News Summary
Generated by OK AI. Editorially reviewed.- एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् र डिस्चार्ज गर्न सकिने बताएका छन्।
- ओलीको पित्तथैलीमा ढुंगा देखिए पनि तत्काल शल्यक्रिया आवश्यक नभएको चिकित्सकहरूले बताएका छन् र जोखिम मूल्यांकन गरेर निर्णय लिनुपर्ने बताएका छन्।
- पूर्वऊर्जा मन्त्री दीपक खड्का त्रिवि शिक्षण अस्पतालमा भर्ना छन् र उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले बताएका छन्।
१६ चैत, काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
शनिबार बिहानदेखि भर्ना भएका ओलीलाई अब ‘डिस्चार्ज’ गर्न सकिने उनीहरूको भनाई छ । ‘सबै रिपोर्ट नर्मल नै आएको छ । चिकित्सकीय छलफलले उहाँलाई डिस्चार्ज गर्न सकिने निचोड छ,’ उपचारमा संलग्न एक चिकित्सकले अनलाइनखबरसँग भने ।
ओलीले शनिबार बिहान मुटुमा समस्या भएको बताएपछि चिकित्सकले थप परीक्षण गरेका थिए । आइतबार ओलीको शरीरमा मुटुको धड्कनसम्बन्धी समस्या हेर्न लागि ‘होल्टर मोनिटर’ राखिएको थियो । उक्त उपकरण मुटुको धड्कनको अवस्था हेर्नका २४ देखि ४८ घन्टासम्म लागि गर्छ । रिपोर्टमा मुटुको चाल पनि ठीक रहेको पाइएको ती चिकित्सकले बताए ।
तर, पिसाबमा भने संक्रमण देखिएपनि कुनै लक्षण देखिएको छैन । त्यसका लागि चिकित्सकले कल्चरको नुमना लिएका छन् ।
‘पिसाब परीक्षणमा केही ब्याक्टेरिया देखिएको छ । तर खासै लक्षण देखाएको अवस्था छैन,‘ ती चिकित्सकले भने,‘थप पुष्टि गर्न ‘युरिन कल्चर’ परीक्षण गराइएको छ ।’
शनिबार गरिएको एक्स–रेमा ओलीको पित्तथैलीमा ढुंगा देखिएको थियो । तर, हालको अवस्थामा शल्यक्रिया गर्नुपर्ने तत्काल आवश्यकता भने नदेखिएको चिकित्सकहरूको भनाइ छ । ग्यास्ट्रो सर्जनहरूको टोलीले समेत ओलीको स्वास्थ्य अवस्थालाई हेर्दा अहिले नै अप्रेसन गर्नु जोखिमपूर्ण हुन सक्ने सुझाव दिएको ती चिकित्सकले बताए ।
दुई पटक मिर्गौला प्रत्यारोपण भइसकेका कारण, धेरै उमेर र मुटुको बिरामी भएका कारणले पनि चिकित्सकले अप्रेशन गर्न जोखिम नलिएको बुझिएको छ ।
‘उहाँको (ओली) पित्तथैलीमा ढुंगामा निकाल्न तत्काल अप्रेसन गर्नैपर्ने देखिँदैन,’ उपचारमा संलग्न ती चिकित्सकले भने, ‘ शरीरलाई असर नै गर्ने ढुंगा छैन । त्यसैले तत्काल शल्यक्रिया गर्नुभन्दा पछि समय मिलाएर गर्ने विकल्प उपयुक्त हुन सक्छ ।’

तर, ओलीले भने ढुंगा निकालेर समस्या समाधान गरिदिनुपर्ने इच्छा व्यक्त गरेका छन् ।
‘उहाँले भने (ओली) ढुंगा बढ्दै गएकाले अप्रेसन गरेर निकालिदिए हुन्छ भन्नुहुन्छ,’ ती चिकित्सक भन्छन्,‘तर अहिलेको अवस्थामा जोखिम मूल्यांकन गरेर निर्णय लिनुपर्छ ।’
अस्पताल स्रोतका अनुसार ओलीको समग्र स्वास्थ्य अवस्था सुधारोन्मुख देखिएकाले डिस्चार्ज गर्न सकिने सम्भावना छ ।
