+

खाना खाएपछि तुरुन्तै शौचालय जानुपर्ने अवस्था किन आउँछ ?

२०८२ चैत  १६ गते १३:१० २०८२ चैत १६ गते १३:१०
Shares
खाना खाएपछि तुरुन्तै शौचालय जानुपर्ने अवस्था किन आउँछ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खाना खाएपछि तुरुन्तै दिसा लाग्नु सामान्य प्रक्रिया हो, जसलाई ग्यास्ट्रोकोलिक रिफ्लेक्स भनिन्छ र यसले पाचनलाई प्रभावकारी बनाउँछ।

धेरैजसो मानिसहरूलाई खाना खाइसकेपछि केही मिनेटभित्रै दिसा लाग्ने वा शौचालय धाउनुपर्ने हुने गर्छ । यस्तो बेला धेरैलाई लाग्छ, खाना पेटमा पुग्नेबित्तिकै सिधै बाहिर निस्किँदैछ ।

तर वास्तवमा यो खाना छिटो निस्कने कुरा होइन । यो शरीरको एक प्राकृतिक र सामान्य प्रक्रिया हो, जसलाई ‘ग्यास्ट्रोकोलिक रिफ्लेक्स’ भनिन्छ ।

यो रिफ्लेक्सले पेटमा नयाँ खाना आएको संकेत पाएपछि ठूलो आन्द्रालाई पुरानो फोहोर बाहिर निकाल्ने तयारी गर्न लगाउँछ । यसले पाचन प्रक्रियालाई अझ प्रभावकारी बनाउँछ ।

ग्यास्ट्रोकोलिक रिफ्लेक्सले कसरी काम गर्छ ?

जब खाना पेटमा पुग्छ, तब पेट र ठूलो आन्द्राबीच स्वचालित सञ्चार सुरु हुन्छ । नसाहरूले ठूलो आन्द्राको मांसपेशीलाई संकेत पठाउँछन्, जसले आन्द्राको गति बढाउँछ । यसकारण धेरैलाई खाना खाएको केही मिनेटमै दिसा लागेको महसुस हुन्छ ।

यो पूर्णरूपमा सामान्य शारीरिक प्रक्रिया हो तर हरेक व्यक्तिमा यसको तीव्रता भने फरक–फरक हुन्छ ।

यो प्रक्रियामा कुन–कुन अंगहरूले काम गर्छन् ?

पेटले खानालाई टुक्र्याएर पाचन सुरु गर्छ । ठूलो आन्द्राले खानाबाट पानी सोसेर ठोस फोहोर बनाउँछ । एन्टेरिक नर्भस सिस्टम अर्थात् गट ब्रेनले आन्द्राको सम्पूर्ण गतिविधिलाई नियन्त्रण गर्छ । यसबाहेक ग्यास्ट्रिन, सेरोटोनिन र कोलेसिस्टोकिनिन जस्ता हर्मोनहरूले पनि यो रिफ्लेक्सलाई सक्रिय बनाउन मद्दत गर्छन् ।

यो रिफ्लेक्स कहिले बढी सक्रिय हुन्छ ?

केही व्यक्तिमा यो रिफ्लेक्स सामान्यभन्दा धेरै तीव्र हुन्छ । खाना खाएपछि तुरुन्तै शौचालय जानुपर्ने बनाउँछ । यसका मुख्य कारणहरूमा तारेको, भुटेको वा धेरै मसालेदार खाना, क्याफिनयुक्त पेय (चिया, कफी) र मदिराको बढी सेवन, पेटमा संक्रमण तथा मानसिक तनाव वा चिन्ता प्रमुख छन् ।

कति बेला खाना खानेबित्तिकै दिसा लाग्नु असामान्य बन्छ ?

जब यो अति सक्रिय हुन्छ तब यो असामान्य मानिन्छ । यसले खाना खाएको ५–१० मिनेटमै तीव्र दिसा लाग्ने, पेट दुख्ने, ऐंठन हुने जस्ता समस्या निम्त्याउछ ।

धेरै तारेको, भुटेको, मसालेदार, चिल्लो वा उच्च चिल्लोयुक्त खानाले रिफ्लेक्सलाई अति उत्तेजित गर्छ । क्याफिन (चिया, कफी, एनर्जी ड्रिंक) र अल्कोहलले पनि आन्द्राको मांसपेशीहरूलाई छिटो संकुचित बनाउँछ ।

ठूलो मात्रामा खाना वा एकैचोटि धेरै खाने बानीले पनि यो रिफ्लेक्सलाई बढाउँछ ।

दोस्रो कारण हो, संक्रमण । पेट वा आन्द्रामा ब्याक्टेरिया, भाइरस वा परजीवीको संक्रमणले आन्द्रालाई संवेदनशील बनाउँछ । यसले रिफ्लेक्सलाई अति तीव्र बनाउँछ ।

यो बाहेक मानसिक कारण जस्तै, तनाव, चिन्ता, डिप्रेसन वा स्ट्रेसले गट–ब्रेन एक्सिस मार्फत आन्द्रालाई प्रभावित गर्छ । तनावमा हुने कोर्टिसोल हर्मोनले पनि यो रिफ्लेक्सलाई बढाउँछ ।

