+
+
Shares

तल्लो सेती जलविद्युत् आयोजना : आवासका लागि जग्गा अधिग्रहण   

तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ ।    

रासस रासस
२०८२ चैत ११ गते १३:२१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ।
  • आयोजनाले वार्षिक ५२ करोड युनिट विद्युत् उत्पादन गर्ने र यसको लागत २५ अर्ब रुपैयाँ अनुमान गरिएको छ।
  • देवघाट गाउँपालिकामा अर्धभूमिगत विद्युत गृह निर्माण गरी उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा समाहित गरिने छ।

११ चैत, तनहुँ । तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ ।

एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्राप्त हुने नियन्त्रित र मादी नदीबाट प्राप्त हुने थप पानी प्रवाहलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो । तल्लो सेतीको विस्तृत आयोजना प्रतिवेदन तयार भइसकेको र अब विद्युतगृह, कार्यालय र कर्मचारी आवास क्षेत्रका लागि देवघाट गाउँपालिकामा पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।

मुआब्जा निर्धारण समितिअन्तर्गत गठित उपसमितिले जग्गा अधिग्रहणस्थलमा रहेका संरचनाको विस्तृत नापजाँच सर्वेक्षण र क्षति सूची तयार गरी प्रतिवेदन समिति समक्ष पेस गरेको प्रमुख भण्डारीले बताए ।

आयोजनाको पहुँच सुरुङ निर्माण कार्यसमेत सुरु भइसकेको छ । चितवनस्थित राजमार्गबाट आयोजनाको विद्युतगृह क्षेत्रतर्फ जान त्रिशुली नदीमाथि निर्माण गरिने पहुँच पुल लागत अनुमान तथा टेण्डर कागजात तयारी सकिएको उनले बताए ।

आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । पानीको प्रवाहलाई देवघाट गाउँपालिका–३ र ४ हुँदै ६.८ किलोमिटर लामो सुरुङमार्फत सेती नदीको सङ्गमदेखि करिब ५०० मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्घ भूमिगत विद्युतगृहमा खसाली विद्युत उत्पादन गर्ने योजना बनाइएको छ । आयोजनाबाट बन्दीपुर गाउँपालिका–६, व्यास नगरपालिका–१३ र १४, देवघाट गाउँपालिका–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी गाउँपालिका–५ र ६ तथा भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुने छन् ।

देवघाट गाउँपालिका–४ गाइघाटमा अर्धभूमिगत विद्युत गृहको निर्माण गरी विद्युत् उत्पादन गरिने छ । उत्पादित विद्युत्लाई तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिने छ । यसका लागि करिब दुई किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्छ । अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किलोमिटर लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुने छ । आयोजनाबाट वार्षिक रुपमा ५२ करोड युनिट विद्युत् उत्पादन हुने छ । आयोजनाको अनुमानित लागत २५ अर्ब रुपैयाँ रहेको छ ।

कम्पनीले आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ । साथै दातृ निकाय एडिबीबाट प्राप्त करिब ३.५ मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी काजगात तयार गर्ने परामर्श सेवा खरिदका लागि वाप्कोस भारत/निप्पन कोई जापान जेभीसँग २९ चैत २०७५ मा खरिद सम्झौता भएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?