+
+
Shares

लुम्बिनीका जिल्लामा दिउँसै अँध्यारो

बादल र हावाहुरीका कारण दिउँसै अँध्यारो भएको थियो । बजार क्षेत्रमा गाडीहरू दिउँसै बत्ती बालेर गुडिरहेको देखिन्थ्यो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १४:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका दाङ, बाँके, कपिलवस्तु र रुपन्देहीमा हावाहुरी चलेको र पानी परिरहेको जनाएको छ।
  • दाङको तुलसीपुर, घोराही र लमही बजार क्षेत्रमा करिब १५ मिनेटसम्म हावाहुरी चलेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हावाहुरी, वर्षा र हिमपातको सम्भावना भएकाले सतर्क रहन आग्रह गरेको छ।

६ चैत, घोराही । मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार नै लुम्बिनी प्रदेशमा दाङमा हावाहुरी चलेको छ । बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा हावाहुरी चलेको छ । केहीबेर हावाहुरी चलेपछि अहिले पानी पनि परिरहेको छ ।

बादल र हावाहुरीका कारण दिउँसै अँध्यारो भएको थियो । बजार क्षेत्रमा गाडीहरू दिउँसै बत्ती बालेर गुडिरहेको देखिन्थ्यो ।

दाङको तुलसीपुर, घोराही र लमही बजार क्षेत्रमा करिब १५ मिनेटसम्म हुरी चलेको थियो । जिल्ला प्रहरी कार्यालय दाङले केहीबेर हुरी चले पनि त्यसले क्षति पुर्‍याए/नपुर्‍याएको विवरण आउन बाँकी रहेको जनाएको छ ।

दाङ

पत्रकार नरेन्द्र केसीका अनुसार घोराही बजार क्षेत्रमा हुरी चल्न रोकिएर अहिले पानी परिरहेको छ । ‘अहिले मेघगर्जनसहित पानी परिरहेको छ,’ उनले भने, ‘पानीका कारण घर बाहिर निस्किन सक्ने अवस्था छैन ।’

यसैगरी रुपन्देहीको बुटवल, भैरहवा लगायतका क्षेत्रमा पनि दिउँसै अँध्यारो भएको छ । त्यहाँ पनि हावाहुरी चलेको छ ।

दाङ

जल तथा मौसम विज्ञान विभागले हिजो नै लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण गरेको थियो । यसले क्षति पुर्‍याउन सक्ने भएकाले सतर्कता अपनाउन र अति आवश्यक नपरी घर बाहिर ननिस्किन सुझाव समेत दिएको थियो ।

काठमाडौं उपत्यकामा पनि बादल लागेर छिटपुट पानी परेको छ । तर दिउँसो दुई बजेसम्म हावाहुरी चलेको छैन ।

दाङ

शनिबार कोशी प्रदेशमा हावाहुरी चल्ने प्रक्षेपण

आज लुम्बिनी प्रदेशमा र भोलि शनिबार कोशी प्रदेशका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ । बिहीबार हावाहुरीको वेग झन्डै ११९ किलोमिटर प्रतिघण्टाको हुने प्रक्षेपण सार्वजनिक गरेको विभागले पनि शुक्रबार बिहान भने हावाहुरीको वेग ५०–६० किलोमिटर प्रतिघण्टा हुने सूचना अद्यावधिक गरेको थियो ।

विभागको पूर्वानुमान अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति जारी गरेर मौसम बदलीसँगै देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ । तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने लगायतका जोखिम रहने प्राधिकरणको भनाइ छ ।

पछिल्ला केही दिन हावाहुरीका घटनाका कारण मानिसको मृत्यु तथा घाइते भएको भन्दै प्राधिकरणले जोखिम पूर्वानुमान गरिएका क्षेत्रमा बसोबास तथा यात्रा गर्ने नागरिकले विशेष सतर्कता अपनाउन भनेको हो ।

प्राधिकरणले विशेष काम नपरी यात्रामा ननिस्कन, हावाहुरी चलेका बेला घरका झ्यालढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोतहरू बन्द गर्न, सवारीसाधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान अनुरोध समेत गरेको छ ।

हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनि नबस्न, बिजुलीको तार लत्रिएको छ भने नछुन, सो समयमा विद्युतीय उपकरण नचलाउन तथा जोखिमयुक्त स्थानमा नबस्न पनि प्राधिकरणले अनुरोध गरेको छ ।

कहिले सुधार हुन्छ मौसम ?

मौसमविद् हरिप्रसाद दाहालका अनुसार लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पनि परिरहेको छ । लुम्बिनी प्रदेशभन्दा पश्चिमका जिल्लामा पनि पानी परिरहेको छ ।

गण्डकी र बागमती प्रदेशका धेरै ठाउँमा बादल लागेको छ ।

मौसममा आएको यो फेरबदल सामान्य रहेको मौसम विज्ञान विभागका मौसमविद हरिप्रसाद दाहाल बताउँछन् । उनले भने, ‘यो प्रि–मनसुनको समय हो । यो समयमा हावाहुरी चल्नु र मेघगर्जनसहित असिना पानी पर्नु सामान्य हो ।’

मौसमविद् दाहालका अनुसार काठमाडौंमा पनि अहिले पानी परिरहेको छ । यस्तो अवस्था आज र भोलिसम्म कायम रहने सम्भावना छ । पर्सिबाट भने मौसममा सुधार हुने सम्भावना रहेको उनले बताए । ‘यो सिस्टम भोलिसम्म रहने र पर्सिबाट क्रमिक सुधार हुने सम्भावना छ,’ उनले भने ।

तर प्रि–मनसुनको बेला दिनभर घाम लाग्ने र साँझपख मेघगर्जनसहित पानी पर्नु सामान्य मानिन्छ ।

शुक्रबार दिउँसो बुटवल क्षेत्रको दृश्यहरूः

तस्वीरहरू : बुटवलबाट टोपराज शर्मा र दाङबाट आभास बुढाथोकी

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?