+

एचजेएनबीएलमा आर्मी र हाउण्ड्स विजयी

२०८२ चैत  १७ गते २२:३४ २०८२ चैत १७ गते २२:३४
एचजेएनबीएलमा आर्मी र हाउण्ड्स विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन जाभानेशनल बास्केटबल लिग २०२६ मा त्रिभुवन आर्मी क्लबले कीर्तिपुरलाई ९६-७९ ले पराजित गरेको छ ।
  • केभीसी हाउण्ड्सले रोएललाई १००-६९ को फराकिलो अन्तरले हराएको छ ।
  • लिग चरणपछि शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन् र विजेताले नगद ४ लाख पुरस्कार पाउनेछन् ।

१७ चैत, काठमाडौं । हिमालयन जाभानेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा मंगलबार त्रिभुवन आर्मी क्लब र केभीसी हाउण्ड्स विजयी भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको खेलमा आर्मीले कीर्तिपुरलाई ९६-७९ ले पराजित गरेको छ । आर्मीले सुरुवाती दुई क्वाटरमा बनाएको अग्रता नै जितको आधार बन्यो ।

आर्मीले पहिलो क्वाटर ३१-१६ र दोस्रो क्वाटर २७-१३ ले आफ्नो पक्षमा पार्दै हाफ टाइमसम्म ५८-२९ को अग्रता बनाएको थियो । तेस्रो क्वाटर २३-२३ को बराबरीमा सकियो भने चाैथो क्वाटर कीर्तिपुरले २७-१५ ले आफ्नो पक्षमा पारेपनि आर्मीलाई जितबाट रोक्न सकेन ।

यस खेलमा कीर्तिपुरका लक्की महर्जन एक्लैले सर्वाधिक ४३ अंक स्कोर गरे । उनी एकै खेलमा सर्वाधिक अंक स्कोर गर्ने खेलाडी समेत बने । लक्की महर्जन नै खेलको प्लेयर अफ दि म्याच घोषित भए ।
विजयी टिम आर्मीका सिमोन गुरुङले सर्वाधिक २० अंक स्कोर गरे ।

आर्मीको ११ खेलमा यो दशौं जित हो । आर्मीले ११ खेलबाट २१ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । ११ खेलपछि गोल्डेनगेट, आर्मी र टाइम्सको समान २१ अंक छ । तर अंक अन्तरमा गोल्डेनगेट शीर्ष स्थानमा छ ।

कीर्तिपुरको यो नवौं हार हो । कीर्तिपुर ११ खेलबाट १३ अंक जोडेर पाँचौं स्थानमा छ । यस्तै मंगलबार भएको पहिलो खेलमा केभिसी हाउण्ड्सले रोएललाई १००-६९ को फराकिलो अन्तरले हरायो ।

हाउण्ड्सले पहिलो क्वाटरमा २८-२३ ले पछि परेको स्थितीमा पुनरागमन गर्दै त्यसपछि तीन क्वाटर आफ्नो पक्षमा पारेको थियो । हाउण्ड्सले दोस्रो क्वाटर २०-८,तेस्रो क्वाटर २८-१९ र चाैथो क्वाटर २९-१३ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।

हाउण्ड्सको यो लगातार आठौं जित हो । सुरुवाती तीन खेल हारेपछि हाउण्ड्सले लगातार खेल जितेको छ । ११ खेलबाट १९ अंक जोडेको हाउण्ड्स चौथो स्थानमा छ । ११ खेलमा रोएलको यो दशौँ हार हो ।

हाउण्ड्सका तोमार हर्शवर्दन म्यान अफ दि म्याच घोषित भए । हाउण्ड्सका विजय बुर्जाले सर्वाधिक २० अंक स्कोर गरे ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ ।

पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् ।

यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।

एचजेएनबीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय