News Summary
Generated by OK AI. Editorially reviewed.- बालेन सरकारकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले १३ चैतमा मन्त्रालयमा पदभार ग्रहण गरेपछि भावुक भइन्।
- वादी समुदायले १८ वर्षअघि सिंहदरबार अगाडि अर्धनग्न प्रदर्शन गरी शिक्षा, स्वास्थ्य, रोजगारी र जग्गाको माग राखेको थियो।
- सीता वादी दलित महिला क्लस्टरबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनेकी हुन् र सामाजिक अधिकारकर्मी हुन्।
१३ चैत, सुर्खेत । बालेन सरकारकी नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादी शुक्रबार दिउँसो मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा एक्कासि भक्कानिइन् ।
पदभार लगत्तै उनका आँखा भरिए, अनुहार मलिन भयो । केहीबेरपछि सम्हालिएर स्वागत ग्रहण गरिन् । सीता जुन समुदाय र सङ्घर्षबाट आएकी थिइन्, त्यो सामान्य छैन । उनी जुन कुर्सीमा पदभार गर्दै थिइन्, त्यो कुर्सीका लागि वादी समुदायले सदियौँ कुर्नु पर्यो ।
लामो समय वादी समुदायले चरम गरिबी, अभाव, सामाजिक विभेद, तिरस्कार र घृणा भोग्यो । आफ्नो सम्मानजनक जीवन बाँच्नकै लागि विभिन्न कालखण्डमा चरणबद्ध आन्दोलन गर्यो । शिक्षा, स्वास्थ्य, रोजगारी र भूमि व्यवस्थाको माग गर्दै २०६२ मा देशभर आन्दोलन गर्यो । तर सरकारले सुनेन ।
२०६४ मा त्यस्तै अर्को महत्त्वपूर्ण आन्दोलन भयो । वादी समुदायले यस पटक इतिहासमै पहिलो पटक राजधानी केन्द्रित आन्दोलन गरे । माइतीघर र सिंहदरबार अगाडि ४८ दिन अर्धनग्न प्रदर्शन गरेपछि सरकारले उनीहरूको कुरा सुन्यो ।
वादी समुदायले शिक्षा, स्वास्थ्य, रोजगारी, जग्गा–जमिन र सम्मानपूर्वक बाँच्न पाउनुपर्ने मागसहित सिंहदरबार अगाडि अर्धनग्न प्रदर्शन गरेको १८ वर्षपछि वादी समुदायले सिंहदरबार भित्र प्रवेश पाएको छ ।
सीतालाई दलित महिला क्लस्टरबाट रास्वपाले समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनाएर संसद्मा पुर्याएको थियो । २०५२ सालमा सुर्खेतको वीरेन्द्रनगर–११ झुप्रा खोलामा जन्मिएकी उनी दलित र महिला अधिकारकर्मी हुन् ।
दलित समुदायमा पनि निकै पछि पारिएको छ, वादी समुदाय । नदी किनार, खुला जमिन वा अस्थायी बस्तीमा बसोबास गर्ने यो समुदायका नागरिकसँग जग्गाको स्वामित्व छैन । उनीहरूले सामाजिक, आर्थिक लगायतका थुप्रै समस्याको सामना गर्दै आएका छन् । यही समुदायबाट प्रतिनिधित्व गर्ने सीता अब देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा देखिने छिन् ।
सीताले बाल्यकालमा गरिबी, जातीय विभेद र बहिष्कार भोगिन् । अपमान सहिन् । गरिबीलाई नियति र अपमानलाई सामान्य व्यवहार मानेर हुर्किइन् । उमेर बढ्दै जाँदा समाज र जात व्यवस्थाबारे बुझ्न थालिन् । र, उत्पीडनमा परेको वादी समुदायको हक, अधिकारका लागि पटक-पटक गरिएका आन्दोलनको नेतृत्व गरिन् ।
कयौं सार्वजनिक बहसमा सहभागी भइन् । राज्य संयन्त्रलाई प्रश्न गरिन् । अधिकारकर्मी हुँदा सीता भन्थिन्, ‘सरकार भनेकै उत्पीडनमा परेका समुदायका लागि गर्नुपर्ने हो । तर सरकारले हाम्रो माग र चासोलाई सम्बोधन गर्न सकेन ।’ हिजो जुन समुदायको लागि आवाज उठाउँदै हिँडेकी थिइन्, उनी आज तिनै माग सम्बोधन गर्ने ठाउँमा पुगेकी छिन् ।
वादी समुदायका आधारभूत आवश्यकता गाँस, बास र कपासको सुनिश्चितता गरिदिन भन्दै सडकमा चर्को आवाज उठाउने सीताको काँधमा देशका महिला, बालबालिका र ज्येष्ठ नागरिकको भविष्य बोक्ने जिम्मेवारी प्राप्त भएको छ ।
वादी समुदायका अगुवाहरूले सीता मन्त्री बन्नुलाई मात्रै ऐतिहासिक उपलब्धिका रूपमा मानेका छन् । ‘पहिलो पटक संघीय सरकारमा हाम्रो समुदायको प्रतिनिधित्व भएको छ । यो हामी सबैका लागि गर्व र सम्मानको विषय बनेको छ,’ वादी समुदायका अगुवा हिक्मत वादी भन्छन् ।
बहिष्करण र अपमानपूर्ण बाल्यकाल
कर्णालीको राजधानी वीरेन्द्रनगर बजार क्षेत्रबाट १० किलोमिटर पूर्व लागेपछि भेटिन्छ, झुप्रा खोला । वीरेन्द्रनगर नगरपालिकाको–११ नम्बर वडामा पर्ने यो खोला किनारमा लस्करै छन्, १३५ घरपरिवार वादी समुदाय ।
यो खोला किनारमा मान्छेहरू बस्न थालेको चार दशक बित्यो । ४० को दशकमा दैलेख, सुर्खेत, सल्यान लगायतका क्षेत्रबाट आएका वादी समुदायका केही व्यक्तिहरूले बसालेको बस्ती हो, यो । झुप्रा खोला बस्ती नामले परिचित यो ठाउँले नयाँ नाम पाएको छ, ‘नयाँ गाउँ ।’
यो बस्तीका नागरिकले गरिबी, जातीय विभेद, बहिष्कार र अपमान मात्रै सहेका छैनन्, राज्यले प्रदान गर्ने सामान्य आधारभूत आवश्यकताबाट समेत वञ्चित छन् । कोहलपुर–सुर्खेत विद्युत् प्रसारण लाइन यही बस्ती भएर राजधानी वीरेन्द्रनगरमा आउँछ । तर बस्ती अन्धकारमा छ ।
बस्ती जंगलै जंगलको बीचमा छ, तर घाँस-दाउराको अभाव छ । बर्खामा बाढी र हिउँदमा ब्याधी बोकेर आउने झुप्रा खोला र भेरी नदी छेउछाउमै छन् उनीहरू । तर सफा खानेपानी छैन । बेरोजगारीले गरिबीको रेखा झन् गाढा बनाइदिएको छ ।
यही बस्तीमा जन्मे–हुर्किएकी हुन्, सीता वादी । सानो छँदा ‘आज बालुवा बिक्री भयो भने मात्रै भरे पेटभरि खान पाइएला’ भनेर सुर्ता गर्ने सीताका संघर्ष कुनै फिल्मी कथा भन्दा कम छैन । उनको बाल्यकाल बालुवा खानीमा काम गर्दै बित्यो । सपरिवार बालुवा संकलन गर्ने र छान्ने काम गर्थे ।
‘ट्याक्टरवालाहरूलाई दौडी-दौडी मेरो बालुवा किनिदिनुस् न !’ भन्दै चिच्याउँदै आफ्नो बालुवाको थुप्रोतर्फ लैजान्थ्यौँ,’ एक अन्तर्वार्तामा सीताले भनेकी छिन्, ‘आफ्नो बालुवा बेच्न सके मात्र बेलुका घरमा मिठो–मसिनो खान पाइन्छ भन्ने सानैदेखि हामीलाई थाहा थियो ।’

बालुवा र पानी खेलेर हुर्किइन् । पानी, बालुवा, ढुङ्गा र माटो नै उनीहरूको खेलौना थियो । खेती बाली र रोपाइँ गर्न आफ्नो बारी थिएन । कतिसम्म भने, उनका बाआमालाई सरकारी स्कुलमै पढाउन पनि सहज थिएन । त्यहीबीचमा ‘लाइट हार्ट’ नामक गैरसरकारी संस्थाको सहयोगमा डेढ दशकअघि १२ वर्षको उमेरमा उनी पढ्नका लागि घरपरिवार छाडेर काठमाडौं गइन् ।
उनी सँगै सोही बस्तीका अन्य बालबालिकाहरू पनि साथमा थिए । उक्त संस्थाले पढ्ने व्यवस्था मिलाइदियो । त्यही संस्थामै बसेर बढिन् । १० कक्षा सकेपछि सीताले सोही संस्थाको कार्यालयमै काम सुरु गरिन् । त्यहीबाटै स्नातकको पढाइ सकेपछि भने बाहिरका कामहरू गर्दै स्वतन्त्र रूपमा बस्न थालिन् ।
‘लाइट हार्टले नै हामीलाई शिक्षाको उज्यालो दियो । यदि समयमै पढ्न नपाएको भए मेरो जिन्दगी मरुभूमि जस्तै पो हुन्थ्यो कि ?,’ उक्त अन्तर्वार्तामा उनले आफ्नो विगत सम्झिँदै भनेकी थिइन् ।
पढ्न र आत्मसम्मानसहित बाँच्ने आधार पाएपछि उनले पढाइलाई स्नातकोत्तरसम्म पुर्याइन् । सामाजिक विषयमा स्नातक पूरा गरेकी सीताले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् ।
‘म जान्न चाहन्थेँ, हाम्रो समुदायलाई सधैँ पछाडि किन पारिन्छ ? संविधानमा लेखिएको समानता व्यवहारमा किन देखिँदैन ?,’ उनले भनिन्, ‘त्यही भएर नै राजनीतिशास्त्र पढेको थिएँ । समयले त्यही जिम्मेवारीमा पुर्याइदियो ।’
व्यापार र अधिकारको आवाज
लामो समय सामाजिक कार्यको अनुभव सँगालेर सीता सरकारमा गएकी छिन् । अहिले पनि दुर्गम क्षेत्रका विपन्न समुदायका बालबालिकालाई शिक्षा र महिला दिदीबहिनीलाई व्यावसायिक तालिम दिइरहेकी छन् ।
सीता ‘वादी सस्टेन मल्टिपर्पोज’ नामक हस्तकला व्यवसायमा संलग्न छिन् । उक्त कम्पनीले माला, पोते लगायत हस्तकलाका सामान बनाउँदै आएको छ । १२ सय रुपैयाँको लगानीबाट सात वर्षअघि सुरु गरेको उक्त व्यवसायबाट पाँच जनाले रोजगारी पाएका छन् । उक्त व्यवसायबाट हुने नाफाबाटै वादी समुदायका केही बालबालिकालाई पढ्न मद्दत गर्दै आएकी छिन् ।
यस उद्यमले उनलाई आर्थिक रूपमा सक्षम बनाउनुका साथै अन्य महिलाका लागि पनि रोजगारी सिर्जना गर्ने अवसर प्रदान गर्यो । साना उद्यममार्फत महिलालाई आत्मनिर्भर बनाउने उनको प्रयास समाजका लागि उदाहरणीय बनेको छ । उनले देशका निभिन क्षेत्रका वादी र विपन्न समुदायका महिलालाई स्वरोजगारमूलक तालिमसमेत दिँदै आएकी छिन् ।
उनीहरूले उत्पादन गरेका सामग्रीहरू देश, विदेशमा समेत बिक्री–वितरण गर्छिन् । सुन्दर सहज नेपाल नामक संस्था सञ्चालन गर्दै आएकी उनले वादी समुदायका बालबालिकाहरूलाई शिक्षाको उज्यालो छर्दै आएकी छिन् । उनले विभिन्न क्षेत्रका २० जनाभन्दा बढी वादी समुदायका बालबालिकालाई संस्थाकै होस्टेलमा राखेर निःशुल्क पठनपाठनसमेत गर्दै आएकी छिन् ।
सीतालाई ठूलो हुँदासम्म पनि वादी समुदायलाई अन्य समुदायले हेर्ने ‘नजरिया’बारे थाहा थिएन । जब आफ्नो समुदायमाथि समाजले बुझ्दै आएको गलत भाष्यबारे थाहा पाइन् त्यतिबेला साह्रै दुःख लागेको उनी सुनाउँछिन् ।
‘वादी समुदाय भन्ने बित्तिकै आम मानिसको दिमागमा यस समुदायका महिलाहरू यौन पेसा अँगाल्छन् भन्ने धारणा रहेछ,’ उनले भनिन्, ‘तर हाम्रो समुदायको पहिचान त्यो थिएन । त्यसलाई चिर्न हामीले ठूलौ संघर्ष गर्नुपर्यो ।’
जात व्यवस्थाले गाँजेको हाम्रो सामाजिक संरचनामा देशमा पूँजी थोरैको हातमा केन्द्रित छ । राजनीति शक्तिशालीकै वरिपरि घुम्छ भन्ने मान्यता अहिले चिरिएको उनले बताइन् । ‘दलित समुदाय भित्र पनि पछाडि पारिएको एक महिला, अझ वादी समुदायकी छोरी, आज मन्त्री बन्नु मेरा लागि ठूलो कुरा हो । अवसर र चुनौती दुवै हो,’ उनले भनिन् ।
सीताका बुवा-आमा अहिले पनि झुप्रा खोलामै बस्दै आएका छन् । बालुवा उत्खनन गरेर जीविकोपार्जन गर्छन् । सीता मन्त्री बनेको थाहा पाएपछि आज नयाँ गाउँ हर्षित छ । हरेक चुनावमा भोट बैंकका रूपमा प्रयोग हुने नयाँ गाउँ सधैँ राज्य र राजनीतिक दलको उपेक्षामा रहेको थियो ।
मिहिनेत र संघर्षकै कारण सीता यहाँसम्म पुगेको वादी समुदायका अगुवा हिक्मत वादी बताउँछन् । ‘यो हाम्रा लागि गर्वको कुरा हो । वादी समुदायले पहिलो पटक मन्त्री पाएको छ । यसलाई अवसरका रूपमा सदुपयोग गर्नुपर्छ,’ उनले भने ।
प्रतिक्रिया 4