News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीले २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पाँच सिटमा मात्र जित्दा अध्यक्ष राजेन्द्र लिङ्देनमाथि राजीनामा दिन दबाब बढेको छ।
- राप्रपाका उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई पार्टी भित्रको अन्तर्घातका कारण पदमुक्त गरिएको छ।
- पार्टी भित्र नेताहरूले अध्यक्ष लिङ्देनको नेतृत्वशैलीप्रति प्रश्न उठाउँदै पार्टी रूपान्तरण र नेतृत्व परिवर्तनको माग गरेका छन्।
१२ चैत, काठमाडौं । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच सिटमा खुम्चिएपछि अध्यक्ष राजेन्द्र लिङ्देनमाथि पदीय भूमिका छोड्नुपर्ने दबाब बढेको छ ।
प्रत्यक्षतर्फ राप्रपाका एक जना मात्र उम्मेदवार निर्वाचित भएका छन् । समानुपातिकतर्फ पनि राप्रपा जम्मा चार सिटमा खुम्चिएको छ । १५९ वटा निर्वाचन क्षेत्रमा त राप्रपाका उम्मेदवारको जमानत नै जफत भयो ।
पार्टी प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट प्रत्यक्ष निर्वाचित भए भने समानुपातिकबाट खुश्बु ओली, ताहिर अली, भरत गिरी र सरस्वती लामा सांसद बनेका छन् ।
अध्यक्ष लिङ्देन स्वयं झापा-३ बाट पराजित भए । राप्रपाबाट दोस्रो स्थानको मत ल्याउने लिङ्देन एकल व्यक्ति हुन् ।

पदाधिकारीमा एक जना बाहेक सबै पराजित हुनु एवं समानुपातिकको मत पनि घट्दा अध्यक्ष लिङ्देनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज पार्टी भित्र उठ्न थालेको छ ।
अघिल्लो निर्वाचनमा राप्रपाले प्रत्यक्षमा सात सिट जितेको थियो भने समानुपातिकबाट पनि सातै जना सांसद बनेका थिए । यसपटक समानुपातिकमा राप्रपालाई २०७९ सालभन्दा २ लाख ५८ हजार १६५ मत कम खसेको छ । राप्रपाले समानुपातिकमा ३ लाख ३० हजार ३८४ मत प्राप्त गरेको छ ।
एकातर्फ, प्रत्यक्षमा एक जना मात्रै जित्नु र अर्कोतर्फ समानुपातिकमा उल्लेख्य मत घट्नुमा अध्यक्ष लिङ्देनको नेतृत्वमाथि नेताहरूले प्रश्न उठाएका छन् । शीर्ष तहका नेताहरूले नै अध्यक्ष लिङ्देनको राजीनामा माग्न थालेका छन् । निर्देशक समितिबाट तीनदिन अघि राजीनामा दिएका नेता प्रकाशचन्द्र लोहनी नेतृत्व तहमा रहेका जिम्मेवार पदाधिकारीले तत्काल मार्ग प्रशस्त गर्नुपर्ने बताउँछन् ।
जनभावनाअनुरूप तदर्थ समिति गठन गरेर महाधिवेशन गर्नुपर्ने लोहनीको भनाइ छ । अध्यक्ष लिङ्देनको नाम नलिई पद छोड्नुपर्ने बताएका लोहनीले निर्देशक समितिको अध्यक्षबाट राजीनामा दिएका छन् ।
राप्रपाका लागि प्रतिकूल नतिजा नआइसकेपछि पनि चुनावी समीक्षा गर्न अध्यक्ष लिङ्देनले बैठक बोलाएका छैनन् । समानुपातिक सांसद चयन गर्न एक दिन कार्यसम्पादन समितिको बैठक डाकिए पनि चुनावी हारको समीक्षा हुने गरी बैठक आह्वान हालसम्म भएको छैन ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार चुनावी समीक्षाका लागि पार्टीको बैठक बोलाउने तयारी भएको छ ।
केन्द्रीय सदस्य रञ्जन कार्की चुनावी समीक्षाका लागि बैठक बोलाउनुपर्ने र अध्यक्ष लिङ्देनले हारको जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने बताउँछन् । राप्रपाले जितेको अवस्थामा जस स्वतः अध्यक्ष लिङ्देनमा जाने उल्लेख गर्दै केन्द्रीय सदस्य कार्की भन्छन्, ‘राम्रो भयो भने त्यसको श्रेय अध्यक्षलाई नै जान्छ । हारको जिम्मेवारी अध्यक्ष उहाँले नै लिनुपर्छ । र, राजीनामा दिनुपर्छ ।’
राप्रपाका लागि अप्रत्यासित परिणाम आएपछि अध्यक्ष लिङ्देनको पार्टी सञ्चालन शैलीप्रति समेत नेताहरूले प्रश्न उठाएका छन् । राप्रपालाई सशक्त बनाउन पार्टी रुपान्तरण गर्नुपर्नेमा नेताहरूले जोड दिएका छन् ।
