News Summary
Generated by OK AI. Editorially reviewed.- २०७९ सालको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा मेयर पदमा विजयी भएका बालेन शाह अहिले नेपालको युवा प्रधानमन्त्री बनेका छन्।
- २०७० सालमा काठमाडौंमा लामो कपाल भएका युवाहरूलाई लक्षित गरी प्रहरीको अभियान सुरु हुँदा बालेनले 'प्रहरी प्रतिकार' नामक र्याप सार्वजनिक गरे।
- २०७२ सालको भूकम्पपछि बालेन शाहले सिभिल इन्जिनियरको रूपमा ३५ भन्दा बढी जिल्लामा घर पुनर्निर्माणमा प्राविधिक सहयोग पुर्याए।
१३ चैत, काठमाडौं । ‘आई विल भोट नेक्स्ट टाइम एन्ड विल भोट फर माइसेल्फ, बिकज आई नो हाउ टु डेभलप द कन्ट्री ।’
४ मार्च २०१७ मा बालेन शाहले आफ्नो फेसबुक स्टाटसमा लेखेका शब्द हुन् यी । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नागरिकले मताधिकार प्रयोग गरेको उत्साह फेसबुक लगायतका सामाजिक सञ्जालमा पोस्ट गरिरहेका बेला बालेनले भने बिल्कुल भिन्न मत राखेका थिए ।
हुन त, परिचयका अन्य पक्षमा भन्दा पनि यम बुद्धले सुरु गरेको ‘रअ बार्ज’ बाट उनी र्यापरको रूपमा धेरै चिनिएका हुन्। उनका गीतहरूमा युवा नागरिकको आक्रोश समेटिएको भए पनि ती गीतहरू यस हदसम्म लोकप्रिय भएनन्, जसबाट उनले तय गर्ने राजनीतिक यात्राको सुइँको पाउन सकियोस् ।
तर, २०७९ सालको स्थानीय निर्वाचनमा काठमाडौं महानगरमा बालेनले मेयर पदमा दिएको उम्मेदवारीले ४ मार्च २०१७ को त्यो स्टाटस पुनः चर्चामा आउन थाल्यो । बालेनको राजनीतिक पात्रताबारे खोजी र कुराकानी सुरु हुन थाल्यो ।
त्यही पात्रको खोजीको परिणामस्वरूप काठमाडौं महानगरपालिकामा मेयर चुनिएका बालेन जेनजी विद्रोहपछि सम्पन्न चुनावमा ऐतिहासिक सफलता हासिल गर्दै नेपालको युवा प्रधानमन्त्री बन्न सफल भएका छन् ।
प्रधानमन्त्रीको शपथ खाइसकेका बालेनको राजनीति र र्यापको चारित्रिक विशेषताका बारेमा धेरै चर्चा भइसकेको छ। कमै मात्र सुनिएको सामाजिक अभियन्ताको चरित्र अध्ययन गर्नु पनि उत्तिकै आवश्यक देखिन्छ ।
समयको सञ्जोग
२०७० सालमा काठमाडौंमा अपराध र गुण्डागर्दी नियन्त्रण गर्ने उद्देश्यले लामो कपाल भएका युवाहरूलाई लक्षित गरी प्रहरीले एउटा विवादास्पद अभियान चलाएको थियो।
तत्कालीन महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाको नेतृत्वमा सुरु भएको यस अभियानले लामो कपाल पाल्ने, कानमा मुन्द्रा लगाउने र ट्याटु भएका युवाहरूलाई ‘गुण्डा’ वा ‘अपराधी’ को रूपमा परिभाषित गर्दै नियन्त्रणमा लिने रणनीति बनाएको थियो।
अभियानको पहिलो दिनमै काठमाडौंका विभिन्न स्थानबाट ७११ जना युवालाई नियन्त्रणमा लिइएको थियो। केही युवाको कपाल प्रहरीले अभिभावककै अगाडि काटिदिएको थियो। प्रहरीको यो कदमलाई ‘पूर्वाग्रही’ र ‘मानवअधिकारको उल्लङ्घन’ भन्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक विरोध भयो। कतिपयले यसलाई ‘डायल १०० फर हेयरकट’ भन्दै व्यङ्ग्यसमेत गरेका थिए। त्यतिबेला बालेनले प्रतिकात्मक विरोधको रूपमा ‘प्रहरी प्रतिकार’ नामको र्याप सार्वजनिक गरे ।
यसको ठिकविपरीत, सोही समयमा सत्तारूढ दल तत्कालीन नेकपा एमालेको भ्रातृ सङ्गठन युवा सङ्घले चर्को हर्न बजाउँदै सयौँ मोटरसाइकलको र्याली निकालेको थियो। सामान्य युवालाई हुलियाका आधारमा अपराधीझैँ व्यवहार गर्ने प्रहरीले राजनीतिक शक्ति भएकाहरूलाई भने उन्मुक्ति दिएको देखेपछि बालेन शाहले सामाजिक सञ्जालमा कडा असन्तुष्टि व्यक्त गरेका थिए।

यो समयसीमा अनेक दृष्टिले महत्त्वपूर्ण देखिन्छ। नेपालमा वैकल्पिक राजनीतिको सुरुआत गर्ने श्रेय पाएका उज्ज्वल थापाले २०६२/६३ पछि नै विवेकशील नेपाली अभियान चलाए पनि मूर्त राजनीतिक रूप भने २०७० सालको निर्वाचनमा ४ जना स्वतन्त्र उम्मेदवार उठाएपछि लिएको थियो। परिवर्तनको प्रतिनिधि पात्र बनेर उदाएको माओवादी पार्टी सत्ताको कुर्सीमा हुँदा पहिचान र अधिकार प्राप्तिको उद्देश्य बोकेर आन्दोलन, विरोध र बन्द नभएका दिनहरू विरलै हुन्थे। त्यस समयमा राजनीतिक दलहरूले आफ्नो शक्ति प्रदर्शन गर्ने माध्यम नै ‘नेपाल बन्द’ लाई बनाएका थिए। उज्ज्वल थापाको नेतृत्वमा सुरु भएको ‘नेपाल खुला छ’ अभियानले भने नेपाललाई तोडफोड र हिंसाको राजनीतिबाट अछुतो राख्नुपर्ने कुरा गरेको थियो। शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुरामा मात्र नभई राज्यका हरेक क्षेत्र र सुविधामा नागरिकको समान पहुँच पुर्याउनुपर्ने जस्ता नाराहरूले उनलाई लोकप्रिय बनाएको थियो ।
बालेनले पनि उज्ज्वल थापाका अभियानमा एउटा ‘सिर्जनात्मक विद्रोही’ को भूमिका निभाएका थिए ।
‘ज्याला पूरा लियौ, अब संविधान देऊ’
उज्ज्वल थापाको नेतृत्वमा सन् २०११ मा सुरु भएको ‘नेपाल युनाइट्स’ अभियान नेपालको संवैधानिक सङ्कटको समयमा नागरिक दबाबको एउटा महत्त्वपूर्ण अध्याय थियो ।
संविधानसभा (२०६४-२०६९) ले चार वर्षसम्म पनि संविधान जारी गर्न नसकेपछि युवाहरूमा ठूलो निराशा थियो। सांसदहरूले राज्यकोषबाट पूरै तलब र सुविधा लिइरहेका थिए तर मुख्य जिम्मेवारी पूरा गरेका थिएनन्। उज्ज्वल थापा सहितका युवा अभियन्ताहरूले यो अभियानलाई ‘परिवर्तनका लागि हामी एक’ भन्ने नारासँग जोडेर अगाडि बढाए। अभियानले माइतीघर मण्डला र बानेश्वरस्थित संविधानसभा भवननजिकै शान्तिपूर्ण धर्ना तथा ‘सिट-इन’ कार्यक्रमहरू आयोजना गर्थ्यो ।
यी कार्यक्रमहरूको सबैभन्दा चर्चित नारा थियो, ‘ज्याला पूरा लियौ, अब संविधान देऊ’। यो नाराले सांसदहरूलाई प्रत्यक्ष नैतिक प्रश्न गर्थ्यो र नागरिकहरूलाई जिम्मेवार बन्न प्रेरित गर्थ्यो। विद्यार्थी, पेसाकर्मी, अधिकारकर्मी र समाजका विभिन्न वर्गका व्यक्तिहरू यसमा सहभागी थिए ।
बालेन त्यतिबेला इन्जिनियरिङ पढ्दै थिए र नेपाली हिपहप परिदृश्यमा उदीयमान र्यापरको रूपमा चिनिन थालेका थिए। उनी ‘नेपाल युनाइट्स’ अभियानसँग निकट थिए। उनी केवल दर्शकको रूपमा मात्र होइन, अभियानका कार्यक्रमहरूमा सक्रिय सहभागी थिए। उज्ज्वल थापाको वैकल्पिक राजनीति, जवाफदेहिता र युवा नेतृत्वको दृष्टिकोणले बालेनलाई गहिरो प्रभाव पारेको थियो ।

अभियानमा बालेनले आफ्नो र्यापको माध्यमबाट राजनीतिक नेताहरूको अकर्मण्यता र भ्रष्टाचारको आलोचना गर्न थालेका थिए। यो अभियानपछि विवेकशील नेपाली दलको जगसमेत बनेको थियो ।
२०६९ साल जेठ १४ मा पहिलो संविधानसभा भङ्ग भएपछि अर्को नागरिक समूह ‘संविधानका लागि हामी’ ले गति लिएको थियो। यो अभियानले संवैधानिक रिक्तता चिर्न काठमाडौंका विभिन्न चोकहरू (वसन्तपुर, पाटन, माइतीघर आदि) मा फ्ल्यास मब, सडक नाटक र साङ्गीतिक कार्यक्रमहरू आयोजना गर्थ्यो। बालेन शाह यस अभियानका नियमित सहभागी थिए ।
उनी र्याप गाएरै विरोध जनाउँथे र युवाहरूलाई संविधान निर्माणको पक्षमा उभिन प्रेरित गर्थे। उनका र्यापहरूमा संविधानको मस्यौदा, भ्रष्टाचार, युवा पलायन र राजनीतिक कुर्सीको खेल जस्ता मुद्दाहरू प्रमुख थिए। अभियानको शैली ध्वंसात्मक नभई सिर्जनात्मक र शान्तिपूर्ण थियो। यी अभियानहरू पनि उज्ज्वल थापाबाटै प्रबर्द्धित थिए ।
२०७२ को भूकम्प : अर्को घुम्ती
‘नेपाल युनाइट्स’ र ‘संविधानका लागि हामी’ जस्ता नागरिक अभियानमा सक्रिय रहेर युवा चेतना जगाउने र संविधान निर्माणमा दबाब दिने काममा संलग्न बालेन शाहको जीवनमा २०७२ वैशाख १२ गतेको महाभूकम्पले नयाँ मोड ल्यायो ।
संवैधानिक सङ्कट र राजनीतिक अस्थिरताको बीचमा देशले भोगेको यो विनाशकारी विपत्तिले बालेनलाई सडकको र्यापर र अभियन्ताबाट व्यावहारिक इन्जिनियरिङ र नागरिक केन्द्रित राहत/पुनर्निर्माणको क्षेत्रमा लग्यो। उनी केवल उद्धारमा खटिएनन्, स्ट्रक्चरल इन्जिनियरको रूपमा दीर्घकालीन पुनर्निर्माणमा पनि सक्रिय भए ।
भूकम्पपछि बालेन शाहले आफ्नो सिभिल इन्जिनियरिङको ज्ञान र स्ट्रक्चरल इन्जिनियरिङको विशेषज्ञतालाई प्रयोग गरे। उनी उद्धार तथा राहत कार्यमा खटिए र पछि पुनर्निर्माणको प्राविधिक पक्षमा केन्द्रित भए । उनी कुनै ठूलो एनजीओ वा सरकारी टोलीको नेतृत्वमा थिएनन् । उनी व्यक्तिगत र स्वयंसेवी रूपमा प्रभावित क्षेत्रमा पुगे ।

उनले पछि आफैँ सामाजिक सञ्जाल र अन्तर्वार्तामा भनेका छन्, ‘२०७२ सालको भूकम्पपछि म सिभिल इन्जिनियरको रूपमा देशका विभिन्न भागमा काम गर्दै थिएँ। काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरियो। त्यसपछि गोरखा हुँदै देशका ३५ भन्दा बढी जिल्लामा सिभिल इन्जिनियरका रूपमा काम गर्ने अवसर पाएँ ।’
भूकम्पको ठूलो प्रभाव काभ्रे जिल्लामा परेको थियो। बालेनले यहाँ करिब २ हजार ५०० घरको पुनर्निर्माणमा प्रत्यक्ष प्राविधिक सहयोग दिए। उनले आफ्नो स्वयंसेवाअन्तर्गत क्षति मूल्याङ्कन गरे, भूकम्पप्रतिरोधी डिजाइन तयार पारे र घर धनीहरूलाई ‘ओनर ड्रिभन’ पुनर्निर्माण मोडेलमा सल्लाह र प्रशिक्षण दिए ।
यो काम केवल नक्सा कोर्ने वा साइट भिजिटमा सीमित थिएन। उनी स्थानीय समुदायसँग मिलेर काम गर्थे, जसले गर्दा पुनर्निर्माण प्रक्रिया स्थानीय आवश्यकताअनुसार हुन्थ्यो । काभ्रेमा उनको कामले धेरै परिवारलाई छिटो र सुरक्षित घर फर्किने आधार दियो ।
काभ्रेपछि बालेन भूकम्पको केन्द्रविन्दु बारपाक पुगे । त्यहाँ पनि क्षति मूल्याङ्कन र पुनर्निर्माणका काममा संलग्न भए। पछि ३५ भन्दा बढी जिल्ला घुमेर पूर्वाधारसम्बन्धी काम गरे ।
यसपछि बालेनले आफूलाई भूकम्पसम्बन्धित अन्य समाजसेवामा संलग्न राखे । उद्धार, घाइतेको सहयोग, अस्थायी आश्रय र आवश्यक सामग्री वितरणमा संलग्न भए ।
प्रतिक्रिया 4