News Summary
Generated by OK AI. Editorially reviewed.- एचजेनएबीएल २०२६ मा केभीसी हाउण्ड्सले लगातार छैटौं जित हात पार्दै सोलोलाई १०२-६९ ले पराजित गरेको छ।
- गोल्डेनगेटले कीर्तिपुरलाई ८७-६२ ले हराउँदै अजय कुशवाहलाई म्यान अफ दि म्याच घोषित गरेको छ।
- प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् र शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन्।
१३ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेनएबीएल) २०२६ मा केभीसी हाउण्ड्सले विजयी यात्रा जारी राख्दै लगातार छैटौं जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा शुक्रबार साँझ सम्पन्न खेलमा हाउण्ड्सले सोलो बास्केटबल क्लबलाई १०२-६९ को अन्तरले पराजित गरेको हो । सुरुवाती तीन खेलमा पराजित भएपछि हाउण्ड्सले उत्कृष्ट प्रदर्शन गर्दै लगातार खेल जित्दै आएको छ ।
पहिलो क्वाटर सोलोले २५-२२ ले आफ्नो पक्षमा पारेको थियो । तर हाउण्ड्स दोस्रो क्वाटरमा खेलमा फर्कियो र दोस्रो क्वाटर २८-१९ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ५०-४४ ले अग्रता बनायो ।
हाउण्ड्सले तेस्रो क्वाटर २९-१४ र चौथो क्वाटर २३-११ ले आफ्नो पक्षमा पार्दै फराकिलो जित हात पारेको हो ।
९ खेलपछि १५ अंक जोडेर हाउण्ड्स चौथो स्थानमा कायम छ ।
हाउण्ड्सका कप्तान विजय बुर्जाले सर्वाधिक २३ अंक स्कोर गरे । हाउण्ड्सका उजेन नोर्बु गुरुङ खेलको म्यान अफ दि म्याच घोषित भए ।

सोलोको भने यो सातौं हार हो । सोलो ९ खेलबाट ११ अंकसहित पाँचौ स्थानमा छ ।
बिहीबार राति सम्पन्न खेलमा गोल्डेनगेट बास्केटबल क्लबले कीर्तिपुरलाई ८७-६२ ले पराजित गरेको छ । गोल्डेनगेटका अजय कुशवाह खेलको म्यान अफ दि म्याच घोषित भए ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ ।
पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् ।
यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभीपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।
तस्वीरहरू : नितेश जंग ओली
प्रतिक्रिया 4