महामन्त्री शरदराज पाठक तल्लो एकाइदेखि केन्द्रीय नेतृत्वसम्म परिवर्तन गर्नुपर्ने बताउँछन् । केन्द्रीय नेतृत्व परिवर्तनको पक्षमा रहेका महामन्त्री पाठक पार्टीको नाम र चुनाव चिह्न पनि परिवर्तन गर्नुपर्ने बताउँछन् ।
‘राप्रपाको एजेन्डामा खास ठूलो समस्या छैन । समस्या हामीहरूको चिन्तन र कार्यशैलीमा छ,’ महामन्त्री पाठक पार्टीको भविष्यप्रति चिन्ता गर्दै भन्छन्, ‘यही शैली र सोचबाट अघि बढ्ने हो भने पार्टीले आउने स्थानीय तह र प्रदेश तहको निर्वाचनमा सुयोग्य र आम मतदातामा प्रभाव पार्न सक्ने उम्मेदवार भेट्न पनि मुस्किल हुनेछ, अपवाद स्थानलाई छोडेर ।’
राप्रपा नेताहरूका अनुसार मंसिरमा भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष लिङ्देनले पहिलो पार्टी हुने दाबी सहितको विचार राखेका थिए । राजसंस्थाको पक्षमा ठूलो जनमत रहेको र उक्त मत राप्रपालाई खस्ने विचारसहित नेताहरूलाई अध्यक्ष लिङ्देनले आश्वस्त पारेको नेताहरूले जानकारी गराएका छन् ।
अध्यक्ष लिङ्देन पार्टी भित्र एकता कायम गर्न चुकेको र राष्ट्रवादी शक्तिहरूलाई एकीकृत गर्न असफल रहेको केन्द्रीय सदस्य कार्की बताउँछन् । उनी भन्छन्, ‘मूलधारको वैकल्पिक शक्ति बनाउन सक्नुपर्थ्यो । अहिलेको व्यवस्थाबाट आजित भएका मान्छेहरू कयौं हुँदा पनि राप्रपाको मत खुम्चिएको छ । वैकल्पिक दलमा योग्य पार्टी बनाउन नसक्नुको जिम्मेवारी अध्यक्षले लिनुपर्छ ।’
राप्रपाका उम्मेदवार पराजित भएपछि पार्टी भित्रबाट अन्तर्घात भएको भन्दै अनुशासनको कारबाही सुरु गरिएको छ । उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई पदमुक्त गरिएको छ ।
अध्यक्ष लिङ्देनले आफ्नो असफलताबाट ध्यान अन्यत्रै मोड्न आफूहरूमाथि कारबाही गरिएको राजभण्डारी र आचार्यले बताएका छन् । पदमुक्त गरिएका दुई नेता भन्छन्, ‘यो शर्मनाक असफलताको पूर्ण जिम्मेवारी नेतृत्वले हामी दुईमाथि मात्र थोपरेर ध्यान अन्यत्र मोड्दैमा लज्जास्पद हारको नतिजा र तथ्याङ्क परिवर्तन हुने होइन । हामीलाई कारबाही गर्दैमा मूल नेतृत्व नैतिक जिम्मेवारीबाट मुक्त हुने पनि होइन ।’
प्रदेश सांसद रहेका व्यक्तिलाई राजीनामा गर्न लगाएर प्रतिनिधिसभामा उम्मेदवार बनाउने कार्य अध्यक्ष लिङ्देनबाट भएको भन्दै पार्टीमा प्रश्न उठेको छ ।
कोशी प्रदेशसभामा संसदीय दलको नेतासमेत रहेका भक्ति सिटौला झापा-४ मा उम्मेदवार बनेर चौथो स्थानको मत ल्याएका छन् । बागमतीका सांसद सुनिल केसीलाई पार्टी छोड्ने अवस्था बनेकोप्रति पनि समीक्षा हुनुपर्ने नेताहरूले बताएका छन् । राप्रपाबाट बागमती प्रदेश सांसद रहेका केसी पार्टी परित्याग गरी रास्वपाबाट काठमाडौं-२ मा निर्वाचित भए ।

राजभण्डारी र आचार्य भन्छन्, ‘लहडमा गरिएको निर्णयको प्रतिफलस्वरूप पार्टीले कोशीमा निर्वाचित सांसद गुमायो । त्यसैगरी बागमती प्रदेशका अर्का निर्वाचित सांसदलाई पार्टीले जोगाउन सकेन । जननिर्वाचित दुई पद किन र कसका लागि रिक्त बनाइयो भन्ने कुरा पार्टीपंक्तिले खोजी गर्नुपर्छ ।’
पार्टीले समानुपातिकतर्फ सांसद बनाउँदा असन्तुष्टिसमेत राप्रपामा देखिएको छ । दलिततर्फबाट समानुपातिकमा एक जना पनि चयन नगरिएकोप्रति आपत्ति जनाउँदै कार्यसम्पादन समिति सदस्य ऋषिबाबु परियारले राजीनामा दिएका छन् ।
दलित समस्याप्रति संवेदनशील नभएको, समानुपातिकमा दलित सांसद नबनाएको, राजनीतिक र वैचारिक स्पष्टता हुन नसकेको लगायतका कारण देखाउँदै पदबाट राजीनामा दिएको परियारले बताएका छन् ।
पार्टी संस्थापन पक्षले भने सभापति लिङ्देनको राजीनामा माग्नेहरू आफ्नै उम्मेदवारको पक्षमा मत नमाग्नेहरू भएको आरोप लगाएको छ । अध्यक्ष लिङ्देन निकट शीर्ष तहका एक नेताले भने, ‘जसले राप्रपा उम्मेदवारको पक्षमा भोट मागेनन् । भोट हाल्नै गएनन् । तिनीहरूले राजीनामा माग्नुको के अर्थ हुन्छ र ?’
प्रतिक्रिया 4