्नति एवं निर्माण कार्य करिब डेढ वर्षदेखि अलपत्र परेको छ।
- ठेक्का सम्झौता अनुसार २०८२ जेठ १५ गतेसम्म सम्पन्न गर्ने भनिए पनि भौतिक प्रगति शून्य प्रतिशत छ।
- स्थानीयवासीले सडकको ढिलाइ र जोखिमपूर्ण अवस्थाबारे जिल्ला प्रशासन कार्यालय गुल्मीमा गुनासो गरेका छन्।
२८ फागुन, गुल्मी । रेसुङ्गा नगरपालिका–७ अन्तर्गत देउराली–कमेरपानी सडक खण्डमा स्तरोन्नति एवं निर्माण कार्य समयमै सम्पन्न हुन नसक्दा स्थानीयवासी मारमा परेका छन् ।
वडाकार्यालयसम्म पुग्ने यो सडक स्थानीय बासिन्दा लागि मुख्य यातायात मार्ग हो । तर, ठेक्का सम्झौता भएको लामो समयसम्म पनि ठेकेदार कम्पनीले काम पूरा नगर्दा सडक अलपत्र परेको छ । सडक निर्माण कार्य थालिएको करिब डेढ वर्ष नाघिसक्दा पनि अहिलेसम्म उल्लेखनीय प्रगति भएको छैन ।
ठेक्का सम्झौतामा तोकिएको समय सकिँदा पनि भौतिक प्रगति शून्य प्रतिशत जस्तै छ । सडक मर्मत, ग्राभेल, कालोपत्रे तथा अन्य आवश्यक संरचना निर्माण कार्य समयमै नभएकाले आवतजावत गर्ने साधन र स्थानीय समस्यामा परेका छन् ।
वर्षातको समयमा सडक हिलोले जोखिमपूर्ण बन्ने गरेको छ । आपतकालीन अवस्थामा बिरामीलाई अस्पताल लैजान पनि कठिन हुने स्थानीयवासी बताउँछन् ।
रेसुङ्गा नगरपालिका वडानम्बर–७ कावडाध्यक्ष राम्जी पन्थीले सम्बन्धित निकायसँग पटकपटक ध्यानाकर्षण गराए पनि ठेकेदार कम्पनीले चासो नदिएको गुनासो गरे । उनले तत्काल काम सम्पन्न गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराइए पनि ठोस पहल नभएको बताए ।
यसअघि सडक स्तरोन्नति भएपछि यातायात सहज हुने अपेक्षा गरिएको थियो । तर, ठेकेदार कम्पनीको ढिलासुस्ती र गैरजिम्मेवारीपनाले सडक अलपत्र भएपछि स्थानीयस्तरमा आक्रोश बढेको छ ।
जिल्ला प्रशासन कार्यालय र नगरपालिकाले पनि यस विषयमा आवश्यक पहल गर्नुपर्ने स्थानीय सन्दीप थापा बताउँछन् । धुलो, हिलो र दुर्घटनाको जोखिमसँग जुध्नुपर्ने बाध्यता बनेको उनको भनाइ छ ।
सडकको अवस्थाका कारण कृषि जन्य उत्पादित सामग्री बजार पठाउन समस्या हुने गरेको स्थानीयको भनाइ छ ।
यो सडक स्थानीय पूर्वाधार विकास कार्यालय बुटवलमार्फत निर्माण हुन लागेको हो । एसएन कन्सट्रक्सन चागुनारायण काठमाडौंले २०८१ मंसिर २४ गते सम्झौता गरेर २०८२ जेठ १५ गते सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थानीय पूर्वाधार विकास कार्यालय बुटवल इन्जिनियर रमेश भण्डारीले बताए ।
कालोपत्रे, ढलानसहित जम्मा ९३० मिटर सडक निर्माण गर्ने सम्झौता भएको थियो । तर, निर्माण व्यवसायीले हालसम्म २ सय मिटर मात्रै नाली बनाएको इन्जिनियर भण्डारीले बताए ।
सडकमा निर्माण कम्पनीले काम गर्न चासो नदेखाएकाले समय सीमाभित्र कुनै पनि काम हुन नसकेको कार्यालयले जनाएको छ । सडकको हालसम्म भौतिक र वित्तीय प्रगति शून्य रहेको भण्डारीको भनाइ छ ।
तोकिएको म्यादभित्र काम नगर्दा सडक निर्माणको लागि आगामी शीर्षकमा कुनै पनि रकम नभएकाले काम गराउन पनि समस्या रहेको कार्यालले जनाएको छ ।
ढिलासुस्तीबारे प्रशासनको ध्यानाकर्षण
केही महिनाअघि रेसुङ्गा नगरपालिका–७ का स्थानीयवासीले देउरालीदेखि कमेरपानीसम्मका सडकखण्डको निर्माण कार्यमा भएको ढिलाइ भएको भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीको ध्यानाकर्षण गराएका थिए ।
सडक कालोपत्रे गर्ने कार्यका लागि जिल्लास्तरीय ठेक्का प्रक्रियाअन्तर्गत सम्झौता भएको भए पनि हालसम्म प्रगति नभएको स्थानीयले गुनासो गरेका थिए ।
वडाअध्यक्षसहितका जनप्रतिनिधि र स्थानीयहरु प्रशासन कार्यालय पुगेका थिए । सम्झौताअनुसार समयमै काम अगाडि नबढाइ सडक खन्ने कार्य जथाभावी र अव्यवस्थित रूपमा गरिएकोले सडक जीर्ण र जोखिमयुक्त बनेको स्थानीयले बताएका छन् ।
नाली व्यवस्थापन समेत असावधानीपूर्वक गरिएकोले आसपासका वस्ती डुवान र भासिने जोखिममा परेको छ । विद्यालय बस आवागमन अवरुद्ध हुनुका साथै पैदल यात्री तथा मोटरसाइकललाई समेत जोखिम बढेको भन्दै स्थानीयले ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया 4