+
+
Shares
संसद्‌मा नयाँ :

कांग्रेस किल्ला भत्काउने पूर्वशिक्षक राजन

३४ हजार ६५२ मतको विशाल अन्तरले जनताको विश्वास पुराना दलहरूबाट टाढा सरेको र नयाँ शक्तिप्रति आकर्षित भएको स्पष्ट सन्देश दियो । त्यसैले अब यो क्षेत्रलाई ‘जनताको गढ’ भन्नुपर्ने बताउँछन् गौतम ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ चैत १ गते २१:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २०८२ को प्रतिनिधिसभा निर्वाचनमा नवलपुर–१ क्षेत्रबाट फराकिलो मतान्तरसहित विजय हासिल गरे।
  • गौतमले स्थानीय विकास र नीति दुवैमा सन्तुलित भूमिका खेल्ने र मुख्य मुद्दा रोजगारी रहेको बताएका छन्।
  • उनी हाल रास्वपाको गण्डकी प्रदेश सभापति हुन् र नवलपुरवासीलाई निराश नबनाउने प्रतिबद्धता जनाएका छन्।

१ चैत, काठमाडौं । नवलपुर–१ लामो समयदेखि नेपाली कांग्रेसको अभेद्य किल्ला मानिन्थ्यो । तीन दशकदेखि कांग्रेसले प्रभाव जमाउँदै आएको यो क्षेत्रमा सो पार्टीका पूर्वमहामन्त्री शशांक कोइरालाले पनि पटक–पटक निर्वाचन जितेका थिए ।

तर, २०८२ को प्रतिनिधिसभा निर्वाचनमा यो पुरानो इतिहास पूर्ण रूपमा उल्टियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजन गौतमले फराकिलो मतान्तरसहित विजय हासिल गरे । गौतमले ५० हजार ९४५ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी कांग्रेसका बालकृष्ण घिमिरेले १६ हजार २९३ मत मात्र ल्याए । एमालेका भगिरथ सापकोटा ९ हजार १३१ मतसहित तेस्रो स्थानमा रहे ।

३४ हजार ६५२ मतको विशाल अन्तरले जनताको विश्वास पुराना दलहरूबाट टाढा सरेको र नयाँ शक्तिप्रति आकर्षित भएको स्पष्ट सन्देश दियो । त्यसैले अब यो क्षेत्रलाई ‘जनताको गढ’ भन्नुपर्ने बताउँछन् रास्वपाका गौतम । कुनै एक दलको होइन, जनताले आफ्नो अपेक्षा पूरा गर्ने शक्तिलाई रोजेको प्रमाण रहेको उनको भनाइ छ ।

३९ वर्षीय गौतम नवलपुरको देवचुलीमा सुकुम्बासी परिवारमा जन्मिएका हुन् । उनी सानैदेखि मेधावी विद्यार्थी थिए ।

ध्रुवज्योति प्राविबाट प्राथमिक तहमा ‘होल्ड फर्स्ट’ हुँदै देवचुली माविबाट १२ कक्षासम्म ‘फर्स्ट ब्वाई’ बनेर पास गरे । परिवारको आर्थिक अवस्था कमजोर भएकाले डाक्टर बन्ने सपना अधुरो रह्यो । उच्च शिक्षाका लागि भरतपुर वा काठमाडौं जान नसकेपछि स्थानीय स्कुलमै ‘मेजर म्याथ’ लिएर पढे ।

ट्युसन पढाएर परिवार पाल्दै ब्याचलर्स र मास्टर्स (एमएड) पूरा गरे । पछि एमबीबीएस फाइनान्स पनि गरे । शिक्षण पेसामा उनको यात्रा निकै उल्लेखनीय रह्यो ।

२०७१ सालमा मात्र २८ वर्षको उमेरमा देवचुली कलेजको प्रमुख बने । नेपालभरिका सामुदायिक क्याम्पसहरूमा सबैभन्दा कान्छो क्याम्पस प्रमुखको कीर्तिमान बनाए । सुरुमा उमेरका कारण चुनौती सामना गर्नुपरको अनुभव उनीसँग छ । जस्तो, कतिपय ठाउँमा उनलाई अन्य कर्मचारी जस्तै ठानियो, पटकपटक आइडी कार्ड देखाउनुपर्‍यो । तर योग्यता, हुटहुटी र मिहिनेतले सफलता दिलाएको दाबी उनको छ ।

