काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहाइको माग गर्दै प्रतिवाद गर्ने निर्णय गरेको हो ।
एमाले सचिव महेश बस्नेतका अनुसार प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने लगायतका निर्णय भएका छन् ।
एमालेले गरेका निर्णयहरु यस्ता छन्–
१. आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने।
२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने ।
३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने ।
४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग सम्वाद र सहकार्य गर्ने । नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने ।
ललितपुरको च्यासलस्थित सचिवालय बैठक जारी रहेका बेला एमालेका कार्यकर्ताहरू काठमाडौंको चाबहित क्षेत्रमा भेला भएर केहीबेर अघिसम्म विरोध प्रदर्शन गरेका थिए ।
जेनजी आन्दोलनका क्रममा भएका घटना जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएपछि प्रहरीले आज बिहान एमाले अध्यक्ष ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया 4