News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल ओलम्पिक कमिटीले आइची नागोया एसियाली खेलकुदको प्रवद्र्धनका लागि फन रन आयोजना गरेको छ ।
- फन रनमा करिब एक हजार खेलाडी, प्रशिक्षक, ओलम्पियन, कुटनीतिक र सञ्चारकर्मी सहभागी भएका थिए ।
- कार्यक्रममा ओलम्पिक काउन्सिल अफ एसियाका प्रतिनिधि र सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।
३० फागुन, काठमाडौँ । आइची नागोया एसियाली खेलकुदको प्रवद्र्धन तथा सफलताका कामना गर्दै शनिबार ‘एसियन गेम्स फर रन’ आयोजना भएको छ ।
ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)को कार्यक्रमअन्तर्गत नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आयोजना गरेको फन रन एनओसी भवनको प्राङगणमा एक कार्यक्रमबिच सुरु भएर बि एन बी हस्पिटल गेट, ग्वार्को चोक, प्रभात स्कुल, लुसुसि, कनिबहा चोक, ओकुबहा, थैना, चक्रबहि, हौग हुँदै पाटन दरबार स्क्वायर कात्तिक डबली मङगलबजारमा पुगेर टुङिगएको थियो ।
सो फन रनमा एसियाली खेलकुदमा सहभागी हुने सम्बन्धित खेलका खेलाडी र प्रशिक्षकसँगै अन्य खेलाडी, प्रशिक्षक, ओलम्पियन, खेल संघसंस्थाका पदाधकारी, कुटनीतिक व्यक्तित्व, सुरक्षा निकायका प्रतिनिधि, विद्यार्थी र सञ्चारकर्मी गरी करीब एक हजारको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले फर रन आइची नागोया एसियाडको प्रवर्धनका लागि मात्र होइन जापानमा हुने आगामी एसियाडमा नेपालको सहभागिता सन्देश दिलाउन र सो एसियाडको सफलताको कामनका लाग आयोजना गरिएको बताउनुभयो । यसैगरी महासचिव राजीव श्रेष्ठले फन रन सफल बनाउने सबै पक्षलाई धन्यवाद दिँदै यो स्थानीय सामुदायिक सहभागितासहित ओलम्पिकको मान्यता र भावना बुझाउने अभियान पनि हो, भन्नुभयो ।
सो फन रनमा ओलम्पिक काउन्सिल अफ एसियाका डिपुटी डिरेक्टर विनोदकुमार तिवारी, आइची नागोया एसियन गेम्सको आयोजक कमिटीका मिडिया विभाग र पिआर निर्देशक फुमिहितो कानाइजुका तथा सोही विभागका म्यानेजर मानामी ओकुमुराको विशेष उपस्थिति रहेको थियो ।
फन रनको समापन कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिएको थियो । यसैगरी सहभागीहरुलाई एसियाली खेलकुदसम्बन्धी ’क्विज‘ सत्र पनि रहेको थियो । सो सत्रमा सही जवाफ दिने सहभागीहरुलाई आगामी एसियाली खेलकुदको मस्कट हानोहोन पुरस्कार प्रदान गरिएको थियो ।
एनओसीले ओलम्पिक फन रनको आयोजना गरेको यो लगातार तेस्रो संस्करण हो । यसअघि नेपाल ओलम्पिक कमिटीले सन् २०१८ मा इन्डोनेसियामा भएको जाकार्ता–पालेमबाङ एसियाड र सन् २०२२ मा चिनमा भएको ह्वाङजाउ एसियाडको प्रचारप्रसारस्वरुप पनि फन रनको आयोजना गरेको थियो । यसपटकको फन रन नेपाल ओलम्पिक कमिटीका सचिव रामकृष्ण श्रेष्ठको संयोजनमा भएको हो ।
प्रतिक्रिया 4