कलेजसँगै अमर र कुमारवर्ती मावि, ओएसिस बोर्डिङ स्कुलमा पनि पढाए । शिक्षा क्षेत्रमा उनको योगदानले उनलाई स्थानीय स्तरमा बलियो पहिचान दियो ।

तर, त्यसबेलासम्म राजनीतिबारे सोचेका थिएनन् । राजनीतिमा प्रवेश भने २०७४ को स्थानीय तह निर्वाचनबाट ‘क्लिक’ भएको थियो । उनका अनुसार, त्यसअघि उनी भोटर मात्र थिए, कुनै पार्टीको सदस्य थिएनन् । तर देशमा परिवर्तन चाहने चाहना बढ्दै गयो ।

गौतमको परिवारको मतदान ट्रेन्ड पनि उस्तै छ । हजुरबुवाले २०१५ मा कांग्रेसलाई, बुवाले २०४८ मा एमालेलाई, आफैंले २०६४ मा माओवादीलाई भोट दिए । तर हरेक पटक अपेक्षा पूरा नभएपछि आफूले पनि मत मात्र फेरेनन्, उम्मेदवार नै बनेर खडा भए । ‘पटकपटक अपेक्षा गर्दा पनि नजितेपछि मेरो परिवार स्विङ भोटर बन्यो,’ उनले सुनाए ।

२०७९ मा रास्वपा गठन भएसँगै उनी जोडिए । त्यसलगत्तै आएको अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा २४ हजार ३०५ मत ल्याएर दोस्रो भए । शशांक कोइरालाले २७ हजार ६७ मत ल्याएर जिते । तर समानुपातिकमा रास्वपाले सबैभन्दा बढी २५ हजार ७७४ मत ल्यायो । यो नतिजाले उनलाई क्षेत्रको बलियो दाबेदारको रूपमा यसअघि नै स्थापित गरेको थियो ।

त्यसैले २०८२ को चुनावमा गौतमले सुरुदेखि नै आत्मविश्वास देखाए । घरदैलोमा जाँदा जनताको आँखा र अभिव्यक्तिले जितको संकेत दिएको उनी बताउँछन् । ‘एक जना भोट दिनेले अर्कोलाई पनि दिनुस्’ भन्दै मत माग्नुभयो । त्यसबेलै मलाई त चुनाव जित्छु होला जस्तो लागेको थियो । नभन्दै जितियो,’ उनले भने ।

शान्तिपूर्ण चुनाव भयो, पुराना गढ भत्किए । जनताले कांग्रेसको विश्वास तोडेको उनको भनाइ छ । यस पटक गौतमलाई जिताएका मतदाताको अपेक्षा पनि मिश्रित छ– बाटो पिच जस्ता विकास–निर्माणका कामसँगै नीति निर्माण तहमा राम्रो भूमिका खेल्ने ।

गौतम स्थानीय विकास र नीति, दुवैलाई सन्तुलित रूपमा हेर्ने बताउँछन् । उनका अनुसार, अहिलेको अवस्थामा मुख्य मुद्दा रोजगारी हो । पहिलो चरणमा खाडी मुलुकबाट फर्काउने, नेपालमा आम्दानी बढाउने योजना छ । भारत–चीनबीचको भौगोलिक अवस्थितिलाई सदुपयोग गर्ने, स्किल म्यानपावर विकास गर्ने ।

उनका अनुसार, उच्च शिक्षामा विद्यार्थी घट्दै गएका छन् । कलेजहरू बन्द हुने अवस्थामा छन् । प्रावि तहका स्कुल पनि बन्द हुने डर बढेको छ । यसलाई रोक्न रास्वपालाई दुई तिहाइ हाराहारी मत दिएको जनताको विश्वास पूरा गर्ने उनको संकल्प छ ।

गौतम अहिले रास्वपाको गण्डकी प्रदेश सभापति पनि रहेका छन् । हाल काठमाडौंमा रहेका उनको ‘काठमाडौंमै हराउने माननीय’ भन्दै पुरानो गुनासो यस पटक नदोहोरिने प्रतिबद्धता छ ।

‘जसरी हुन्छ, नवलपुरवासीलाई निराश नबनाउने गरी काम गर्छु । उहाँहरूले प्रतिनिधि भएको अनुभूति हुने गरी सक्रिय हुन्छु । नीति निर्माणमा पनि उत्तिकै सक्रिय हुन्छु । युवा छु, जोस छ, जनताले काम गर्न चुन्नुभएको छ । अब उहाँहरूको विश्वास कायम गर्छु,’ उनले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?