News Summary
Generated by OK AI. Editorially reviewed.- २१ फागुनको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकी प्रदेशमा १५ सिट जितेर प्रदेश सभाको नवौं अधिवेशन सुरु भएको छ।
- कांग्रेस, एमाले र माओवादीका नेताहरूले चुनाव परिणाम अप्रत्यासित भएको भन्दै गम्भीर आत्मसमीक्षा गर्ने बताएका छन्।
- नेकपाका नेता हरिबहादुर चुमानले लोकतन्त्रको सही अभ्यास गर्न नसकेको स्वीकार गर्दै भ्रष्टाचार र प्रशासनिक पुनर्संरचनामा कमजोरी देखिएको बताए।
८ चैत, पोखरा । २१ फागुनको चुनावमा जनताले दिएको असाधारण मतबाट झन्डै दुई तिहाइ नजिकको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय सरकार गठनको तयारी गरिरहेको समयमा गण्डकी प्रदेश सभाको नवौं अधिवेशन आइतबारदेखि सुरु भएको छ ।
संघमा बालेन्द्र शाहको नेतृत्वमा बन्ने शक्तिशाली सरकारमा को–को मन्त्री होलान्, पहिलो निर्णय के गर्लान् भन्ने चर्चाले देश तातिरहेका बेला गण्डकीमा पुराना दलहरू आफ्नै समीक्षा र चुनावी नतिजाको विश्लेषण गरिरहेका छन् ।
जेनजी आन्दोलनले सत्ताच्यूत गर्नुअघि देशकै ठूला शक्ति नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन बनेपछि गण्डकीमा पनि यही सरकार कायमै छ । संसद्मा कांग्रेस–एमालेसँगै तत्कालीन नेकपा माओवादी (अहिलेको नेपाली कम्युनिस्ट पार्टी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी छ ।
२१ फागुनमा भएको चुनावले निकै सानो संख्यामा खुम्चिएको कांग्रेसले गण्डकीमा मुस्ताङ र मनाङ गरी २ सिट जित्न सफल हुँदा एमाले, माओवादी, राप्रपालगायत दल शून्य हुन पुगे । गण्डकीका १८ सिटमध्ये म्याग्दीमा स्वतन्त्र रूपमा महावीर पुनले रास्वपाको समर्थनमा चुनाव जिते भने १५ सिट रास्वपाले ठूलो मतान्तरका साथ जित हासिल गरेको छ ।
प्रदेश संसद्मा वर्तमान परिस्थितिबारे यी दलहरूले कसरी समीक्षा गर्लान् ? अब बन्ने संघीय सरकारबारे यिनको धारणा र अपेक्षा के होलान् र चुनावी परिणामलाई कसरी व्याख्या गर्लान् ? चासोका साथ हेरिएको थियो ।
आइतबारदेखि सुरु भएको नवौं अधिवेशनको पहिलो दिन प्रमुख तीन दलका तर्फबाट नेताहरूले आ-आफ्नो भनाइ राखेका छन् ।
संसद्मा बोल्ने क्रममा कांग्रेस, एमाले र माओवादीका नेताहरूले जनताले यो चुनावले ठूलो पाठ सिकाएकाले गम्भीर आत्मसमीक्षा गर्ने बताए । तर, चुनावी परिणामलाई भने अझै स्वीकार गर्न नसकिरहेको मनस्थितिमा उनीहरू प्रस्तुत भए । नेताहरूले चुनावी परिणाम अप्रत्यासित आएको जिकिर गर्दै विभिन्न आशंकाहरू व्यक्त गरे भने प्रदेश संरचनालाई, प्रदेशको अधिकारलाई कुण्ठित पारे प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् ।
संसद्मा पूर्वमुख्यमन्त्री तथा एमाले सचिव खगराज अधिकारी, कांग्रेस संसदीय दलका नेता महेन्द्रध्वज जिसी र नेकपाका हरिबहादुर चुमानले बोलेका थिए । संसद्मा अधिकारीले विकास निर्माणमात्रै भनेर पनि हुँदो रहेनछ भन्ने यो चुनावले देखाएको बताए । अल्गोरिदमले यस्तो गर्यो भनेर पनि हुँदोरहेनछ भन्दै अधिकारीले अकल्पनीय परिणाम भोगेको बताए ।
‘अकल्पनीय परिणाममा हामी छौं । यहाँ भएका चारै दल हामी प्रतिपक्षमै हौं । किनकि केन्द्रको सरकारमा हाम्रो सहभागिता हुँदैन, हुनै पाउँदैन,’ अधिकारीले भने, ‘तर यस्तो कसरी भयो, के विचारले हो त ? नीति र नेतृत्वले हो त ? यो कुराको समीक्षा त गरौंला । हामी शासक होइन, सेवक हुन कहाँ-कहाँ चुकेका छौं । गम्भीरतापूर्वक आत्मसमीक्षा गर्छौं र अगाडि बढ्छौं ।’
खगराजले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारदेखि नै प्रदेशमाथि प्रहार गर्न थालिएको बताए । सांसदलाई कानुन बनाउन जे-जे कुराले सहयोग भएको थियो, त्यसैमाथि प्रहार गर्ने काम यो सरकारले गरेको भन्दै आपत्ति जनाए ।
‘प्रदेश माथिको अनुकम्पाले, कुनै निर्देशनले चल्ने होइन । अर्थ मन्त्रालयले यति खाउ, यति नखाउ, यो लाउ, यो नलाउ भन्दा पनि मान्न पर्ने अवस्थामा पुर्याए,’ खगराजले भने ।
प्रदेशलाई नियोजन गर्न खाजियो भने दलहरूले प्रतिवाद गर्ने चेतावनीसमेत अधिकारीले दिएका छन् ।
‘त्यस्ता नियोजनका कार्यहरू फेरि पनि हुन्छन् भने, प्रदेशलाई कुण्ठित गर्ने काम गरिन्छ भने हामी चारै दलको तर्फबाट यो स्वीकार्य हुँदैन,’ अधिकारीले भने, ‘यसका लागि एकताबद्ध भएर प्रतिवाद गर्छौं ।’
प्रदेश, स्थानीय तहले जसरी काम गरिरहेका छन्, त्यसप्रति गर्व रहेकोसमेत अधिकारीले सुनाए । ‘प्रदेश र स्थानीय तह नभएको भए कोभिडकालमा कसले बचाइदिन्थ्यो मानिस ?,’ अधिकारीको प्रश्न थियो ।
अधिकारीले जनताले सजाय दिएको र ती जनताप्रति सम्मान गर्ने तर कसैले प्रदेशमाथि प्रहार गर्न खोजे नसहने जिकीर गरे । तर, देश नै नरहने हो कि भन्ने चिन्ता रहेको अधिकारीको भनाइ थियो ।
‘देश रहेन भने हाम्री सुध्रन्छौं, सुधार्छौं भन्ने ठाउँ पनि रहँदैन,’ अधिकारीले् भने, ‘निराश पनि छैनौं, धेरै उत्साही पनि छैनौं । बिगतप्रति पश्चाताप होइन, गल्ती सच्याउने प्रण गर्न चाहन्छौं ।’
कांग्रेसका महेन्द्रध्वज जिसीले समीक्षा गरेर आफ्ना गल्तीहरू सच्याउन तयार रहेको तर जेनजी आन्दोलनदेखि चुनावसम्म योजनाबद्ध कार्यक्रम भएको सुनाए । जेनजी आन्दोलन, सुशीला कार्की नेतृत्वको सरकार र अहिलेको चुनावी नतिजा सबै योजनाबद्ध रहेको जिसीको जिकिर थियो ।
‘चुनाव गराउनका लागि २४ भदौको घटना गराइएको थियो । चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने पूर्वनियोजित कार्यक्रम थियो,’ कांग्रेस सांसद तथा पूर्वमन्त्री महेन्ध्वजले भने ।
‘यो ८ वर्षको बीचमा सरकार र नेतृत्वले गरेको क्रियाकलापको जवाफदेहिता र अपनत्व हामीले लिनैपर्छ, जसअपजसको भागिदार हुनैपर्छ,’ जिसीले भने, ‘हाम्रा केही कमजोरीका कारण यो परिस्थितिको सिर्जना भएको हो । यसमा आफूलाई म-म भन्नुपर्छ ।’ यसको अर्थ अहिलेसम्मको नेतृत्वले सबै गलतै कुरा गरेको थियो भन्न नहुने उनको भनाइ थियो । तर, गलत भएको प्रतिशतलाई प्रचार गरेर अहिलेको परिस्थिति सिर्जना गरिको जिसीले दाबी गरे ।
अहिले भर्खरै भएका घटना, नेपालको राजनीतिक गतिविधिहर” नेपाली र नेपाली नेतृत्वलेमात्रै सञ्चालन गरेको थियो भनेर आफू मान्न तयार नभएको जिसीको जिकlर थियो । किनभने चुनावको परिणामले पनि त्यो देखाएको उनले बताए ।
‘यस्तो भोटिङ प्याट्रन हुन्छ ? डोकाबाट भोटै घोप्ट्याएजस्तो हुन्छ ? भोटिङको प्याट्रन के हो यो ? यो रिजल्टको पूर्वअनुमान के हो ? यो परिणाम निर्वाचित व्यक्ति अथावा नेतृत्वलाई जानकारी थियो ? त्यो पनि थिएन,’ जिसीले भने, ‘तर, यो जुन किसिमको डिजाइनसहित निर्वाचन भएर परिणाम पनि आएको छ, मलाई लाग्छ–२४ भदौको घटना जुन ढंगले भयो, त्यो ट्रेलरमात्र थियो ।’
पहिलो २४ भदौ र दोस्रो ट्रेलर २१ फागुनमा आएको र अब यसको पूर्ण पाठ अब आउने क्रममा रहेको जिसीको दाबी थियो । ‘फिल्म हेर्दा पहिले ट्रेलर आउँथ्यो । ट्रेलर हेरेपछि बल्ल फिल्म हेर्न जाने, त्यसको एड्भर्टाइज गर्ने जमाना थियो । त्यही अनुसार फिल्मको एक्सन, को हिरो हो, को खलनायक हो र परिणाम कहाँ लैजान खोजेको हो मुलुकलाई भन्ने तेस्रो पटकको एपिसोट आउन बाँकी छ । अब हामी हेर्दै जानु छ ।’
नेकपाका नेता हरिबहादुर चुमानले भने धेरै पुराना दल र आफूहरूकै कमजोरीबारे धेरै समीक्षा गरे । जेनजी आन्दोलनदेखि चुनावी परिणामसम्मको स्थिति हेरे प्रदेश पनि नवौं अधिवेशन भिन्न ढंगले अगाडि बढ्छ भन्ने चुमानले विश्वास व्यक्त गरे । उनले सबै दलहरू जनताका बीचमा परीक्षा दिन गएको तर पुराना दलहरू अस्वीकृत भएको जिकिर गरे ।
‘निकै नराम्रो गरी, निकै पेचिलो, निकै चोटिलो प्रहार भागेर आएका छौं । यसको कारण अब हामीले अर्कोलाई दोष लगाएर पाइन्नँ, हामीभित्रै खोज्नुपर्छ,’ चुमानले भने ।
२३ र २४ भदौको घटना सम्झिँदा अहिले पनि राज्य कति निरिह र कति कमजोर रहेछ भन्ने लागिरहेको चुमानले बताए । यति कमजोर राज्य बन्नुमा आफूहरूको भागमा पनि केही कमजोरी पर्ने उनको भनाइ थियो ।
‘पुरानो व्यवस्थालाई फालेर संघीय गणतन्त्र स्थापना गरेको अर्थात लोकतन्त्रको नयाँ अभ्यास अब गर्छौं भनेर लोकतन्त्रबादी पार्टीहरू दृढता देखाएर अगाडि बढेको तर कुरा के रह्यो भने लोकतन्त्रको सही अभ्यास गर्न सकेनछौं,’ चुमानले भने, ‘लोकतन्त्रलाई सही टयाकमा हिँडाउन सकेनछौ भनेर स्वीकार्नै पर्छ ।’
लोकप्रियतावाद पनि लोकतन्त्रकै उत्पादन हो भनेर आफूले पढेको सुनाउँदै चुमानले अगाडि भने, ‘त्यसो हो भने यो लोकप्रियतावादलाई जन्मिन बाध्य पार्न पनि त हाम्रै भूमिका छ भनेर स्वीकार्नैपर्ला ।’ संघ, प्रदेश र स्थानीय तहका काम र अभ्यास नै असाध्यै कमजोर देखिएको चुमानले बताए । जनताको चुलिँदै गएको अपेक्षा पूरा गर्न संस्थागत सुदृढीकरण गर्न नसकेको, ध्यान नदिएको विषयलाई पनि स्वीकार्ने र सच्चिनेको विकल्प नभएको चुमानको भनाइ थियो ।
भ्रष्टाचार बढेको कुरा छ्याङ्गै भएको र त्यो लुकाएर, छोपेर छोपिनेवाला नै नरहेको चुमानले बताए । प्रशासनिक पुनर्संरचना हुनै नसकेको चुमानको भनाइ थियो । दलहरू पुरानै ढर्रामा हुँदा पनि आफूहरू पछारिएको भनेर स्वीकार्नुपर्ने उनले बताए । कर्मचारीतन्त्रका कारण धेरै समस्या सिर्जना भएको चौतर्फी उठिरहेको अब चाहिँ प्रशासनिक क्षेत्रमा प्रहार भएर तहसनहसै हुने हो कि भन्ने चिन्तासमेत देखिएको चुमानको भनाइ थियो ।
प्रतिक्रिया 4