+

एसियन कप छनोट : नेपाल लाओससँग फेरि पराजित

२०८२ चैत  १७ गते १९:४७ २०८२ चैत १७ गते १९:४७
एसियन कप छनोट : नेपाल लाओससँग फेरि पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपाल लाओससँग १-० ले पराजित भएको छ ।
  • लाओसका कप्तान बोउनफाचान बोउनकोङले ४७औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
  • नेपालले समूह एफमा ६ खेलमा ३ अंक मात्र जोड्न सक्यो ।

१७ चैत, काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपाल फेरि लाओससँग पराजित भएको छ । समूह एफ अन्तर्गत लाओसको घरेलु मैदानमा भएको खेलमा नेपाल १-० ले पराजित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवातमै लाओसले गोल गरेको थियो । लाओसका कप्तान बोउनफाचान बोउनकोङले ४७औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

चोनी विनपासेर्थले दिएको पासमा बोउनकोङले नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई छलाउँदै गोल गरे । त्यसपछि नेपालले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल भएन ।

पहिलो हाफमा दुवैले गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन् । ३५औं मिनेटमा नेपालले गोल गर्ने अवसर गुमाएको थियो, पोस्टनजिकैबाट बल बाहिरिएको थियो । त्यसअघि २४औं मिनेटमा लाओसका खेलाडीको प्रहार बारमा लागेर फर्किँदा रिबाउन्डमा हेडर नेपालका गोलकिपर किरणले बचाएका थिए ।

यसअघि छनोट अन्तर्गत नै लाओसमा भएको पहिलो खेलमा नेपाल २-१ ले पराजित भएको थियो ।

नेपाली फुटबल इतिहासमा नेपाल लाओससँग लगातार दुई खेलमा पहिलो पटक पराजित भएको थियो । त्यसअघिका पाँच खेलमा नेपालले चार खेल जित्दा एक खेल बराबरीमा सकिएको थियो ।

एसियन कपमा छनोट हुने होडबाट यसअघि नै बाहिरिसकेको नेपालले समूह एफमा ६ खेलबाट जम्मा ३ अंक मात्र जोडेर यात्रा टुङ्ग्याएको छ ।

३ अंक पनि नेपालले खेल जितेर पाएको थिएन । मलेसियाले नियम विपरित खेलाडी खेलाएको भन्दै एएफसीको डिसिप्लिनरी कमिटीले कारवाही गर्दै नतिजा उल्टाएपछि नेपालले मलेसिया विरुद्धको खेलको ३ अंक पाएको हो ।

तस्बीर : लाओस फुटबल फेडेरेसन

एएफसी एसियन कप छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय