News Summary
Generated by OK AI. Editorially reviewed.- निशा मेहताले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बनेपछि स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेकी छिन्।
- उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजमा नर्सिङ क्षेत्रमा काम गरेकी छिन्।
- मेहताले स्वास्थ्य नीति ऐनलाई पूर्ण कार्यावन्यन गरी सर्वसुलभ स्वास्थ्य सेवा दिन प्रयासरत रहने बताएकी छिन्।
१३ चैत, काठमाडौं । सेतो एप्रोन लगाएर बिरामी सेवाको गर्ने हातले अब स्वास्थ्य क्षेत्रको नीति बनाउने कलम समाउँदै छ ।
सुनसरीको इनरुवामा हुर्किएकी निशा मेहता वर्षौंसम्म अस्पतालका वार्डमा बिरामीको सेवा गर्दै आएकी थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बनेसँगै मेहताले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेकी छिन् ।
२०४४ जन्मिएकी निशाले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेकी छिन् ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्लिनिकल नर्सका रूपमा करिब तीन वर्ष काम गरेकी थिइन् । त्यसपछि उनी शिक्षण क्षेत्रमा प्रवेश गरिन् । विराटनगरस्थित विराट मेडिकल कलेजमा नर्सिङ विषय अध्यापन गर्दै उनी लेक्चररका रूपमा कार्यरत थिइन् ।
स्वास्थ्य सेवाको अग्रपंक्तिमा वर्षौँ काम गरेकी मेहताले अब नीतिगत तहबाट स्वास्थ्य प्रणाली सुधार्ने जिम्मेवारी पाएकी छिन् । उनका श्रीमान् डा. सरोज सिंह कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) हुन् ।
मेहता राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएलगत्तै उनी साधारण सदस्यका रूपमा पार्टीसँग जोडिएकी थिइन् । सुरुदेखि नै पार्टी गतिविधिमा सक्रिय रहेकी उनी पछिल्लो चार वर्षदेखि पार्टीको केन्द्रीय सदस्यका रूपमा काम गर्दै आएकी छिन् ।
२०७९ को निर्वाचनमा पनि पार्टीले उनलाई समानुपातिक सूचीमा राखेको थियो । तर त्यतिबेला सांसद बन्ने अवसर पाइनन् । त्यो असफलताले उनलाई निराश बनाएन । बरु संगठन भित्र अझ सक्रिय भएर काम गर्न प्रेरित गर्यो ।
राजनीतिमा सक्रिय रहँदा पनि उनले सामाजिक कामलाई निरन्तरता दिइन् । नेपाल प्रहरी श्रीमती संघ, कोशी प्रदेशको प्रशासन सचिवका रूपमा काम गर्दा उनले स्वास्थ्य शिविर सञ्चालन, महिला तथा बालबालिकासम्बन्धी कार्यक्रम तथा समुदाय केन्द्रित गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गरिन् ।
‘परिवर्तन गर्ने चाहनासहित रास्वपा स्थापना भएको समयदेखि नै जोडिएको हुँ,’ उनी भन्छिन्, ‘मन्त्री बन्ने अवसर पाएको छु । आफ्नो क्षमता अनुसार काम गर्नेछु ।’
उनले अगाडि थपिन्, ‘आर्थिक अवस्था कमजोर हुँदा उपचार नपाएर मृत्युवरण गरेको दृश्य आफैंले देखेको छु । त्यसलाई अन्त्य गर्ने मेरो कोसिस रहने छ ।’
स्वास्थ्यका नीति ऐनलाई पूर्ण कार्यावन्यन गरी सर्वसुलभ रूपमा स्वास्थ्य सेवा दिन प्रयासरत रहने मेहताको भनाइ छ ।
प्रतिक्रिया 4