‘अहिलेको अवस्थालाई हेर्दा उहाँलाई (ओली) धेरै दिन अस्पताल राखिरहनु पर्ने देखिँदैन,’ अर्का एक चिकित्सकले भने, ‘एक–दुई दिन निगरानीमा राखेर डिस्चार्ज गर्न सकिने अवस्था देखिन्छ ।’
शनिबार बिहान पक्राउ परेपछि प्रहरीले नै स्वास्थ्य परीक्षण गर्न त्रिवि शिक्षण अस्पतालमा लगेको थियो । आकस्मिक कक्षमा प्रारम्भिक केही परीक्षण भयो । त्यसबेला ओलीले मुटुको धड्कनमा समस्या भएको बताए ।
त्यसपछि चिकित्सकले थप परीक्षण गर्न ‘एनेक्स–१’ को बेड नम्बर ५०१ भर्ना गरेको थियो ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलन हुँदा ओली प्रधानमन्त्री र रमेश लेखक गृहमन्त्रीको रूपमा थिए । यस घटनाको छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओली लेखकलाई दोषी रहेको औंल्याउँदै ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
प्रतिवेदनका आधारमा सरकारले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा म्याद दिएसँगै पूर्वगृहमन्त्री रमेश लेखकलाई नेपाल प्रहरीको महाराजगञ्जस्थित २ नम्बर गणमै राखेर अनुसन्धान गरिने भएको छ ।
लेखकसँगै पाँच दिन म्याद थप भएका पूर्वप्रधामन्त्री ओली भने स्वास्थ्य अवस्थाका कारण त्रिवि शिक्षण अस्पतालमै छन् ।
‘दीपक खड्कालाई पखाला’
पूर्वऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री तथा कांग्रेस नेता दीपक खड्कापनि त्रिवि शिक्षण अस्पतालमा भर्ना छन् । गत भदौ २४ गतेको जेनजी आन्दोलनको खड्का घरमा बरामद भएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आइतबार प्रकाउ गरी गरेको थियो । आइतबार नै उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको छ ।
तर राती एक्कासी उच्च रक्तचाप बढेसँगै झाडापखाला भएपछि प्रहरीले थापाथलीमा रहेको नर्भिक अस्पताल पुर्याएको थियो । बेड नभएको भन्दै अस्पतालले आइतबार राति ३ बजे त्रिवि शिक्षणमा रेफर गरेको थियो ।
अस्पताल स्रोतका अनुसार खड्कालाई १०२९ बेड नम्बरमा भर्ना गरिएको छ । खड्कालाई बान्ता र पखालासमेत देखिएपछि थप निगरानीका लागि भर्ना गरिएको हो ।
भर्ना भएपछि गरिएको प्रारम्भिक परीक्षणमा खड्काको रक्तचाप अहिले नियन्त्रणमा छ । पखाला र बान्ताको समस्या धेरै हदसम्म कम भइसकेको छ ।

‘अहिलेको अवस्थालाई हेर्दा स्वास्थ्य अवस्था सामान्य छ,’अस्पताल स्रोत भन्छ, ‘रिपोर्ट सामान्य छन् । लामो समय अस्पताल बसिरहनुपर्ने अवस्था देखिँदैन ।’
रगत परीक्षणमा भने थोरै संक्रमणको देखिएको अस्पताल स्रोतले बतायो ।
रगतमा संक्रमण हुँदा बढ्ने ‘ल्युकोसाइट काउन्ट’ सामान्यभन्दा बढी देखिएको छ । ‘नर्भिक अस्पतालमा गरिएको परीक्षणमा ल्युकोसाइट काउन्ट करिब १७ हजार थियो,’ एक चिकित्सकले भने, ‘टिचिङमा परीक्षण गर्दा करिब १३ हजार देखिएको छ ।’
चिकित्सकका अनुसार सामान्यतया ‘ल्युकोसाइट काउन्ट’ ११ हजारभन्दा माथि रगतमा संक्रमण हुन्छ । त्यसकारण अहिले खड्कालाई एन्टिबायोटिक औषधि दिइएको छ ।
प्रतिक्रिया 4