११ चैत, काठमाडौं । गत २३ र २४ गते भएको जेनजी आन्दोलनबारे तत्कालीन गृहमन्त्री रमेश लेखकले जेनजी अगुवाहरूकै अभिव्यक्तिबाट घुसपैठ भएको तथ्य आफूले देखेको बताएका छन् ।
जाँचबुझ आयोगसँगको बयानका क्रममा लेखकले राज्यका ऐतिहासिक तथा अमूल्य संरचनामाथि भएका आक्रमणलाई केवल आवेगको परिणाम भनेर सीमित गर्न नमिल्ने तर्क उनले पेश गरेका छन् ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छैन । जनआस्था साप्ताहिकको अनलाईन संस्करणले श्रृङ्खलाबद्ध रुपमा प्रतिवेदनका विषयवस्तु सार्वजनिक गरेको छ ।
जनआस्थाको सौजन्य अनलाइनखबरले प्राप्त गरेको प्रतिवेदनको फोटोकपीमा उनले घटनाक्रम सुरु हुनुअघि नै सामाजिक सञ्जाल र अन्य माध्यमबाट असन्तुष्टि तथा आक्रोश बढिरहेको जानकारी सुरक्षा निकायमार्फत प्राप्त भएको बयान दिएको उल्लेख छ ।
‘…भाद्र २३ मा जियनजेड पुस्ताले उठाएका मागहरू मूलत: ठीक थिए भन्ने कुरा मैले सार्वजनिक रूपमा नै भनेको छु, तर त्यस पवित्र मनोभावनामा घुसपैठ भएर भएका दु:खद घटना र राज्यका ऐतिहासिक तथा अमूल्य संरचनामाथि भएका आक्रमणलाई केवल आवेगको परिणाम भनेर सीमित गर्न मिल्दैन भन्ने मेरो ठम्याइ छ,’ लेखकले बयानका क्रममा भनेका छन् ।
“हाम्रो आन्दोलन सफल भएको छ, यसलाई हाइज्याक गरेर हिंसात्मक बनाइँदैछ, साथीहरू आ–आफ्नो घर फर्किनुस्” भन्ने जियनजेड अगुवाहरूको अभिव्यक्तिले प्रदर्शनमा घुसपैठ भएको तथ्य पुष्टि भएको मैले देखें,’ उनले बयानमा थप व्यहोरा उल्लेख गरेका छन् ।
आफूले फिल्डमा प्रत्यक्ष आदेश नदिने, तर नीतिगत निर्देशन, समन्वय र राजनीतिक तहबाट आवश्यक सहजीकरण गर्ने जिम्मेवारी निर्वाह गरेको स्पष्ट पनि पारेका छन् ।
प्रतिक्रिया 4