News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निलम्बनपछि राष्ट्रिय लिगदेखि सबै प्रतियोगिता रोकिएको दाबी गरेको छ।
- एन्फाका महासचिव किरण राईले राखेपले स्वीकृति नदिए नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँगको खेलमा सहभागी हुन नसक्ने बताएका छन्।
- एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङले राखेपले गरेको निलम्बन बिना सर्त फिर्ता लिनुपर्ने र नेपालमा अन्तर्राष्ट्रिय खेल संघहरूको विधानलाई समर्थन गर्ने खेलकुद ऐन बनाउने माग गरेका छन्।
१३ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निलम्बनपछि धेरै प्रतियोगिता प्रभावित भएको जिकीर गरेको छ ।
निर्वाचन स्थगित भएपछि आयोजित पत्रकार सम्मेलनमा एन्फाका महासचिव किरण राईले राखेपको निलम्बनले राष्ट्रिय लिगदेखि सबै खेलहरू रोकिएको दाबी गरेका हुन् ।
‘धेरै प्रतियोगिता रोकियो । राष्ट्रिय लिगदेखि सबै कुराहरू रोकिएको छ । गोल्डकप लगायत धेरै प्रतियोगिताहरू पाइपलाइनमा थियो, अब त्यो कसरी गर्ने होला,’ उनले भने ।
निलम्बनपछि नेपाली फुटबलको जिम्मा राखेपलाई भएको महासचिव राईले बताए । उनले भने, ‘नेपाली फुटबलको सन्दर्भमा यहाँहरूले हामीलाई निलम्बन गरिसकेपछि नेपाली फुटबल कसरी लैजाने भन्ने जिम्मा राखेपलाई नै भएको कुरा जानकारी गराउदछु ।’
नेपालले ४ दिनपछि एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँग खेल्दैछ । उक्त खेल खेल्नका लागि पनि राखेपबाट स्वीकृति नआएको महासचिव राईले उल्लेख गरे । राखेपले स्वीकृति नदिए टिम सहभागी हुने स्थिति नरहेको उनको भनाइ छ । आफुहरू पदबाट हटे नेपाली फुटबल राम्रो हुन्छ भने जति बेला पनि हट्न तयार रहेको महासचिव राईले दाबी गरे ।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङले आफुहरू फुटबललाई विनासर्त, विना स्वार्थ सहयोग गर्ने व्यक्तिहरू भएको उल्लेख गरे । राखेपले एन्फालाई गरेको निलम्बन बिना सर्त फिर्ता लिनुपर्नेमा अध्यक्ष नेम्बाङले जोड दिए ।
अन्य देशहरूमा अन्तर्राष्ट्रिय खेल संघहरूको विधानलाई सपोर्ट गर्ने खालको खेलकुद ऐन हुने हुँदा नेपालमा पनि सोही किसिमको ऐन बनाउने उनले माग गरे ।
प्रतिक्रिया 4