News Summary
Generated by OK AI. Editorially reviewed.- महिनावारीमा रगतका साना–ठूला ढिक्का देखिनु सामान्य भए पनि बारम्बार वा धेरै मात्रामा देखिन थाल्यो भने बेवास्ता गर्नु हुँदैन।
- ढिक्का बारम्बार र ठूला आएमा, अत्याधिक रक्तश्राव भएमा र ७ दिनभन्दा बढी महिनावारी चल्दा चिकित्सकलाई देखाउनुपर्छ।
- महिनावारी दुखाइ कम गर्न हल्का व्यायाम र तातो पानीको सेक गर्न सकिन्छ, असह्य भए चिकित्सकलाई देखाउनुपर्छ।
महिनावारी प्रत्येक महिलाको शरीर अनुसार फरक–फरक हुन्छ । कसैलाई हल्का रक्तश्राव हुन्छ भने कसैलाई धेरै पनि हुन सक्छ ।
यही क्रममा कतिपय महिलाहरूलाई महिनावारीमा रगतका साना–ठूला ढिक्का देखिन सक्छन् । धेरै महिलाहरूले आफ्नो महिनावारीको समयमा रगतसँगै ढिक्का देख्दा डराउँछन् । कहिलेकाहीँ यस्तो हुनु सामान्य मानिए पनि, बारम्बार वा धेरै मात्रामा देखिन थाल्यो भने यसलाई बेवास्ता गर्नु हुँदैन ।
पहिला बुझौं, महिनावारीमा रगतको ढिक्का जानुका कारण
स-साना ढिक्का जानु सामान्य कुरा हो । गर्भाशयको भित्री तह हरेक महिना तयार हुन्छ र यदि गर्भ रहन सकेन भने त्यो तह बाहिर निस्किन्छ । यो प्रक्रियामा रगत बग्छ ।रगत बग्दा शरीरले प्राकृतिक रूपमा एन्टी–कोएगुलेन्ट नामको पदार्थ निकाल्छ जसले रगतलाई छिट्टै जम्न दिँदैन । तर यदि रगतको प्रवाह धेरै भारी भयो भने गर्भाशयभित्र रगत केही समय जम्मा हुन्छ र त्यसपछि ढिक्का बनेर बाहिर निस्किन्छ । यी ढिक्काहरु प्रायः जेली जस्ता, रातो वा गाढा रङका हुन्छन । तर यदि थक्का बारम्बार र ठूला आउँछन् भने यो भारी रक्तश्रावको संकेत हुन सक्छ ।
सानो आकारका थक्काहरू (मटरको दानो वा सिक्का जत्रो) विशेष गरी पीरियडको पहिलो १–२ दिनमा आउनु सामान्य मानिन्छ । यो किनभने त्यस बेला रगतको बहाव सबैभन्दा बढी हुन्छ ।
यदि थक्का सानो छ, कहिलेकाहीँ मात्र आउँछ र दैनिक जीवनमा कुनै असर गर्दैन भने चिन्ता गर्नुपर्दैन । यो शरीरको सामान्य सफाइ प्रक्रिया हो । हरेक महिलाको शरीर फरक हुन्छ । त्यसैले, कसैलाई हरेक महिना सानो र कसैलाई कहिलेकाहीँ मात्र रगतमा ढिक्का देखिन्छ ।
कति बेला गम्भीर हुन्छ ?
यदि रगतको ढिक्का बारम्बार र ठूला आउँछन् भने यो भारी रक्तश्रावको संकेत हुनसक्छ । तर ध्यान दिनुपर्ने कुरा के हो भने यदि ढिक्का आउँदा पनि कमजोरी, थकान, चक्कर लाग्ने जस्ता लक्षण देखिन्छन् भने यो एनिमिया (रगतको कमी)को संकेत हुनसक्छ । अन्य कारणहरूमा हर्मोनल परिवर्तन, थाइरोइड समस्या, एनिमिया आदि पर्छन् । तर कहिलेकाहीँ फाइब्रोइड, पोलिप्स, एन्डोमेट्रियोसिस जस्ता स्वास्थ्य समस्या पनि यसको कारण बन्न सक्छन् ।
कहिले चिकित्सकलाई देखाउने ?
– यदि रगतको ढिक्का अंगुरको दाना भन्दा ठूलो वा सिक्का (२.५ सेन्टिमिटर भन्दा ठूलो) भन्दा ठूलो छ र बारम्बार आएमा ।
– हरेक १–२ घण्टामा प्याड वा ट्याम्पोन पूरै भिज्छ, राति उठेर पनि बदल्नुपर्छ, लुगामा रगत लत्पतिने अत्याधिक रक्तश्राव आएमा ।
– ७ दिनभन्दा बढी महिनावारी चल्ने र हरेक दिन रगतको डल्ला आएमा ।
– अचानक महिनावारी चक्र छोटो वा लामो हुनु, बीचमा अत्याधिक रक्तश्राव हुनु, वा प्रवाहमा ठूलो फरक परेमा ।
यदि यो समयमा लगातार ३ महिनासम्म यस्तो भयो भने चिकित्सकलाई देखाउन सकिन्छ । अन्य लक्षणसँगै अत्याधिक पेट दुखाइ, कमजोरी, थकान, चक्कर लाग्नु, सास फुल्नु, अनुहार पहेलो भएमा पनि चिकित्सकलाई देखाउनु उचित हुन्छ ।
यी लक्षणहरूले फाइब्रोइड, पोलिप्स, हर्मोनल असन्तुलन, एन्डोमेट्रियोसिस, थाइरोइड समस्या वा कहिलेकाहीँ अरू गम्भीर अवस्था देखाउन सक्छन् ।
महिनावारी दुखाइ कम कसरी गर्ने ?
हल्का व्यायाम गर्ने र तातो पानीको सेक्दा आरामले मद्दत गर्छ । यदि दुखाइ असह्य छ भने चिकित्सकलाई देखाउनु उचित हुन्छ । धुम्रपान र मदिरा सेवन गर्न हुँदैन । यी तत्वले पनि हर्मोन असन्तुलन राख्न मद्दत गर्छ ।
प्रतिक्रिया 4