इरिटेबल बाउल सिन्ड्रोम, आन्द्रा अति संवेदनशील हुने समस्याले पनि खाना खाएपछि तुरुन्तै दिसा लाग्ने, पेट दुख्ने, ब्लोटिङ र ग्यास हुने गर्छ ।

आन्द्रा रोगले रिफ्लक्सलाई असन्तुलित बनाउँछ । कहिलेकाहीँ थाइराइडको समस्या (हाइपरथाइरोइडिज्म)ले पनि आन्द्राको गति बढाउँछ ।

यी अवस्थामा रिफ्लेक्सले खानालाई ‘सिधै बाहिर’ जस्तो महसुस गराउँछ तर वास्तवमा पुरानो मल बाहिर निस्किरहेको हुन्छ । यदि यस्तो बारम्बार र असहज तरिकाले हुन्छ भने यो रोगको संकेत हुन सक्छ । यो समस्या इरिटेबल बाउल सिन्ड्रोम भएकोहरूमा बढी देखिएको छ ।

यसका लक्षणहरू के–के हुन् ?

यो समस्या कहिलेकाहीँ पाचन प्रणालीसँग सम्बन्धित रोगको सुरुवाती संकेत पनि हुन सक्छ । जस्तै इरिटेबल बाउल सिन्ड्रोममा आन्द्रा बढी संवेदनशील हुन्छ, पेट दुख्ने, पटक–पटक दिसा लाग्ने वा कब्जियत हुने गर्छ ।

ग्यास्ट्रोपेरेसिसमा पेटले खाना ढिलो खाली गर्छ । आन्द्रा रोग जस्तै, दीर्घ रोग वा अल्सरेटिभ कोलाइटिसमा पनि यस्तै समस्या देखिन्छ । यी अवस्थामा आन्द्राले सामान्यभन्दा छिटो र तीव्र प्रतिक्रिया दिन्छ ।

कहिले चिकित्सकसँग सल्लाह लिनुपर्छ ?

यदि यो समस्या कहिलेकाहीँ मात्र हुन्छ भने चिन्ता लिनुपर्दैन, यो सामान्य हो । तर यदि यो बारम्बार दोहोरिन्छ र यससँगै बारम्बार पखाला, पेटमा ऐंठन वा दुखाइ, शरीरमा कमजोरी महसुस हुने, छिटो वजन घट्ने वा दिसामा रगत मिसिएको जस्ता लक्षण देखिन्छन् भने ढिलो नगरी चिकित्सकलाई जाँच गराउनु आवश्यक छ ।

उपाय पनि छन्

– धेरै तारेको, भुटेको र मसालेदार खानाबाट टाढा रहने ।

– चिया, कफी र मदिराको सेवन कम गर्ने ।

– फाइबरयुक्त सन्तुलित खाना खाने, जसमा फलफूल, सागसब्जी र अन्न प्रशस्त पाउने ।

– तनाव कम गर्न नियमित योग, ध्यान वा हल्का व्यायाम गर्ने ।

– खाना सानो–सानो मात्रामा र बिस्तारै चपाएर खानाले पनि यो समस्या कम हुने ।

-खाना खाएपछि शौचालय जानुपर्ने इच्छा धेरैजसो शरीरको सामान्य प्रतिक्रिया नै हो । तर यदि यो समस्या निरन्तर रहिरहन्छ र दैनिक जीवनमा असर पारिरहेको छ भने चिकित्सकसँग परामर्श लिनु उत्तम हुन्छ ।

खाना दिसा
डा. अजित खनाल
लेखक
डा. अजित खनाल
कन्सल्टेन्ट ग्यास्ट्रोइन्ट्रोलोजिस्ट

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : २५०६ अध्ययन : एमबीबीएस, इन्टरनल मेडिसिन एमडी, ग्यास्ट्रोइन्ट्रोलोजीमा डीएम काठमाडौंस्थित वीर अस्पताल तथा ग्रीन सिटी अस्पताल र ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

खाना खाएपछि तुरुन्तै शौचालय जानुपर्ने अवस्था किन आउँछ ?

खाना खाएपछि तुरुन्तै शौचालय जानुपर्ने अवस्था किन आउँछ ?

पोषण तथा आहारको क्षेत्रमा अनलाइन ठगीको बिगबिगी

पोषण तथा आहारको क्षेत्रमा अनलाइन ठगीको बिगबिगी

प्यानक्रियाज के हो, कसरी स्वस्थ्य राख्ने ?

प्यानक्रियाज के हो, कसरी स्वस्थ्य राख्ने ?

महिनावारीमा रगतको ढिक्का किन जान्छ ? के यो सामान्य हो ?

महिनावारीमा रगतको ढिक्का किन जान्छ ? के यो सामान्य हो ?

किन हुँदैन यौन उत्तेजना ? कम उमेरका पुरुषमा बढ्दैछ समस्या

किन हुँदैन यौन उत्तेजना ? कम उमेरका पुरुषमा बढ्दैछ समस्या

क्यान्सर उपचारमा प्रभावकारी विकल्प बन्दै रोबोटिक सर्जरी

क्यान्सर उपचारमा प्रभावकारी विकल्प बन्दै रोबोटिक सर्जरी