+

क्लबहरूले भने- नेपाली फुटबल आईसीयूमा पुगेको छ, हामी जोगाउन चाहन्छौं

२०८२ चैत  २ गते १४:३४ २०८२ चैत २ गते १४:३४

सहमति कार्यान्वयनको माग गर्दै ए डिभिजन क्लबहरु अखिल नेपाल फुटबल संघ (एन्फा)विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

क्लबहरूले भने- नेपाली फुटबल आईसीयूमा पुगेको छ, हामी जोगाउन चाहन्छौं

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ए डिभिजन क्लबहरुले एन्फाविरुद्ध सहमति कार्यान्वयनको माग गर्दै आन्दोलनमा उत्रिएका छन्।
  • एन्फाले फागुन २६ गते एकतर्फी रुपमा चैत ३० गते लिग सुरु गर्ने निर्णय गरेपछि क्लबहरुले विरोध जनाएका छन्।
  • पूर्वअध्यक्ष कर्माछिरिङ शर्पाले नेपाली फुटबल आईसीयुमा पुगेको उल्लेख गर्दै क्लबहरुसँग सहमति गरेर मात्र लिग मिति तय गर्नुपर्ने बताए।

२ चैत, काठमाडौं । सहमति कार्यान्वयनको माग गर्दै ए डिभिजन क्लबहरु अखिल नेपाल फुटबल संघ (एन्फा)विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

एन्फाले सहमति कार्यान्वयन गर्नुको सट्टा एकतर्फी निर्णय गरेको भन्दै क्लबहरु विरोधमा उत्रिएका हुन् ।

एन्फा र ए डिभिजन क्लबबिच लिग होम एण्ड अवेको माध्यमबाट अर्को वर्ष सञ्चालन गर्ने गरी गत कात्तिक १७ गते सहमति भएको थियो ।

तर, एन्फाले फागुन २६ गते एकतर्फी रुपमा चैत ३० गतेदेखि लिग सुरु गर्ने निर्णय गरेपछि क्लबहरु विरोधमा उत्रिएका हुन् । उनीहरु एन्फा मुख्यालयको गेट अगाडि धर्ना बसेका छन् ।

एन्फाका पूर्वअध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शर्पाले एन्फा फुटबल गर्नेभन्दा अर्ली इलेक्सनबाट पद सुरक्षित गर्नेतर्फ केन्द्रीत भएको आरोप लगाए । नेपाली फुटबल आईसीयुमा पुगेका शेर्पाको अनुभव छ । पत्रकार सम्मेलनमार्फत उनले आफुहरु आईसीयूमा पुगेको फुटबललाई फर्काउन लागेको उल्लेख गरे ।
‘यो पत्रकार सम्मेलन अन्तिम होस् भनेन् हाम्रो चाहना छ । अबदेखि नेपाली फुटबलमा यस्तो नहोस् । नेपाली फुटबल आईसीयुमा पुगेको अवस्था छ । आईसीयुमा पुगेको फुटबललाई फर्काउनुपर्छ भनेर हामी लागेका छौँ,’ उनले भने ।

क्लब रहेमात्रै फुटबल रहने शेर्पाले सुनाए । उनले भने, ‘जबसम्म क्लब रहन्छ, तबसम्म फुटबल रहन्छ । क्लबले दु:ख-सुख गरेर घरबाट उठाएर चन्दा उठाएर स्पोन्सर खोजेर खेलाडीलाई तलब दिने लगायत काम गरेको छ ।’

नेपाल फुटबल खेलाडी संघको तालाबन्दीपछि एन्फाले चैत ३० गतेबाट ए डिभिजन लिग सुरु गर्ने निर्णय गरेको थियो । उक्त निर्णय एन्फाले एकलौटी गरेको भन्दै उक्त निर्णय सच्चाएर क्लबहरुसँग छलफल गर्न उनीहरुले माग गरेका छन् ।

एन्फाले बिहीबार १३ ए डिभिजन क्लबलाई टिम दर्ताका लागि पत्र काटेको थियो । लिगमा १४ क्लब हुने व्यवस्था रहे पनि एपीएफ फुटबल क्लब र थ्री स्टार क्लबमध्ये कसलाई ए डिभिजनको मान्यता दिने भन्ने विषय स्पष्ट नहुँदा एन्फाले १३ क्लबलाई मात्र दर्ताको लागि पत्र पठाएको हो ।

क्लबहरुले नियमानुसार १४ क्लबको सहभागिता गर्नुपर्ने, प्राविधिक र आर्थिक पक्षमा सहमति गरेर मात्र लिगको मिति तय गर्न समेत माग गरे ।

ए डिभिजन क्लब एन्फा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय