+

को हुन् नयाँ प्रशिक्षक गुग्लिएल्मो एरेना? के छ उनको योजना?

२०८२ फागुन  २९ गते १६:१९ २०८२ फागुन २९ गते १६:१९
को हुन् नयाँ प्रशिक्षक गुग्लिएल्मो एरेना? के छ उनको योजना?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघले गुग्लिएल्मो एरेनालाई एक वर्षका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
  • एरेनाको पहिलो खेल मार्च २६ मा दशथ रंगशालामा हङकङविरुद्ध मैत्रीपूर्ण खेल हुनेछ र त्यसपछि लाओससँग एसियन कप छनोट खेल खेलिनेछ ।
  • एन्फाले ८०० भन्दा बढी आवेदनबाट तीन जनालाई अन्तर्वार्ता गरी एरेनालाई छनोट गरेको र उनको सम्झौता एक वर्षको रहेको जानकारी दिएको छ।

२९ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको नवनियुक्त प्रशिक्षक गुग्लिएल्मो एरेनालाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार मिट एण्ड ग्रीट कार्यक्रम आयोजना गर्दै सञ्चारकरर्मीहरुमाझ सार्वजनिक गरेको छ ।

एक साता भन्दा अगाडि नै नेपाल आइपुगेका एरेनालाई अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार आधिकारिक रुपमा मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

सम्झौतामा एरेना र एन्फा महासचिव किरण राईले हस्ताक्षर गर्दै बिहीबारै राईले एरेनालाई नियुक्त पत्र प्रदान गरेका थिए । एरेनालाई एक वर्षका लागि नेपालको मुख्य प्रशिक्षक नियुक्त गरिएको हो ।

शुक्रबार सञ्चारकर्मीमाझ पहिलो पटक सार्वजनिक भएका गुग्लिएल्मोले नेपालको प्रशिक्षक नियुक्त हुँदा खुशी व्यक्त गरे । ‘म धेरै खुशी छु, नेपाल राष्ट्रिय टिमको नयाँ हेड कोच बन्दा ।’ उनले सुरुमै यति भनेका थिए । त्यसपछि परकारहरुसँगको अन्तरक्रियामा नेपाली फुटबलमा आफ्नो योजनाहरुबारे धारणा राखेका थिए ।

एरेनालाई एन्फाले एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

नेपाली खेलाडीहरुमा क्षमता रहेको र राम्रो खेलाडीहरुको संख्या बढाउने उदेश्य रहेको सुनाए । ‘हामीले नेपाली खेलाडीहरु बारे अध्ययन गरेका छौँ । २०-२५ जना क्षमतावाना खेलाडीहरु छन् । हामी त्यो नम्बर बढाउन चाहन्छौँ र भविष्यमा राम्रो टिम बनाउन चाहन्छौँ ।”

एरेनाको पहिलो परिक्षा हङकङसँगको खेल

नेपालले २०२६ मै साफ च्याम्पियनसिप खेल्ने तालिका छ भने त्यसअघि एएफसी एसियन कप छनोटको तेस्रो चरणको एक खेल खेल्न बाँकी छ । तर नेपालको मुख्य प्रशिक्षकको रुपमा गुग्लिएल्मो एरेनाको पहिलो खेल भने हङहङ विरुद्ध हुनेछ ।

नेपालले यही मार्च २६ (चैत १२ गते) मा घरेलु मैदान दशथ रंगशालमा हङकङसँग मैत्रीपूर्ण खेल खेल्दैछ । एसियन कप छनोट अन्तर्गत लाओससँगको खेलअघि नै नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

एरेनाले पनि अबको आफ्नो नजर हङकङ र लाओस विरुद्ध हुने खेलमा केन्द्रित हुने जानकारी दिए ।

‘अर्को दुई खेल हङकङ र लाओस विरुद्ध खेल छ । समर्थकहरु सधैँ रिजल्ट खोज्छन् हामी राम्रो नतिजा ल्याएर खुशी बनाउने प्रयास गर्नेछौँ ।’ लाओसको पनि नयाँ कोच नियुक्त भएका छन् केही परिवर्तन भएको छ । हामी हाम्रो क्षमता अनुसार खेल्नेछौँ ।’ एरेनाले भने ।

उनले अर्को साता देखि यी खेलका लागि प्रशिक्षण तयारी सुरु गर्ने पनि जानकारी दिए ।

हङकङविरूद्धको खेलपछि नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा लाओस विरुद्ध खेल्दैछ । त्यस खेलमा पनि एरेनाले नेपालको प्रशिक्षण हेर्नेछन् ।

त्यसपछि यस वर्ष नेपालले खेल्ने मुख्य प्रतियोगिता साफ च्याम्पियनसिप नै हो । नेपालले साफ जित्ने लक्ष्य राखेको धेरै भएपनि अहिलेसम्म जित्न सकेको छैन । सन् २०२२ मा फाइनलसम्म पुग्नु ने नेपालको अहिलेसम्मको ठूलो उपलब्धी हो ।

त्यसैले नेपालमा जुन नयाँ प्रशिक्षक आएपनि लष्य साफ च्याम्पियनसिप जित्नु नै हुनेछ र प्रशिक्षकसँग एन्फाले गर्ने अपेक्षा पनि त्यही हुने गर्छ ।

टेक्निकल डिरेक्टर हरि खड्काले पनि स्वभाविक रुपमा साफ जित्ने लक्ष्य नै हुने बताए । साथै उनले फुटबलमा एकै पटक ड्रास्टिक चेन्ज नहुने पनि बताए ।

यस बारे एरेनालाई सोध्दा उनले स्पष्ट जवाफ दिन सकेनन् । ‘मेरो विचारमा म केही साताको कामपछि यो प्रश्नको जवाफ दिन्छु ।’

कसरी छानिए एरेना?

