१४ चैत, काठमाडौं । अमेरिकाका सबै ५० राज्य र विश्वका अन्य १६ देशहरूमा शनिबार ‘नो किङ्स’ अभियानअन्तर्गत लाखौँ मानिस सडकमा उत्रिएका छन् ।
ट्रम्प प्रशासनको ‘अधिनायकवादी’ शैली र अध्यागमन नीतिविरुद्ध लक्षित यो प्रदर्शन अमेरिकी इतिहासकै सबैभन्दा ठूलो विरोध प्रदर्शन हुने आयोजकहरूको दाबी छ ।
देशभर ३ हजारभन्दा बढी स्थानमा कार्यक्रम तय गरिएका छन्, जसमा श्रमिक युनियन, ‘इन्डिभिजिबल’ र ‘५०५०१’ जस्ता भुइँतहका संगठन सहभागी छन् ।
प्रदर्शनको मुख्य केन्द्र मिन्नेसोटाको सेन्ट पल र मिनियापोलिसलाई बनाइएको छ । यो क्षेत्र हालै अध्यागमन एजेन्टको कडा धरपकड र संघीय एजेन्टद्वारा मारिएका नागरिकद्वय रेनी गुड र एलेक्स प्रेटीको न्यायका लागि ‘प्रतिरोधको प्रतीक’ बनेको छ ।
सेन्ट पलको र्यालीमा सिनेटर बर्नी स्यान्डर्स, चर्चित अभिनेत्री जेन फोन्डा र गायक ब्रुस स्प्रिङ्स्टिन जस्ता व्यक्तित्व सहभागी भएका छन् । बढ्दो महँगी, ग्यासको मूल्य वृद्धि र इरानसँगको ‘अवैध युद्ध’का कारण अमेरिकी जनतामा चरम आक्रोश पैदा भएको छ ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आयोजकले अहिंसात्मक प्रदर्शनमा जोड दिएका छन् । यद्यपि, प्रदर्शन स्थलमा अध्यागमन एजेन्टको उपस्थिति हुन सक्ने र ‘एन्टीफा’ भन्दै धरपकड हुनसक्ने त्रासका बीच मानव अधिकारवादी संस्थाले प्रदर्शनकारीलाई सचेत रहन आग्रह गरेका छन् ।
ट्रम्प प्रशासनले यसअघि नै यस्ता प्रदर्शनकारीमाथि कडा कानुनी कारबाही गर्ने चेतावनी दिइसकेको छ ।
प्रतिक्रिया 4