News Summary
Generated by OK AI. Editorially reviewed.- सांगीतिक पृष्ठभूमिका कलाकार बालेन शाह प्रधानमन्त्री नियुक्त भएपछि फिल्म, संगीत र ब्युटी पेजेन्टका सेलिब्रेटीले शुभकामना र प्रतिक्रिया दिएका छन्।
- अभिनेता अनमोल केसीले बालेनलाई कलाकार मात्र नभई सम्पूर्ण नेपालीको आशा भरोसाको रुपमा काम गर्न शुभकामना दिएका छन्।
- अभिनेता पल शाहले बालेन सरकारबाट सुशासन, भ्रष्टाचारको अन्त्य, रोजगारी सिर्जना र विकासको आशा राखेको बताएका छन्।
काठमाडौैं । सांगीतिक पृष्ठभूमिका कलाकार बालेन शाह मुलुकको प्रधानमन्त्रीमा नियुक्त भएपछि मनोरञ्जन वृत्तबाट उत्साहपूर्ण प्रतिक्रिया आउन थालेको छ । फिल्म, संगीत र ब्युटी पेजेन्टका सेलिब्रेटीले प्रतिक्रिया दिइरहेका छन् ।
फिल्म अभिनेता अनमोल केसीले बालेनको नियुक्तिमा खुसी जनाउँदै नेपालीको आशा, भरोसाको रुपमा काम गर्न सक्नुहोस् भन्दै शुभेच्छा व्यक्त गरेका छन् ।
अनमोल लेख्छन्- हार्दिक बधाई छ, प्रधानमन्त्री बालेन दाइ ! देशले प्रधामन्त्रीको रुपमा आजबाट कलाकारलाई पाएको छ । असाध्यै खुसी लागेको छ । तर, तपाईं कलाकारको रुपमा मात्र नभई, सम्पूर्ण नेपालीको आशा भरोसाको रुपमा अभूतपूर्व काम गर्नुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु । यो जित केवल तपाईंको होइन, हामी सबैको आशा र विश्वासको जित हो । सधैंजस्तै सच्चा, सरल र देशका लागि काम गर्ने ऊर्जा यही रूपमा अगाडि बढोस् । धेरै धेरै शुभकामना दाइ ।’
अभिनेता पल शाहले सहि नेतृत्व र जनताको विश्वासले नेपाल अघि बढ्ने आशा राखेका छन् । जनताले बालेनको सरकारबाट सुशासन, भ्रष्टाचारको अन्त्य, रोजगारी सिर्जना, आर्थिक विकास, शिक्षा र स्वास्थ्य सेवा सुधार, पूर्वाधार विकास र कानुनको शासनको आशा राखेको पलले उल्लेख गरेका छन् ।
अभिनेत्री करिश्मा मानन्धरले पनि बालेन सरकारलाई शुभकामनासहित केही सुझाव दिएकी छन् । हरेक निर्णयमा दूरदृष्टि राख्न, चुनौतिको सामना गर्ने साहस मिलोस् भन्ने सुझाव उनको छ । जनताले गरेको आशा अनुरुप, सकारात्मक परिवर्तनको मार्गमा अघि बढ्न करिश्माले आग्रह गरेकी छन् ।
करिश्मा लेख्छिन्, ‘ यस नयाँ नेतृत्वले देशमा स्थायित्व, सुशासन, प्रगति र समृद्धि स्थापित गर्न सफल होस् भन्ने कामना गर्दछु ।
हरेक निर्णयमा दूरदृष्टि रहोस्, ! चुनौतीहरूको सामना गर्ने साहस मिलोस्, ! नेपाली जनताले गरेको आशा अनुरुप, सकारात्मक परिवर्तनको मार्गमा निरन्तर अगाडि बढिरहोस् । सफल, प्रभावकारी र ऐतिहासिक कार्यकालको लागि हार्दिक शुभेच्छा ।’
अभिनेता दीपकराज गिरीले नयाँ सरकार बनेपछि गुण र दोषको आधारमा सरकारको समर्थन र विरोध गर्ने संकेत गरेका छन् । उनी लेख्छन्, ‘हामीले पनि सपथ लिनुपर्छ । आजबाट सरकारले जे गरेपनि आहा भनेर भजन गाउँदैनौं । विरोध गर्नैपर्छ भनेर बहाना निकाल्दै विरोध पनि गर्दैनौं । जयश्री राम ।’
पूर्वमिस नेपाल बालेन सरकारलाई बधाई तथा शुभकामना दिँदै एक्स (ट्वीटर)मा अंग्रेजीमा कविता पोस्ट गरेकी छन् । उनले नयाँ सरकारले देश र जनताको पक्षमा काम गर्ने आशा व्यक्त गरेकी छन् ।
कलाकार सन्दीप क्षेत्रीले बालेन सरकारलाई बधाई दिँदै मुलुकले अब आनन्द र स्थिरताको सास फेर्ने विश्वास लिएका छन् ।
‘कमेडी नाइट विथ च्याम्पियन्स’ फेम्ड निर्देशक विशाल भण्डारीले मतदाताको भावनाअनुरुप काम गरेर देशको मुहार फेर्न बालेन सरकारलाई सुझाव दिएका छन् । उनले नवनियुक्त गृहमन्त्री सुदन गुरुङको प्रशंसा गर्दै मन्त्रीमण्डलमा जेनजी आन्दोलनको भावना, माग र दोषी यकिन भएको पर्फेक्ट गृहमन्त्री हुने बताएका छन् ।
अभिनेत्री मिरुना मगरले बालेनले सपथ लिन लागेको फोटो सेयर गर्दै आजको दिन मुलुकको आशा र सम्भावनाको समय भएको बताएकी छन् । मुलुकको वास्तविक शक्ति जनतासँग हुने बताउँदै मिरुनाले सबैजना उत्तरदायी भएमात्र विकास हुने बताएकी छन् । उनले सबैजना मिलेर समृद्ध नेपाल बनाउनुपर्ने बताएकी छन् ।
प्रतिक्रिया 4