News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा अध्यक्ष जियानी इन्फान्टिनोले इरान विश्वकपमा सहभागी हुने र खेलहरू पूर्वनिर्धारित तालिकाअनुसार अमेरिकामै हुने बताएका छन्।
- इरानले जुन १५ र २१ मा लस एन्जलसमा न्युजिल्यान्ड र बेल्जियमसँग, र जुन २६ मा सिएटलमा इजिप्टसँग खेल्ने तालिका छ।
- इरान फुटबल महासंघका उपाध्यक्ष महदी मोहम्मदनाबीले फिफाका नियम सबैभन्दा महत्वपूर्ण रहेको र फिफाको निर्णय मान्ने बताएका छन्।
१८ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले इरान विश्वकपमा सहभागी हुने र उसका खेलहरू पूर्वनिर्धारित तालिकाअनुसार अमेरिकामै हुने बताएका छन् ।
अमेरिका–इजरायल र इरानबीच जारी तनावका कारण इरानको सहभागिताबारे अनिश्चितता देखिएको थियो । यसअघि इरान फुटबल महासंघले आफ्ना खेलहरू अमेरिकाबाट सारेर मेक्सिकोमा गराउन फिफासँग छलफल गरिरहेको जनाएको थियो ।
तर इन्फान्टिनोले एएफपीसँग भने, ‘इरान विश्वकपमा हुन्छ । उनीहरू निकै बलियो टोली हुन् र म निकै खुसी छु । खेलहरू ड्र अनुसार तोकिएकै स्थानमा हुनेछन् ।’
इरानले जुन १५ र २१ मा लस एन्जलसमा क्रमशः न्युजिल्यान्ड र बेल्जियमसँग खेल्नेछ भने जुन २६ मा सिएटलमा इजिप्टसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
जुन ११ देखि सुरु हुने विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन् ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबामले आवश्यक परे इरानका खेलहरू आयोजना गर्न तयार रहेको बताएकी थिइन् । तर इन्फान्टिनोले इरान पूर्वनिर्धारित तालिकाअनुसार नै खेल्नेमा जोड दिए ।
उनले हालै टर्कीमा कोस्टारिकाविरुद्ध इरानको ५–० को मैत्रीपूर्ण जित पनि अवलोकन गरेका थिए । ‘मैले टोली, खेलाडी र प्रशिक्षकसँग कुरा गरेको छु, सबै ठीक छ’ उनले भने ।
इरान फुटबल महासंघका उपाध्यक्ष महदी मोहम्मदनाबीले पनि फिफाको निर्णय मान्ने बताएका छन् । ‘हामीका लागि फिफाका नियम सबैभन्दा महत्वपूर्ण छन् । फिफाले जे निर्णय गर्छ, हामी त्यही मान्छौं’ उनले भने ।
उनले इन्फान्टिनोले टोलीलाई प्रत्यक्ष भेटेर सहयोग गरेको र त्यसले खेलाडीलाई थप ऊर्जा दिएको पनि बताए ।
प्रतिक्रिया 4