६ चैत, सुदूरपश्चिम । एलपी ग्यासको अभाव हुन थालेपछि भारतका विभिन्न सहरमा मजदुरी गरिरहेका नेपाली श्रमिक युवा स्वदेश फर्किन थालेका छन् । विशेषगरी होटलमा काम गर्ने नेपाली युवा ग्यासको अभावमा व्यवसाय बन्द हुनथालेपछि स्वदेश फर्किन थालेका हुन् ।
कैलालीको नेपाल–भारत सीमानाका त्रिनगरमा भेटिएका डोटीका रोशन खड्काले ग्यास अभावले आफू कार्यरत होटल बन्द हुने अवस्थामा पुगेपछि स्वदेश फर्किएको बताए । ‘खाने र बस्ने सुविधा होटलमै थियो’, मुम्बईबाट फर्किएका खड्काले भने, ‘ग्यास अभावले होटल नै बन्द गर्ने तयारी भयो, बेरोजगार हुने अवस्था आएपछि स्वदेश फर्किएँ ।’
सीमानाकामा भेटिएका विजय विकले होटल पनि बन्द हुने अवस्था देखिएको र ‘विसु’ पर्व पनि नजिकिएकाले समयमै घर फर्किएको बताए । उनले भने, ‘विसुका मनाउन चैत अन्तिमतिर घर फर्किने सोच थियो । अहिल्यै काम गर्ने होटल बन्द हुने अवस्था आयो । अनि छिट्टै फर्किएँ ।’ ग्यासको अभाव हुन थालेपछि अहिले भारतमा होटलमा मजदुरी गर्ने नेपाली सबैभन्दा बढी प्रभावित हुनथालेको उनले बताए ।
स्वदेश फर्किएका अर्का युवा महेश भट्टले ग्यास अभावले रोजगारी खोसिने अवस्था आएको बताए । ‘होटलमा नोकरी गरिरहेका अधिकांश नेपाली बेरोजगार हुने अवस्था छ । अन्य क्षेत्रमा मजदुरी गर्ने नेपाली पनि प्रभावित भएका छन् । तर, बढी होटलमै काम गर्ने छन्,’ भट्टले भने ।
पश्चिम एसिया क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या भएपछि भारतमा सरकारले इन्धन र खाना पकाउने ग्यासको वितरणमा कडाइ गरिरहेको छ ।
भारतमा सुदूरपश्चिमबाट ठुलो संख्यामा नेपालीहरू मजदुरी गर्दैआएका छन् । –रासस
प्रतिक्रिया 4