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको थियो । त्युसमा करिब ८०० भन्दा बढी खेलाडीले आवेदन दिएको र त्यसबाट सर्ट लिस्ट गर्दै अन्तिममा टेक्निकल कमिटीले एरेनालाई मुख्य प्रशिक्षक छनोट गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

एन्फा टेक्निकल डिरेक्टर हरि खड्काले आवेदन दिएका प्रशिक्षकबाट सुरुमा १० जना छनोट गरिएको र त्यसबाट ३ हुँदै अन्तिममा एरेनालाई छनोट गरेको बताए ।

‘८०० प्लस प्रशिक्षकहरुको आवेदन आएको थियो । त्यसमा १० जना सर्टलिस्ट गर्‍यौँ अनी ३ जनाबाट एक जना छनोट गरेको हो । प्रशिक्षक छनोट गर्दा पनि सबै कुराहरु मिल्नुपर्ने रैछ । कति कोचहरु हाई प्रोफाइलका पनि थिए ।’ खड्काले भने ।

प्रशिक्षकहरुसँग अन्तर्वार्ता गर्दा विगतको अनुभव र पारिश्रमिकहरुलाई पनि आधार मानेको बताए ।

‘तीन जनासँग कुरा गर्दा उहाँहरुको ईन्ट्रेस्ट, विगतमा काम गरेको अनुभव र पारिश्रमिकको कुराहरु हेरेर उहाँ (एरेना) लाई छानेका हौँ । उहाँको सम्झौता एक वर्षको छ । उहाँको सबै खाने बस्ने व्यवस्था एन्फाले हेर्छ ।’

अहिले एक वर्षको लागि सम्झौता गरेको र त्यसमा उहाँको काम हेरेर थप्ने कि नथप्ने निर्णय गरिने खड्काले जानकारी दिए ।

एरेनाले यसअघि आफू लाओसको प्रशिक्षक रहँदा नेपालको खेल अध्ययन गरेको र त्यही भएर आफूले नेपालको प्रशिक्षक बन्न आवेदन दिएको बताए ।

को हुन् गुग्लिएल्मो?

स्विट्जरल्यान्डमा जन्मिएका ५२ गुग्लिएल्मो एरेना इटालियन प्रशिक्षक हुन् । उनी प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन् ।

एरेनासँग जाम्बिया र मोरक्को लगायत विभिन्न देशको लिगमा काम गरिसकेको अनुभव छ । यस्तै उनले लाओसको यू-२३ टोलीको प्रशिक्षकको रुपमा पनि काम गरेका थिए ।

उनी अंग्रेजी फ्रेन्स र इटालियन तीन भाषा बोल्छन् ।

उनले एसिया युरोप र अफ्रिकामा गरी ३०० भन्दा खेलमा प्रशिक्षण गराइसकेका छन् ।

एरेनासँग दुई दशक लामो फुटबल प्रशिक्षणको अनुभव छ । उनले सन् २००३-४ बुर्किनाफासोको क्लबको प्रशिक्षण सम्हालेका थिए । त्यसयता उनले बेनिन, मोरोक्को, सिंगापुर, अल्जेरिया, युएई, ओमान, चीन लगायत देशको लिगमा क्लबमा प्रशिक्षण सम्हालेका थिए । यसैगरी उनले सन् २०२३ मा लाओस यू-२३ फुटबल टिमको प्रशिक्षण पनि सम्हालेका थिए ।

पछिल्लो पटक एरेनाले सन् २०२४-२५ को सिजन मोरोक्कन शीर्ष डिभिजन बोटोलो ब्रो मा मेघ्राव डे फास प्रशिक्षण सम्हालेका थिए । त्यसबेला अब्देल्हेय बेन सोल्तानेले बीचमै क्लब छाडेपछि एरेनाले सम्हालेका थिए ।

गुग्लिएल्मो एरेनलाई सन् २०२३ जुनमा मा लाओसले राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गर्दै लाओस यू-२३ टिमको पनि जिम्मेवारी दिएको छ । तर लाओसको राष्ट्रिय टिममा उनले कुनै खेलमा प्रशिक्षण सम्हालेनन् । सन् २०२३ सेप्टेम्बरमै एरेनाले लाओसको टिम छाडेका थिए ।

तस्बीर: विकास श्रेष्ठ

एन्फा गुग्लिएल्मो एरेना नेपाली फुटबल
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय